काठमाडाैँ- नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अष्ट्रेलिया हो। अष्ट्रेलियाले प्रदान गर्ने विश्वस्तरीय गुणस्तरीय शिक्षा, सहज जिवन शैली, रोजगारीको सहज उपलव्धता, आप्रवासी मैत्री नियम र नेपाली समुदायसँगको सहकार्यका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको जानकारहरू बताउँछन्।
नेपाली विद्यार्थीलाई सुरक्षित करिअरको हिसाबले अष्ट्रेलिया उपयुक्त शैक्षिक गन्तव्य भएको भेद इन्टरनेशनल एजुकेशनका सिइओ आशिक कार्की बताउँछन्। उनका अनुसार ‘नेपाली विद्यार्थी उज्जवल खोजिमा अष्ट्रेलिया गएका छन्। अष्ट्रेलिया नेपाली विद्यार्थीको सेटलमेन्टका हिसाबले पनि पहिलो रोजाइको गन्तव्य हो। तर अहिले भने अष्ट्रेलियाको शिक्षा नीति, विदेशी विद्यार्थीका लागि आवश्यक पर्ने आर्थिक कागजात र विश्वविद्यालयको मापदण्डका विषयमा केही हेरफेर भएपछी भने विद्यार्थीले अष्ट्रेलियाको विकल्पको रुपमा शैक्षिक गन्तव्य परिवर्तन गरेर क्यानडा, युके रोज्ने गरेका छन्।’
अष्ट्रेलिया अध्ययनमा जान विद्यार्थीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट सर्टिफिकेसन अफ इलिजिविलिटी (सिओई) का आधारमा आवेदन दिन पाउँछन्। शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई परामर्श सेवा प्रदान गरेर उनीहरूलाई उचित शैक्षिक गन्तव्यको खोजि गरिदिने र भिसा प्रक्रियामा सहजिकरण गर्ने गर्छन्।
गत बर्ष मात्रै अष्ट्रेलिया अध्ययनमा जान सबैभन्दा बढी ३३ हजार ९ सय ९१ जनाले विद्यार्थीले एनओसी लिएका थिए । अवसर र गुणस्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको आकर्षण अस्ट्रेलियामा बढ्दै गएको देखिन्छ। नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आइटी, नर्सिङ, मेडिकल, होटल व्यवस्थापन, इन्जिनियरिङ, कम्प्युटर साइन्स लगायतका विषयमा अध्ययनका लागि जाने गरेका छन्।
अस्ट्रेलियाको आयआर्जन गर्ने प्रमुख स्रोतमध्य शिक्षा पनि हो। विदेशी विद्यार्थीलाई सहज भिसाको व्यवस्था र पोस्ट स्टडी वर्कको व्यवस्थाले अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइ पर्ने गरेको छ। चाल्स डार्विन युनिभिर्सिटी अष्ट्रेलियाको दक्षिण एसिया रिजनल म्यानेजर रेनु यादवको भनाइ रहेको छ।
उनका अनुसार विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही छ र उसको आर्थिक हैसियत बलियो छ विद्यार्थीले अस्ट्रेलियाका लागि भिसा पाएको अवस्था छ। अष्ट्रेलियमा विद्यार्थीले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेपछि दुई वर्ष, अनुसन्धान पास गरेपछि तीन वर्ष र विद्यावारिधि पूरा गरेपछि चार वर्षको पोस्ट स्टडी वर्क परमिट पाउने व्यवस्थाले पनि विद्यार्थी आकर्षित भएका छन्। विद्यार्थीले प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रतिर अध्ययन गर्न गए स्थायी आवासका लागि बढी अंक पाउँछन्। स्नातकोत्तर तह अध्ययन गर्न जान चाहने विद्यार्थीले डिपेन्डेन्टमा लान पाउने व्यवस्था भएकाले पनि डिपेन्डेन्टले पूर्णकालीन रुपमा काम गर्न पाउँछन्।
विश्वका उत्कृष्ट विश्वविद्यालय अस्ट्रेलियामा छन्। अस्ट्रेलियन नेसनल विश्वविद्यालय, युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ सिड्नी, द युनिभर्सिटी अफ एनएसडब्लु, द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, मोनास युनिभर्सिटी, द युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया चर्चित विश्वविद्यालय हुन्।
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीकोे न्युनतम मापदण्ड बढाएको देखिन्छ
महेशबाबु तिमल्सिना, अध्यक्ष, एसोसियसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ्स इन नेपाल (ऐरी नेपाल)
अष्ट्रेलियन सरकारले ‘माइग्रेसन स्ट्राटेजी’मा केहि परिवर्तनहरू गरेको छ। अष्ट्रेलियामा अध्ययन गर्न विभिन्न मुलुकबाट फरक–फरक पृष्ठभूमिका विद्यार्थी जाने गरेका छन्। विदेशी नागरिकहरूका कारण अष्ट्रेलियाको मानवसंशाधनमा देखिएको प्रभावका कारण विद्यार्थी भिसामा आएकाहरू लामो समयसम्म बस्ने र गुणात्मक वृद्धि नगरेका कारण अष्ट्रेलियाले आफ्नो आप्रवासन फ्रेमवर्कमा नै परिवर्तन गरेको छ।
११ डिसेम्बर २०२३ मा अष्ट्रेलियाको गृह मन्त्रालयले जुन संख्यामा विदेशबाट विद्यार्थी आप्रवासन भएका छन्। त्यसलाई संख्यात्मक रुपमा घटाएर गुणात्मक रुपमा वृद्धि गर्ने लक्ष्य लिएको देखिन्छ। यसलाई लागु गर्न अष्ट्रेलिया सरकारले नीतिगत रुपमा नै परिवर्तनहरू गरेको अवस्था हो।
अष्ट्रेलियाले तीनवटा विषयलाई प्राथमिकताका साथ अवलम्बन गरेको देखिन्छ। पहिलो कुरा उच्च स्तरका शिक्षा प्रादायक संस्थामा आवेदन दिने विद्यार्थीलाई प्राथमिकता दिने जसका लागि ‘लेभल वान’का शिक्षणसंस्थामा आवेदन दिने विद्यार्थीलाई केन्द्रमा राखेको देखिन्छ। दोस्रो कुरा अंग्रेजी भाषाको मापदण्ड वृद्धि गरेको छ। अष्ट्रेलिया विद्यार्थी भिसामा गएका तर ३५ वर्ष कटेका विद्यार्थीले पोष्ट स्टडी वर्क (पिएसडब्लु)का लागि भिसा आवेदन दिन नपाउने लगायतको परिवर्तन गरेको छ।
जिटिईलाई परिवर्तन गरेर जिएसटी बनाउने जस्ता परिवर्तन गरेको छ। विद्यार्थीले यस अघि भिसा अप्लाई गर्दा आफू अष्ट्रेलिया जान चाहनुको उद्देश्य तीनसय शव्दमा लेख्नुपर्ने थियो यसमा परिवर्तन गरेर पाँचवटा प्रश्नको उत्तर दिनुपर्ने जस्ता परिवर्तनहरू भएका छन्। यसले विद्यार्थीको उद्देश्य र क्षमता पहिचान गरेर मात्र लान खोजेको जस्तो देखिन्छ। अष्ट्रेलियामा अध्ययन पश्चात रोजगारीमा जान सक्ने क्षमता भएका विद्यार्थीलाई प्राथमिकतामा राखेको देखिन्छ।
विदेश अध्ययनमा जानुअघि विद्यार्थीको तीनवटा कुरा महत्वपूर्ण हुन्छ। विद्यार्थीको शैक्षिक योग्यता, भाषागत दक्षता र आर्थिक अवस्था। यी तीन कुरा राम्रो छ भने विद्यार्थीलाई भिसा पाउन सहज हुन्छ। अहिले अष्ट्रेलियाले उत्कृष्ट शैक्षिक योग्यता भएका, विषयगत दक्षता हासिल गरेका विद्यार्थीलाई केन्द्रमा राखेको छ। अष्ट्रेलियाले इन्जिनियरिङ, नर्सिङ, लगायतका अनुसन्धानमुलक प्राविधिक विषय अध्ययन गर्न जाने विद्यार्थीलाई सहज बनाएको छ।
अंग्रेजी भाषा परीक्षामा राम्रो अंक ल्याएर मात्र विदेश अध्ययनमा जानुपर्छ। नेपालमा विद्यार्थीले आम्दानीको स्रोत पारदर्शी रुपमा बैंकबाट कारोबार भएको देखाउनुपर्छ। कर तिरेको आम्दानीलाई अष्ट्रेलिया सरकारले मान्यता दिन्छ।
अबदेखि अष्ट्रेलिया जान चाहने विद्यार्थीले अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) ओभरअलमा ६ अंक ल्याउनुपर्ने हुन्छ। २०२१/२२मा ७० प्रतिशत भिसा सक्सेस रेट रहेकोमा २०२३ मा त्यो घटेर ५५ प्रतिशतको हाराहारीमा आउन पुग्यो। अहिले त अष्ट्रेलिया आवेदन गर्ने विद्यार्थीको संख्या नै घटेको छ।