काठमाडाैँ- कान्तिपुर इन्जिनियरिङ कलेज सन् १९९८ मा स्थापना भएको नेपालकै त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ अध्ययन संस्थानवाट सम्बन्धन प्राप्त सबैभन्दा पुराना निजी इन्जिनियरिङ कलेजमध्ये एक हो।
काठमाडौँको शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा अवस्थित यस कलेजले गुणस्तरीय इन्जिनियरिङ शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै दक्ष, प्रतिस्पर्धी र सामाजिक उत्तरदायी इन्जिनियर उत्पादन गर्दै आएको छ। कलेजले युरोप र एसियाका ५० भन्दा बढी विश्वविद्यालय तथा ५० भन्दा बढी राष्ट्रिय शैक्षिक संस्था, उद्योग र संघ–संस्थासँग सहकार्य गर्दै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धान, तालिम तथा व्यावसायिक अवसर उपलब्ध गराउँदै आएको छ। अनुभवी पूर्णकालीन प्राध्यापक, आधुनिक प्रयोगशाला, सुरक्षित तथा सुविधासम्पन्न पूर्वाधार, अत्याधुनिक शिक्षण विधि र अनुसन्धानमुखी वातावरणका कारण केईसी नेपालका उत्कृष्ट इन्जिनियरिङ शिक्षालयमध्ये एकका रूपमा परिचित छ।
देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूको सहभागिताले कलेजलाई ‘मिनी नेपाल’ को रूपमा समेत चिनाएको छ। विद्यार्थी–केन्द्रित शिक्षण प्रणाली, उद्योगसँगको सहकार्य, अनुसन्धान तथा नवप्रवर्तनमा जोड र गुणस्तर सुनिश्चितताप्रतिको प्रतिबद्धताले केईसीले गुणस्तर प्रत्यायन प्राप्त गर्ने लक्ष्यसमेत अघि बढाएको छ। कलेजका पूर्वविद्यार्थीहरू नेपाल तथा विदेशका प्रतिष्ठित संस्था र उद्योगमा सफलतापूर्वक कार्यरत छन्। हाल कान्तिपुर इन्जिनियरिङ कलेजमा बीई सिभिल इन्जिनियरिङ तर्फ - ९६ सिट,बीई कम्प्युटर इन्जिनियरिङ - ९६ सिट,बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन तथा सूचना इन्जिनियरिङ - ९६ सिट रहेको छ।
यसका अतिरिक्त निकट भविष्यमा बीई इलेक्ट्रिकल इन्जिनियरिङ तथा ब्याचलर इन आर्किटेक्चर कार्यक्रम सञ्चालन गर्ने योजना कलेजले अघि बढाएको छ।
स्थापनाकालदेखि नै कान्तिपुर इन्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय सहकार्यलाई विशेष महत्व दिएको छ। बेलारुसको पोलोत्स्क स्टेट युनिभर्सिटीसँगको सहकार्यबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्ध अहिले युरोप र एसियाका ५० भन्दा बढी विश्वविद्यालय तथा उद्योगसम्म विस्तार भएको छ।
कलेजले विभिन्न अन्तर्राष्ट्रिय परियोजनामार्फत सयौं विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई छात्रवृत्ति, तालिम तथा उच्च अध्ययनका अवसर प्रदान गरेको छ। कलेजले ५० भन्दा बढी उद्योग, कम्पनी तथा विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थीलाई औद्योगिक अनुभव, इन्टर्नसिप तथा रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ। कलेजका प्राचार्य डा. केशर प्रसाईं गुणस्तरीय शिक्षा, अनुसन्धान, उद्योगसँगको सहकार्य र आधुनिक पूर्वाधारमार्फत दक्ष तथा विश्वस्तरीय इन्जिनियर उत्पादन गर्ने बताउँछन्।



