ललितपुर- युनाइटेड एकेडेमी समूहअन्तर्गतको युनाइटेड कलेजले तेस्रो वार्षिक व्यवसायिक विचार प्रस्तुति प्रतियोगिता ‘युनाइटेड इग्नाइट ३.०’ आयोजना गरेको छ।युनाइटेड सेन्टर फर इन्टरप्रेन्योरसिप, इनोभेसन एन्ड इन्क्युबेसनको आयोजनामा बिहीबार युनाइटेड एकेडेमीमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगितामा कलेजका बीबीएम, बीसीए र बीबीएस कार्यक्रममा अध्ययनरत २८ विद्यार्थी सहभागी भएका थिए।
छनोट प्रक्रियाबाट बीबीएमका तीन, बीसीएका चार र बीबीएसका दुई गरी नौ टोली अन्तिम चरणमा पुगेका थिए।अन्तिम चरणमा सहभागी टोलीहरूले निर्णायक, प्राध्यापक तथा अतिथिसामु आफ्ना मौलिक व्यवसायिक अवधारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा क्यासाडिन (बीसीए), ई-टेक (बीसीए), कपा-कृति (बीबीएम), रेज-एफसी (बीबीएम), राम्फोक (बीसीए), रिडनोभा (बीबीएम), रितुको (बीबीएस), स्मार्टनेस नेपाल होम (बीसीए) र छानो (बीबीएस) टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा युनाइटेड एकेडेमीका पूर्वविद्यार्थी तथा एक्ट ३६० का प्रमुख कार्यकारी अधिकृत चेतेजे तामाङ, दुर्सिक्षा एजुकेसन नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डे र आइडिया स्टुडियो नेपालका एकेडेमिक एन्ड टेक्नोलोजी इनोभेसन निर्देशक अनुपम भट्टराई रहेका थिए। कार्यक्रममा युनाइटेड एकेडेमी समूहका क्याम्पस प्रमुख डा. लाल रापचा, संस्थापक अध्यक्ष ड्रीपा चाम्लिङ,संस्थापक निर्देशक नरहाङ राई तथा संस्थापक शैक्षिक निर्देशक डा. कविराज बान्तावा लगायतको उपस्थिति थियो। प्रतियोगिताका लागि विद्यार्थी टोलीलाई सीमा शाही, रबिना डुवाल, गणेश जोशी र डा. विनोद लिम्बेनलगायतका शिक्षक तथा मेन्टरले तयारीमा सहजीकरण गरेका थिए।
विद्यार्थीलाई व्यवसायिक विचार विकास तथा त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले ‘युनाइटेड इग्नाइट’ आयोजना हुँदै आएको कलेजले जनाएको छ। यसअघिका संस्करणबाट उत्कृष्ट भएका विद्यार्थीहरूले आइडिया स्टुडियो नेपालको ‘कलेज आइडिया हन्ट’ लगायत राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागिता जनाएका छन्। युनाइटेड कलेजले २०२६/२७ शैक्षिक सत्रका लागि बीबीएम,बीसीए, बीबीएस, बीए र एमबीएस कार्यक्रममा भर्ना खुला गरेको जनाएको छ।
कुमारिपाटी, ललितपुरमा रहेको युनाइटेड कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्था हो। कलेजले व्यवसाय अध्ययन, कम्प्युटर एप्लिकेसन तथा व्यवस्थापनतर्फ स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ।


