काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ। काठमाडौँ महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिम दिन लागेकाे हाे।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार यो सहकार्यबाट पाँच करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ। उनका अनुसार साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो। यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ।
साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ।
प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइने झाले बताए । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला जस्ता प्रणाली सञ्चालन हुने प्लेटर्फम, यस्ता प्लेटर्फमहरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन्।
महानगरले सहकार्य गरेको इसी काउन्सिल साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक हृयाकर क्रेडेन्सियलको आविष्कार रहेको जनाएको छ।
महानगरले नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेकाले यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने जनाएकाे छ।
झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ। स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ। तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन।
महानगरले सञ्चालन गर्ने सीपमुलक कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् । ‘हामीले विभिन्न ३४ विधामा तालिम दिंदैछौं। आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौं,’ उनले भनिन्।
१५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्य राखेको महानगरले साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार संख्या पुग्ने देखिन्छ।
महानगरले दिने अन्य तालिम सञ्चालन गर्न ४० वटा तालिम कक्ष -प्रयोगशाला तयार भइरहेका छन् ।
तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार इलेक्टि्रसियन, कम्प्युटर, व्युटिसियन, कपाल काट्ने सैलुन (हेयर कट), फेसन डिजाइनिङ्, टेलरिङ्, कुलिनरी आर्ट, कम्प्युटर हार्डवेयर, सीसीटिभी जडान, भर्टिकल फार्मिङ् र गार्डेनिङ् लगायत तालिमका लागि कक्ष तयार भइरहेका हुन् ।यसपछि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङका तालिम सुरु हुँदैछन्।