काठमाडाैँ- पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू सुरक्षित करिअरको खोजिमा हुन्छन्।
अध्ययन पश्चात रोजगारीको अवसरका लागि विद्यार्थीले प्राविधिक विषय रोज्ने गरेका छन्। परम्परागत शिक्षा भन्दा व्यवहारिक, व्यवसायिक र सिपयुक्त जनशक्ती उत्पादन हुने भएकाले विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित भएको देखिन्छ।
अहिले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू कुन विषय कहाँ पढ्ने र त्यसका कस्तो तयारी गर्ने भनेर आफ्नो योजना अनुसार अघि बढ्ने गरेका छन्।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले विद्यार्थीहरूलाई नेपालमै गुणस्तरीय प्राविधिक शिक्षा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले नेपाल टेलिभिजनबाट प्राविधिक ताथा व्यवसायिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए।
उनले भनेु, ‘सबै शिक्षालयले स्थानीय तहसँग समन्वय गरेर प्राविधिक शिक्षाको महत्वबारे कार्यक्रम गर्दै आएका छन्। प्राविधिक शिक्षालाई विस्तार गर्ने सवालमा सीटीईभीटी सजग छ।’
सीटीईभीटी अन्तर्गतका केही प्राविधिक शिक्षालयले एसईईपछि तीनवर्षे डिप्लोमा स्तरमा इन्जिनियरिङ, नर्सिङ, हेल्थ असिस्टेन्ट लगायतका विषय अध्यापन गराउँदै आएका छन्।
जसलाई प्रवीणता प्रमाणपत्र तहको समकक्षता प्रदान गरिएको छ। सीटीईभीटीले आफ्नै शिक्षालयमार्फत अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिएर प्राविधिक शिक्षा प्रदान गरिरहेको छ।
यता राष्ट्रिय परीक्षा बोर्डले पनि कक्षा ११ र १२ का लागि प्राविधिक धारमा विद्यार्थी भर्ना लिने गरेको छ। कक्षा ९ र १० मा यस्ता प्राविधिक विषयको अध्ययन गरेका विद्यार्थीले ‘टीएसईई’ परीक्षा दिएका हुन्छन्।
यी विद्यार्थीले पनि माथिल्लो तहमा प्राविधिक विषय अध्ययन गर्ने गरेका छन्। प्राविधिक विषयका रूपमा इलेक्ट्रिकल, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, वनस्पति विज्ञान, जीव विज्ञानजस्ता विषय अध्ययन गर्छन्। त्रिभुवन विश्वविद्यालयले कृषि, इन्जिनियरिङ, स्वास्थ्य, वन आदि विषयलाई प्राविधिक कोर्सका रूपमा अघि सारेको छ।
अध्ययन पश्चात राेजगारीकाे अवसर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सन् २०२२ मा गरिएको श्रम बजार विश्लेषणमा आधारित प्रक्षेपण अनुसार सन् २०३० सम्म स्वास्थ्य, कृषि, निर्माण, पर्यटनलगायत क्षेत्रमा लाखौँ दक्ष जनशक्ति आवश्यकता पर्नेछ। विशेष गरी कृषिमा छ लाखभन्दा बढी, निर्माण क्षेत्रमा छ लाखभन्दा बढी, स्वास्थ्य क्षेत्रमा एक लाख र पर्यटन क्षेत्रमा दुई लाख जनशक्ति आवश्यक पर्ने देखाइएको छ। यसले स्पष्ट गराउँछ कि व्यावहारिक सिपयुक्त शिक्षामा आधारित प्राविधिक शिक्षा समयको माग हो। युवाले समयमै सही तालिम र दक्षता हासिल गरे भने उनीहरूले स्वदेशमै रोजगारीका भरपुर अवसर प्राप्त गर्न सक्नेछन्। साथै यो मागलाई सम्बोधन गर्न सरकारले प्राविधिक शिक्षाको पहुँच, गुणस्तर र सम्बन्धित तालिम कार्यक्रमको प्रभावकारिता बढाउन थप आवश्यक छ।
परिषद्ले प्राविधिक शिक्षामा अध्ययनरत प्रशिक्षार्थीलाई सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी गराउँदा उनीहरूको सिपमा निखारता आउने र कार्यसम्पादनमा आत्मविश्वास बढ्ने मात्र नभइ समुदायको आवश्यकता पहिचान, समस्या समाधान, आयआर्जन, सञ्चार सिप, बजारीकरण र व्यावसायिकताको विकास हुने गरेको जनाएको छ। परिषद्का अनुसार अध्ययनरत प्रशिक्षार्थी, पूर्वप्रशिक्षार्थी र उद्यमशीलतासम्बन्धी काम गर्न इच्छुक युवालाई उनीहरूको रुचि र क्षमताको पहिचान गरी व्यवसाय सञ्चालन गर्नका लागि बिजिनेस इन्क्युवेसन सेन्टरको समेत स्थापना गरिएको छ ।
सीटीईभीटीमा अध्यापन हुने विषय
एसईई दिएका विद्यार्थीले प्राविधिक शिक्षातर्फको ७२ वटा विषयको अध्ययन गर्न पाउने व्यवस्था रहेको सीटीईभीटीले जनाएको छ। ३६ महिने डिप्लोमामा ४ वटा र १८ महिने प्रि डिप्लोमामा ३३ वटा विषय पढ्न सकिन्छ। एसईई दिएका विद्यार्थीहरूले इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, सर्भे इन्जिनियरिङ जस्ता विषय पढ्न पाउँछन्। यसका साथै कृषि तर्फ एग्रीकल्चर(प्लान्ट साइन्स), लाइभस्टक प्रोडक्सन (एनिमल साइनस ), फुड एण्ड डेरी टेुक्नालोजी, भेटेरिनरी, फरेष्ट्री पढ्न पाउँछन्।
होटल व्यबस्थापन तर्फ कुलिनरी आर्टस र होटल म्यानेजमेन्ट पढ्न सकिने ब्यवस्था रहेको छ। त्यसैगरी स्वास्थ्य तर्फ नर्सिङ, मिडवाइफी, अप्थार्मोलोजी साइन्स, सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलाजी, डाइग्नोष्टिक रेडियोग्राफी, डेन्टल साइन्स, आयुर्वेद, अकुपञ्चर, अकुप्रेसर, फिजीयो थेरापी लगायत ७२ वटा विषय पढ्न पाउने व्यवस्था छ।
कुन विषय पढ्न कति जीपीए चाहिन्छ?
कृषि तथा वन विषय पढ्नको लागि एसईईको नतिजामा १ दशमलव ५ जिपीए ल्याउनु पर्ने हुन्छ। यसका साथै नर्सिङ, फार्मेसी, फिजियोथेरापी, आयुर्वेद जस्ता स्वास्थ्य विषय अध्ययन गर्नका लागि भने २ जीपीए हुनुपर्ने प्रावधान रहेको छ। इन्जिनियरिङ अध्ययनका लागि पनि १ दशमलव ५जीपीए नै आवश्यक पर्छ।
त्यसैगरी होटल व्यवस्थापन पढ्नका लागि पनि १ दशमलव ५ जीपीए नै आवश्यक हुन्छ। स्वास्थ्य तर्फ बाहेक सबै विषय अध्ययनका लागि एसईईको शैक्षिक योग्यता न्युनतम १ दशमलव ५ जीपीए ल्याएका विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गर्न सक्छन्।
प्रिडिप्लोमा तह १८ महिने कोर्स हो। यसमा १५ महिना पाठ्यक्रमको पढाइ र तीन महिना प्रयोगात्मक हुन्छ। प्रिडिप्लोमा पढ्न एसइईमा जति प्राप्ताङ्क आए पनि फरक पर्दैन तर डिप्लोमा तह भने तीन वर्षको (छ सेमेस्टर) कोर्स हो। यसमा भएका कोर्स अध्ययन गर्न भने एसइईमा न्यूनतम दुई जिपिए ल्याएको हुनुपर्छ । स्वास्थ्यतर्फका विषय पढ्न गणित, विज्ञान र अङ्ग्रेजी विषयमा कम्तीमा ‘सी’ ग्रेड प्राप्त गरी न्यूनतम दुई जिपिए चाहिन्छ। त्यस्तै इन्जिनियरिङतर्फका विषय पढ्न गणित र विज्ञानमा कम्तीमा ‘सी’ ग्रेड र अङ्ग्रेजीमा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम दुई जिपिए ल्याएको हुनुपर्छ। कृषि तथा हस्पिटालिटीका विषय पढ्न गणित, विज्ञान र अङ्ग्रेजीमध्ये कुनै दुई विषयमा कम्तीमा ‘सी’ ग्रेड र एउटामा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम दुई जिपिए ल्याउनु पर्छ। प्रिडिप्लोमा तह उत्तीर्ण गरेपछि स्नातक पढ्न पाइँदैन। त्यसका लागि प्रिडिप्लोमा पढ्दै गर्दा +२ मा पनि भर्ना हुनु पर्छ तर डिप्लोमाका कोर्स अध्ययन गरेपछि भने स्नातकमा सजिलै भर्ना पाइन्छ ।
कुन कलेजमा कति सिट?
सिटीईभीटीमार्फत सञ्चालित आंगिक शिक्षालयमा ६५, साझेदारी शिक्षालय ५२, सामुदायिक विद्यालय ६ सय ३६ र निजीस्तरका ४ सय २२ वटा कलेजमा अध्ययन गर्न सकिन्छ। देशैभरि गरेर गरेर १ हजार १७६ शैक्षिक संस्थामा प्राविधिक शिक्षा लिन सकिन्छ। सिटिइभिटीको वार्षिक प्रतिवेदन अनुसार डिप्लोमा र प्रिडिप्लोमा वार्षिक भर्ना क्षमता ६९ हजार ४९३ रहेकामा ३६ हजार ३१ जना मात्रै भर्ना भएका छन्। यस अवधिमा डिप्लोमातर्फ ४२ हजार ६७१ भर्ना क्षमता भएकोमा २७ हजार ३९० जना भर्ना भएका छन् भने प्रिडिप्लोमामा २६ हजार ८२२ जना भर्ना गर्ने क्षमता भएकोमा जम्मा आठ हजार ६४१ जना मात्रै भर्ना भएको सिटिइभिटीले जनाएको छ।
छात्रवृत्तिको व्यबस्था
परिषद् अन्तर्गत प्रि डिप्लोमा र डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने देशै भरिका सबै शिक्षालयहरूमा हरेक कार्यक्रममा दश प्रतिशतको छात्रवृत्ति कोटा रहेको छ। छात्रवृत्तिका लागि भने नेपालको सरकारी वा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा वा एसईई उत्तीर्ण गरेका हुन्छन्।
परिषद्का आंगिक शिक्षालय वा सम्बन्धन प्राप्त शिक्षालय प्रि डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूले मात्र छात्रवृत्तिका लागि आवेदन दिन पाउँछन्। छात्रवृत्तिका लागि प्रवेश परीक्षाबाट परीक्षार्थीहरूको छनौट गरिन्छ। सोही अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरूले निशुल्क अध्ययन गर्न पाउँछन्।
प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था रहेको छ। जेहेनदार विद्यार्थी छात्रवृत्ति, प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ। त्यसैगरी दलित, मुस्लिम तथा विपन्न, आदिवासी जनजाती विद्यार्थीहरूको लागि पनि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
लागत खर्च
डिप्लोमा अन्तर्गत ४ वटा विषय पढ्न आंगिक मान्यता पाएका कलेजहरूमा विषयअनुसार ८५ देखि १ लाख ६ हजार शुल्क लाग्छ। सामुदायिक र सरकारी अनुदान भएका कलेजहरूमा विषय अनुसार ९० हजारदेखि १ लाख ९० हजार शुल्क लाग्छ। सरकारी अनुदान नपाउने साझेदारी कलेजहरुले २ लाख ५ हजार शुल्क लाग्ने सीटीईभीटीले जनाएको छ।त्यस्तै, प्रि डिप्लोमा अन्तर्गत विषयहरूमा आंगिकमा १५ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ५५ हजार रूपैयाँ शुल्क लाग्छ।
प्रि डिप्लोमाकै इन्जिनियरिङ अध्ययन गर्दा आंगिकमा २२ हजार र सामुदायिक साझेदारी प्रतिष्ठानमा ६५ हजार रूपैयाँ लाग्नेछ। प्रिडिप्लोमाको व्यवस्थापन र अन्य प्राविधिक विषयमा भने आंगिक शिक्षालयमा १८ हजार र सामुदायिक/साझेदारी प्रतिष्ठानहरूमा ५५ हजार शुल्क तोकिएको सीटीईभीटीले जनाएको छ।