काठमाडाैँ - त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयले कीर्तिपुर परिसरमा क्याफ्टेरिया बनाउन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्। विदेशी पाहुना आउँदा खाने-बस्ने ठाउँ नभएपछि त्रिविले क्याफ्टेरिया बनाउन लागेको हो। तर क्याफ्टेरिया बनाउन सुरु भएसँगै विवाद पनि चुलिएको छ।
यतिसम्म कि, मंगलबार बिहान क्याफ्टेरिया निर्माणस्थलमा ठेकेदार पक्ष र विद्यार्थीबीच झडपको अवस्थासमेत बन्यो ।त्रिविको स्वतन्त्र विद्यार्थी युनियनले क्याफ्टेरिया बनाउन लागिएको स्थानमा सोमबार कालो ब्यानर टाँगेको थियो । तर मंगलबार ठेकेदार पक्षले ब्यानर उठाएर काम सुरु गरेपछि तनावको स्थिति बनेको हो।
ठेकेदार पक्षबाट अखिल क्रान्तिकारी निकटका विद्यार्थी नेताहरू शिवराज भट्ट, प्रदीप भट्ट, लोकेन्द्र यरी र त्रिविका कर्मचारी शालिकराम सापकोटामाथि पनि हातपात भएको विद्यार्थीहरूको दाबी छ। सुरुमा अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष शिवराज भट्टमाथि आक्रमण भएको र त्यसपछि प्रदीप र लोकेन्द्रमाथि हातपात भएको हो। ‘ब्यानर किन माथि उठाएको भनेर सोधखोज गर्दा ठेकेदार पक्षबाट कुटपिट भयो,’ अखिल क्रान्तिकारी त्रिविका पूर्वइन्चार्ज लोकेन्द्र यरीले भने। उनका अनुसार ठेकेदार पक्षमा १४ जनाको समूह थियो।
‘विद्यार्थीको संख्या थपिन लागेपछि ठेकेदारको टोली त्यहाँबाट गयो,’ यरीले भने, ‘स्ववियुले कालो ब्यानर राखेको हो । त्यो ब्यानर किन माथि सारेको भनेर सोध्दा हामीमाथि आक्रमण भयो।’ झडपको स्थिति बनेपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थिय। कालो ब्यानर आफूहरूले राखेको स्ववियुका पदाधिकारीले स्वीकार गरेका छन्। तर कुटाइ खानेमा भने अखिल क्रान्तिकारीका विद्यार्थी परेका छन्। कीर्तिपुर प्रहरीका अनुसार केहीबेर विवाद भएको थियो । प्रहरीको टोली खटिएपछि स्थिति सामान्य भएको हो।

त्रिविको केन्द्रीय कार्यालयले सुविधासम्पन्न क्याफ्टेरिया बनाउन लागेको हो। उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार कार्यालयको बीचमा पर्ने गरी क्याफ्टेरिया बनाउने प्रक्रिया साउनदेखि सुरु भएको हो। क्याफ्टेरिया बनाउन लागेपछि सो क्षेत्रमा वन कार्यालयबाट अनुमति लिएर रुख कटान गरियो। तर विद्यार्थीहरूले रुख नकाट्न र सो क्षेत्रमा क्याफ्टेरिया नबनाउन त्रिवि प्रशासनलाई दबाब दियो। तर आफूहरूको विरोधका बीच क्याफ्टेरिया बनाउन लागेपछि निर्माणस्थलमा कालो ब्यानर टाँगिएको स्वयिुका उपाध्यक्ष सनम ओलीले बताए।
‘साउनदेखि क्यान्टिन बनाउने प्रक्रिया अगाडि बढाइयो। विश्वविद्यालयमा अन्य संरचना आवश्यक छन्। २०७२ मा भूकम्पले भत्किएको भवन बनेको छैन। विद्यार्थीलाई चाहिने कक्षाकोठा, ल्याब, भौतिक पूर्वाधार छैन। अहिले क्यान्टिन आवश्यक छैन,’ स्ववियुका उपाध्यक्ष सनम ओलीले भने, ‘बनाउने हो भने जहाँ रुख काट्नु पर्दैन त्यो ठाउँमा बनाउनुहोस् भनेको हो।’
तर, दशैं-तिहारमा कोही नभएको समयमा रुख काटेर क्याफ्टेरिया बनाउन थालिएकोमा आपत्ति जनाएको उनले बताए। ‘हामी कोही पनि काठमाडौँमा थिएनौं। त्यो बेलामा उहाँहरूले रुख कटान गर्नुभएछ,’ उनले भने। वार्ताका लागि आग्रह गरे पनि ठेकेदारले निर्माण प्रक्रिया अगाडि बढाएको विद्यार्थीहरूको गुनासो। ‘हाम्रो विषय ठेकेदारसँग थिएन। विश्वविद्यालय प्रशासनसँग हो। तर हिजो राति ठेकेदारले फेसकुबकमा स्ट्याटस लेख्नुभयो,’ उपाध्यक्ष ओलीले भने।

सोमबार राति ठेकेदार समन महर्जनले विद्यार्थीले काम गर्न नदिएको र उपकुलपति कार्यालयमा आउन स्थानीयलाई गुहारेका थिए। ‘म कीर्तिपुरवासी, आज मलाई त्रिविका घुसखोर विद्यार्थीहरूले काम गर्न दिएनन्। मलाई साथ दिन भोलि कोको कीर्तिपुरवासी उपकुलपति कार्यालय आउनुहुन्छ ?,’ ठेकेदार महर्जनले लेखेका थिए। उनको यो स्टाटसले विद्यार्थीहरू झन् आक्रोशित भएका हुन्। ‘हाम्रो लडाईँ प्रशासनसँग हो तर ठेकेदारको त्यस्तो स्ट्याटस आयो,’ उनले भने।
त्रिविको स्ववियुले व्यापारिक कम्प्लेक्स जस्तो बनाउन नुहने र मास्टर प्लान बनाएर भवन बनाउन माग गरेको छ। ‘मास्टर प्लान छैन। बिजनेस कम्प्लेक्स जस्तो बन्न लाग्यो। संस्कृति झल्काउने भवन बनाउनुपर्छ,’ स्ववियु अध्यक्ष दीपक जोशीले भने।
त्रिविका प्रशासनका अनुसार विद्यार्थीको लागि घण्टीघर अगाडि क्यान्टिन बनेको छ। केन्द्रीय कार्यालयमा आउने पाहुना र कर्मचारीको सहजताको लागि क्याफ्टेरिया बनाउन लागिएको हो। ‘राम्रो सोचेर नै क्याफ्टेरिया बनाउन लागेको हो तर विद्यार्थीबाट अवरोध भइरहेको छ,’ त्रिवि प्रशासनका एक अधिकारीले भने। ८ करोड बजेटमा क्याफ्टेरिया बनाउन लागिएको हो।