काठमाडाैँ - बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालबालिकालाई राजनीतिक प्रदर्शन तथा निर्वाचनमा प्रयोग नगर्न माग गरेको छ।
(सिजप) विज्ञप्ति जारी गर्दै तिनै तहका सरकार, मन्त्रालयहरू, निर्वाचन आयोग, सुरक्षा निकाय तथा राजनीतिक दलहरूसँग १६ बुँदे माग राखेको छ। विज्ञप्तिमा जेनजी आन्दोलन, विपद् तथा आगामी निर्वाचनका क्रममा बालबालिकाको प्रयोग, हिंसा र यसको प्रभाव जस्ता विषय समेटिएका छन्।
अभियानले विभिन्न राजनीतिक गतिविधि, र्याली, विजय जुलुस, सभा-सम्मेलन तथा मेला-महोत्सवमा बालबालिका पीडित बन्ने गरेको बताएको छ। विशेषगरी भाद्र २३-२४ गतेको जेन्जी आन्दोलनमा विद्यालय पोशाकमै सहभागी बालबालिकाको मृत्यु, घाइते हुनु तथा सरकारी-निजी सम्पत्ति तोडफोडमा समेत बाल घटनाले बालअधिकार गम्भीर उल्लङ्घन भएको अभियानको ठहर छ।
नेपालले बाल अधिकार महासन्धि-१९८९ को पक्ष राष्ट्र भएको ३० वर्ष बितिसकेको सन्दर्भमा संविधानको धारा ३९ (६, ७, ८, ९) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६ मा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने प्रावधान कार्यान्वयन गर्न अभियानले जोड दिएको छ।
अभियानले राज्यका सबै निकायलाई बालबालिकालाई राष्ट्रिय गौरवका रूपमा स्वीकार गरी संरक्षण र प्रवर्धनमा केन्द्रित हुन आग्रह गरेको छ।

