काठमाडौँ - कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले आयोजना गरेको पहिलो 'कोरिया एजुकेसन फेयर' सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार केक्यानले नयाँ बानेश्वरस्थित ’द एभरेस्ट होटल’ मा आयोजना गरेको यस फेयरमा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।
शैक्षिक मेलामा कोरियाका विश्वविद्यालयका आधिकारिक प्रतिनिधि र नेपालका शैक्षिक परामर्शदातृ संस्थाले कोरियाको शिक्षाबारे जानकारी दिएको आयोजकले जनाएको छ।
मेलामा बोल्दै पूर्वशिक्षामन्त्री एवम् नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीहरु सम्भावनाको खोजिमा विदेश जाने गरेको र उनीहरुलाई अध्ययन पश्चात नेपाल फर्काउने वातावरण सिर्जना गर्नुपर्ने बताए। 'विद्यार्थी नेपाली विश्वविद्यालयमा अध्यापन नहुने विषय अध्यन गर्न विदेश जाने गरेका छन्। उनीहरुलाई विदेश जाने अवसर सधैँ खुल्ला रहन आवश्यक छ।' उनले भने,' नेपालमा प्राविधिक शिक्षालाई प्राथमिकता दिदैँ अवसरको सुनिश्चिचता दिन जरुरी छ। '

केक्यानका अध्यक्ष विष्णु खड्काले मेलामा उच्च शिक्षा अध्ययनको लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीहरुले आवश्यक पूर्व तयारी, शैक्षिक निती, विषय र विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति लगायतका विषयमा प्रत्यक्ष जानकारी दिने उदेश्यले यस फेयरको आयोजना गरेको बताए।
मेलामा विभिन्न संस्थाका अध्यक्ष, उपाध्यक्ष र संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। मेलामा केक्यानमा आवद्ध २३ वटा भन्दा बढी संस्थाका प्याभेलियन र स्टलबाट ७० भन्दा बढि परामर्शदाताबाट विद्यार्थीले परामर्श लिएका थिए।

मेलामा कोरियामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाइ निशुल्क परामर्श र भिषा प्रक्रिया साथै प्रविधि, पाठ्यक्रम, डिजाइनको बारेमा पनि जानकारी प्रदान गरिनुका साथै विद्यार्थीहरुलाई आकर्षक गिफ्ट हाम्परको पनि व्यवस्था गरिएको थियो। मेलामा करिब १५ सय विद्यार्थीले अवलोकन गरेका थिए।





