काठमाडाैँ - अनुमतिबिना सञ्चालित शैक्षिक परामर्श दातृ संस्था (एडुकेस्नल कन्सल्टेन्सी)लाई बन्द गर्न निर्देशन दिइएको छ। काभ्रेको बनेपामा सञ्चालित केही कन्सल्टेन्सी दर्ताबिनै सञ्चालनमा रहेको पाएपछि उक्त निर्देशन दिइएको हो।
बिहीबार काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा जिल्ला शिक्षा समन्वय इकाई, उद्योग तथा वाणिज्य कार्यालय, बनेपा नगरपालिकाका प्रतिनिधिहरुले कन्सल्टेन्सीहरुको अनुगमन गरेका थिए।
१५ वटा एडुकेस्नल कन्सल्टेन्सीहरु अनुगमन गरिएकोमा ५ वटा कन्सल्टेन्सीमात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएर सञ्चालन रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए। उनका अनुसार, डिस्ने सि एडुकेस्नल कन्सल्टेन्सी र एमइवाइभिएन एडुकेस्नल कन्सल्टेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरेको पाइएको छ।
त्यस्तै, रिच इट लर्निङ सेन्टर, ऐडुकेयर एडुकेसन सेन्टर र सक्सेस बीसीइसी एडुकेस्नल कन्सल्टेन्सी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता भएको पाइएको उनले बताए। उनका अनुसार, ग्लोबल हब एडुकेस्नल कन्सल्टेन्सी, मिसन एडुकेस्नल कन्सल्टेन्सी, बनेपा हार्डफर्ड एडुकेस्नल कन्सल्टेन्सी र एसडीसी एडुकेस्नल कन्सल्टेन्सीले सम्बन्धित निकायबाट अनुमतिबिना सञ्चालनमा रहेको पाइएको थियो। उक्त एडुकेस्नल कन्सल्टेन्सीहरुमा अनुगमन टोलीले ताला लगाएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।
त्यस्तै, एसएआर एडुकेस्नल कन्सल्टेन्सी, डिस्कभरी पाथ वे एडुकेस्नल कन्सल्टेन्सी प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ताको प्रक्रियामा रहेकाले दर्ता भएपछि मात्रै सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए। टोलीले अनुगमनका लागि आएको जानकारी पाएपछि डिएबी, ग्रेस, ट्राइल मेकर र क्याम्ब्रिज एडुकेस्नल कन्सल्टेन्सीका सञ्चालकहरु ताला लगाएर भागेका थिए।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग भएको सूचीअनुसार काभ्रेमा १२ वटा एडुकेस्नल कन्सल्टेन्सीहरु अनुमति लिएर सञ्चालनमा रहेका छन्। बनेपामा ५ दर्जनभन्दा बढी तथा धुलिखेल, पाँचखाल, पनौतीलगायतका बजारमा १ सयभन्दा बढी एडुकेस्नल कन्सल्टेन्सीहरु सञ्चालनमा छन्।