काठमाडाैँ - विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीकाे पहिलाे राेजाइमा पर्न सफल शैक्षिक गन्तव्य अमेरिका जाने विद्यार्थीकाे संख्या घटेकाे छ। ट्रम्प प्रशासनले भिसामा कडाइ गरेसँगै अमेरिका जाने विद्यार्थीकाे संख्या घटेकाे हाे।
अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने सपना देखेका हजारौँ नेपाली विद्यार्थी हाल अन्य मुलुकको विकल्प राेज्न बाध्य भइरहेका छन्। नेपाली विद्यार्थीले अमेरिकालाई लामो समयदेखि उच्च शिक्षाका अध्ययनकाे लागि प्रमुख गन्तव्य मान्ने गरेका छन्। अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने मुलुकको सूचीमा नेपाल दसौँ स्थानमा पर्ने गरेकाे थियो तर हाल सो संख्यामा उल्लेखनीय गिरावट आएको पाइन्छ। हाल अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल संख्या १६ हजार ४८२ रहेकाे छ।
गत वर्ष अमेरिकामा अध्ययनका लागि करीब ८ हजार नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) प्राप्त गरेका थिए। त्यस बाहेक पनि भारत,अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, बेलायत र जापान पनि नेपाली विद्यार्थीका लागि लोकप्रिय गन्तव्यमध्ये पर्छन्।
अमेरिका विभागले आफ्ना दूतावासलाई अर्को सूचना प्रकाशन नहुन्जेल नयाँ भिसा आवेदकलाई भिसा जारी नगर्न परिपत्र गरेको छ। उक्त निर्देशनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मन्त्रालयले आवेदकका सामाजिक सञ्जालका गतिविधिको जाँच प्रक्रिया विस्तार गरिने उल्लेख गरेका छन्।
भिजिट भिसाका लागि आवेदन दिने सहित अन्य नयाँ आवेदकलाई रोक लगाइएको भए पनि यसअघि नै अन्तर्वार्ताको मिति तय भएका विद्यार्थीलाई भने प्रक्रिया अगाडि बढाउने अनुमति दिइएको छ।
यसैबीच, यसअघि नै अमेरिका पुगिसकेका एवं कुनै गल्ती नगरेका विदेशी विद्यार्थी पनि नयाँ नीतिको कडा निगरानीको चपेटामा परेका छन्। असुरक्षाको भावना बढ्दै जाँदा अधिकांश अमेरिकी कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्थानीय यात्रा गर्दा समेत पासपोर्ट तथा अन्य आवश्यक कागजात साथमा राख्न सल्लाह दिएका छन्। अस्थायी संरक्षित स्थिति (टीपीएस) पाएका सात हजारभन्दा बढी नेपाली विद्यार्थी ५ अगस्टसम्म नेपाल फर्कनुपर्नेछ वा निष्कासनको सामना गर्नुपर्नेछ। गत हप्ता ओम्नी एअरबाट ३७ जनालाई काठमाडौँ फर्काइएको थियो।
शुरूमा हार्वर्ड विश्वविद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीका लागि मात्र विद्यार्थी भिसा प्रतिबन्ध रहेको थियो। तर पछि सबै चिनियाँ विद्यार्थी र हाल आएर सबै विद्यार्थीका लागि यो नीति विस्तार गरिएको हाे। कोलम्बिया विश्वविद्यालय जस्ता विदेशी विद्यार्थीको सक्रिय भर्ना गर्ने विश्वविद्यालयले भर्नादरमा तीव्र गिरावटको सामना गरिरहेका छन्।यसले उनीहरूको वित्तीय स्थिरता र विविधतालाई खतरामा पारेको छ।
धेरै विद्यार्थीलाई तीव्र गतिमा गाडी चलाएको कारणले वा पार्किङ टिकट (सवारीसाधनको गैरकानूनी पार्किङ गरे बापत लाग्ने दण्ड) पाएको कारण उनीहरूको भिसा रद्द गरिएको भनी इमेल मार्फत सूचित गरिएको छ। तर आपराधिक रेकर्ड नभएका अन्य विद्यार्थी पनि यसबाट प्रभावित छन्। नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थीमा निष्कासनको ठूलो भय व्याप्त छ।

शिक्षाका लागि अमेरिका जाने अधिकांश नेपालीका लागि यो यात्रा उच्च जोखिमको लगानी हो। प्राय विद्यार्थी मध्यमवर्गीय परिवारबाट आउने गर्छन् भने शुल्क तिर्नका लागि छात्रवृत्ति, काम गर्दै अध्ययन गर्ने कार्यक्रम, ऋण वा कतिपय अवस्थामा पारिवारिक सम्पत्ति बेच्ने जस्ता कुरामा निर्भर हुन्छन्।
अमेरिका शिक्षा एवं मानवीय मामिलामा पछि हट्ने प्रवृत्ति देखापरेसँगै विद्यार्थी भिसामा हाल लगाइएका कडा नियन्त्रणका बावजूद बेलायत र क्यानडा जस्ता देश पनि थप आकर्षक बन्दै गएका छन्। सन् २०२४ मा बेलायती विश्वविद्यालयमा नेपाली विद्यार्थीको भर्नामा ६३ प्रतिशतको वृद्धि देखिएको छ। अर्को लोकप्रिय गन्तव्य बन्दै गरेको जापानमा सन् २०२४ सम्म ६४ हजार ८१६ नेपाली विद्यार्थी भर्ना भएका छन्।
अमेरिकी विद्यार्थी भिसामा गरिएको बढ्दो कडाइबाट चीन, हङकङ र मलेशिया यसअघि नै लाभ उठाउने अवस्थामा छन्। हङकङका कैयौँ विश्वविद्यालयले प्रभावित विद्यार्थीलाई विना शर्त भर्ना गर्ने प्रस्ताव गरिरहेका छन्। यस्तै, मलेशियाली संस्थाहरू पहिले अमेरिका जाने योजना बनाएका एशियाली विद्यार्थीहरूलाई लक्षित गरिरहेका छन्। अमेरिकामा चीन र भारतका क्रमशः तीन लाख ३० हजार र दुई लाख ८० हजार विद्यार्थी छन्, तर चिनियाँ विद्यार्थीको संख्यामा गत वर्ष तीव्र गिरावट आएको छ।
यस बाहेक अबुधावीस्थित न्यूयोर्क विश्वविद्यालय, दुबईस्थित जर्जटाउन र दोहास्थित नर्थवेस्टर्न जस्ता अमेरिकी विश्वविद्यालयका शाखा क्याम्पसका भर्ना आवेदनमा वृद्धि भएको छ। खाडी क्षेत्रका विश्वविद्यालयले अमेरिका जान खोज्ने विद्यार्थीलाई समायोजन गर्न तीव्रतर पूर्वाधार विस्तार गरिरहेका छन्।
नेपालका शैक्षिक संस्था पनि अमेरिकी भिसा प्रतिबन्धलाई कम्तीमा नेपाली स्नातक विद्यार्थीलाई नेपालमै राख्ने अवसरका रूपमा हेरिरहेका छन् भने यस क्षेत्रका विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्न सकिने आशामा छन्।
भारत र चीनबीचको नेपालको रणनीतिक अवस्थितिले गर्दा अमेरिकी नीतिमा भएको परिवर्तनले नेपाललाई संवेदनशील बनाउँछ। अमेरिकाको एक प्रमुख सहयोगी भारत पनि सम्भावित विद्यार्थी यात्रा प्रतिबन्धको अमेरिकी निगरानीमा छ। अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाबाट पछि हट्ने अमेरिकी प्रवृत्तिको फाइदा उठाउन चिनियाँ विश्वविद्यालयले नेपाली प्रतिभालाई थप छात्रवृत्ति प्रस्ताव गरिरहेका छन्।
अमेरिकी विश्वविद्यालयहरूले विद्यार्थी भिसा प्रतिबन्धलाई अदालतमा चुनौती दिएका छन्। बोस्टनको एक संघीय अदालतले हार्वर्डमाथि लगाइएको पूर्ण प्रतिबन्ध रद्द गरेको छ भने विदेश मन्त्रालयले विद्यार्थी तथा एक्सचेन्ज भिजिटर भिसाको प्रक्रिया पुनः शुरू गर्न आदेश दिएको छ। राष्ट्रपति ट्रम्प आफ्ना कतिपय कठोर कार्यकारी आदेशबाट पछि हटे जस्तै विद्यार्थी भिसा प्रतिबन्धबाट पनि पछि हट्ने आशा कतिपयले अझै गरिरहेका छन्। तर भिसा प्रणालीको उतारचढाव र अमेरिकाको शिक्षा प्रणाली तथा बसोबासको दीर्घकालीन अनिश्चितताले गर्दा संसारभरका विद्यार्थीले वैकल्पिक योजना बनाउन थालेका छन्।