काठमाडाैँ - बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको गणित शिक्षकका रूपमा कार्यरत २७ वर्षीया जानकी खड्काले विवाहको दबाब झेल्न नसकी आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख गरेकी थिइन्।
विवाह नगरे मार्ने धम्की
जानकीले जिल्ला शिक्षा समन्वय एकाइ डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी थिइन्। सुसाइड नोटअनुसार, रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकीसँग साथी बनेका थिए र त्यसपछि लगातार मानसिक तनाव दिन थालेका थिए। विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएका थिए। यस धम्कीले जानकी थप त्रसित बनेको पत्रमा उल्लेख छ।
जानकीले पत्रमा लेखेकी छन्, ‘न मैले उसलाई भेटेको छु न देखेको छु। सबै उसका नाटक हुन् मलाई फसाउने। बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ।’

हाल उनकाे रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले प्रतिवादीको बयान लिन थालेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार आजदेखि प्रतिवादीको बयान लिने प्रक्रिया अगाडि बढेको हो।
पढाइमा अब्बल जानकी गाउँका लागि एक उदाहरण बनेकी थिइन्। उनी आफ्नो भाइ र बहिनीहरूको मात्र नभई बिरामी आमाबुबाको पनि बलियो सहारा थिइन्। छोरीको अकल्पनीय मृत्युले खड्का परिवार स्तब्ध र असहाय बनेको छ।
जानकीका बुवा चक्र खड्काले भने, ‘मैले मजदुरी गरेर पढाएकी छोरी हो, उसकै सहारामा हामी बाँचेका थियौँ। उसलाई नै यति धेरै पीडा छ भन्ने थाहा पाएनौँ। उसले मलाई आफ्नो पीडा पनि भनिनँ। हामीलाई केही भनेको भए पनि केही उपाय हुन्थ्यो कि।’
छोरी गुमाएको पीडाले विक्षिप्त बनेका खड्का घटनापछि राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन्। ‘अहिले त हामी केही बोल्न सक्ने अवस्थामा छैनौँ,’ उनले भने, ‘उसले आफ्नो पीडा भनेकी भए हुन्थ्यो। म आफैँ प्रेसरको बिरामी छु। बोल्न पनि गाह्रो भएको छ। हाम्रो सर्वस्व नै गुमेको छ । घरको आशा, भरोसा सबै ढलेको छ,’ यति भनेका खड्का त्यसपछि भक्कानिएर बोल्नै सकेनन्।
जानकीले मृत्युअघि लेखेको पत्रमा जिल्ला शिक्षा समन्वय एकाइ डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी छन्। रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग मित्रता गाँसेर लगातार मानसिक तनाव दिन थालेको जानकीको सो पत्रमा उल्लेख छ।

विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएको कुराले जानकी थप त्रसित बनेको पत्रबाट खुल्न आएको छ।यो घटनाले जानकीको परिवार, साथीभाइ र समग्र शैक्षिक क्षेत्रलाई नै स्तब्ध बनाएको छ। उनका साथीहरूले एक असल र जेहेन्दार साथी गुमाएकोमा दुःख व्यक्त गर्दै यस्तो कठोर निर्णय लिन बाध्य पार्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।
जानकीले यसअघि धनगढीको डिस्कोभरी बोर्डिङ स्कुलमा पढाएकी थिइन्। स्कुलमा उनी सबैका लागि प्रेरणाको स्रोत थिइन्। दुई वर्षअघि शिक्षक सेवा आयोगमा नाम निकालेर उनी स्थायी शिक्षक बनेकी थिइन्। घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो। घरको ऋण तिरेर भाइलाई हलुका गरेरमात्र विवाह गर्ने उनको योजना थियो। अधिकृत बन्ने उनको सपना थियो।
जानकी र उनका भाइ प्रदीपले धनगढीमा नयाँ घर पनि बनाएका थिए। दसैँ, तिहार उनीहरूले नयाँ घरमै मनाए। घटनाको अघिल्लो दिन ९ गते जानकी तिहार मनाएर बुवासँगै धनगढीबाट डोटी फर्केकी थिइन्। त्यहाँबाट बाजुरा आफ्नो कार्यक्षेत्रमा फर्कने योजनामा रहेकी उनले १९ गते डोटीमै बस्ने निर्णय गरिन्। सोही दिन दिउँसो २ बजेदेखि उनी सम्पर्कविहीन थिइन्।
प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार, प्रहरीले घटनाको खबर पाएलगत्तै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। प्रहरीले अनौपचारिक रूपमा एक प्रहरीकर्मी मार्फत जानकी हराएको खबर पाएको थियो। पछि परिवारको औपचारिक जाहेरीपछि खोजतलास सुरु गरिएको थियो। शव भेटिएपछि घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण संकलन गरेको छ। ‘घटनास्थलमा शव झुन्डिएको अवस्थामा भेटिएको थियो,’ जोशीले भने।
परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले डोटीको जिल्ला शिक्षा समन्वय इकाइमा शाखा प्रमुखका कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरेको छ। रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनापछि ‘तपाईं विवादमा हुनुहुन्छ, प्रहरीको सम्पर्कमा आउनुहोस् भनेपछि रावल प्रहरीको सम्पर्कमा आएका थिए।
हामीले चौबिसै घण्टा अनुसन्धान गरिरहेका छौँ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ र आजदेखि प्रतिवादीको बयान लिने काम सुरु भएको छ,’ प्रहरी निरीक्षक जोशीले भने। उनले अनुसन्धान पूरा हुन केही समय लाग्ने र सबै कानुनी प्रक्रिया पूरा गरेर सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे। प्रहरीले जानकी र गणेशको मोबाइल नियन्त्रणमा लिएर थप प्रमाण संकलन गर्ने बताएको छ।