काठमाडाैँ- पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को केन्द्रीय तथा सबैभन्दा प्रतिष्ठित आंगिक क्याम्पस हो। वि.सं. २०२९ (सन् १९७२) मा स्थापना भएको यो क्याम्पस ललितपुर ,पुल्चोकमा अवस्थित छ।
नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको केन्द्रका रूपमा परिचित यस क्याम्पसले देशका लागि दक्ष तथा सक्षम इन्जिनियर उत्पादन गर्दै आएको छ। हाल पुल्चोक क्याम्पसमा स्नातक, स्नातकोत्तर (एम.एस्सी.) तथा विद्यावारिधि (पीएच.डी.) तहका विभिन्न इन्जिनियरिङ कार्यक्रम सञ्चालन भइरहेका छन्। जस अन्र्तगत बीई सिभिल इन्जिनियरिङ -१४४ सिट,बीई कम्प्युटर इन्जिनियरिङ-९६ सिट,बीई मेकानिकल इन्जिनियरिङ-४८ सिट,बीई आर्किटेक्चर-४८ सिट,बीई इलेक्ट्रोनिक्स, सञ्चार तथा सूचना इन्जिनियरिङ-४८ सिट,बीई इलेक्ट्रिकल इन्जिनियरिङ-४८ सिट र बीई कृषि इन्जिनियरिङ अन्र्तगत-४८ सिट निर्धारण गरिएको छ।
क्याम्पसमा आधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र,पुस्तकालय, कम्प्युटर ल्याब, छात्रावास तथा शैक्षिक र प्रशासनिक प्रयोजनका लागि छुट्टाछुट्टै भवनको व्यवस्था रहेको छ।दक्ष प्राध्यापक, अनुभवी कर्मचारी तथा अनुसन्धानमुखी शैक्षिक वातावरणका कारण पुल्चोक क्याम्पस नेपालमा इन्जिनियरिङ शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएको छ। पुल्चोक क्याम्पसले स्नातक तहमा मात्र सीमित नभई विभिन्न इन्जिनियरिङ विषयमा एम.एस्सी. तथा पीएच.डी. कार्यक्रम सञ्चालन गर्दै आएको छ।
इन्जिनियरिङ अध्ययन संस्थानले प्रत्येक वर्ष स्नातक र स्नातकोत्तर तहका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने गर्दछ। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूले मात्र पुल्चोक क्याम्पसमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने भएकाले यहाँ भर्ना हुन अत्यन्त प्रतिस्पर्धा हुने गर्दछ। पुल्चोक क्याम्पसका विद्यार्थीहरू शैक्षिक उत्कृष्टता, अनुसन्धान क्षमता तथा व्यावसायिक दक्षताका लागि परिचित छन्। यहाँबाट अध्ययन पूरा गरेका इन्जिनियरहरूले नेपाल तथा विदेशका सरकारी, निजी, औद्योगिक तथा अनुसन्धान संस्थाहरूमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्।
पुल्चोक क्याम्पसमा स्नातक तहका सातवटा इन्जिनियरिङ कार्यक्रममार्फत कुल ४८० विद्यार्थी भर्ना गरिन्छ। तीमध्ये २४० सिट पूर्ण छात्रवृत्तिका लागि छुट्याइएको छ भने बाँकी २४० सिट पूर्ण शुल्क (फुल-फी) तर्फका विद्यार्थीका लागि निर्धारण गरिएको छ। छात्रवृत्ति प्रवेश परीक्षाको योग्यताक्रम (मेरिट) का आधारमा प्रदान गरिदै आएको छ।