काठमाडाैँ - विदेश पढ्न जाने विद्यार्थीको संख्या प्रत्येक वर्ष उकालो लाग्दैछ। शैक्षिक परामर्श व्यवसायीले यसैको फाइदा उठाइरहेका पनि छन्। विद्यार्थी विदेशमा पढ्न भन्दा पनि अवसरको खोजिमा जाने गरेको तथ्याङ्क छ।
विद्यार्थीले विदेश अध्ययनमा जानु पूर्व विभिन्न समस्या भोग्दै आएका छन्। विद्यार्थीले विदेश अध्ययनमा जानूपूर्व विदेश अध्ययन अनुमति पत्र लिनुपर्ने हुन्छ। विद्यार्थीले उक्त प्रक्रिया झन्झटिलो भएकाले कन्सल्टेन्सी मार्फत डकुमेन्ट बनाएको बताएका छन्।
यूके अध्ययनका लागीे एनओसी लिन आएकी सप्रिती रसाइलीले एनओसी प्रक्रिया कठिन र एनओसी शाखा कार्यालयको प्रक्रिया पनि झन्झटिलो भएकाले कन्सल्टेन्सीको सहायताले कागजपत्र बनाएको बताइन्।उनी जस्तै सारदा मल्ल ठकुरी तामाङले पनि एनओसी शाखाका कर्मचारीले प्रक्रियाबद्ध रुपमा सेवालाई सहजीकरण गर्नुपर्ने बताइन्। ´यसो भए विद्यार्थीलाई सहज हुन्छ`, उनले भनिन्।
यता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विदेश अध्ययन अनुमतिपत्र शाखाले भने एनओसी पोर्टल नामक अनलाइन मार्फत विद्यार्थीहरु शाखामा उपस्थित हुन नपर्ने गरीे सेवा प्रदान गर्दै आएको जनाएको छ।
एनओसी शाखाले प्रत्येक दिन ३५० देखी ४ सय एनओसी जारी गर्ने गरेको छ। आवेदकहरुले जुनसुकै देशमा वैदेशिक अध्ययनमा जानको लागी बैकीङ सम्बन्धि कारोबार र अध्यागमनबाट स्वीकृती लिनको लागी एनओसी आवश्यक पर्ने गरेको एनओसी शाखा प्रमुख विरेन्द्र जंग थापाले जानकारी दिए।
एनओसी शाखा प्रमुख थापाले एनओसी लिदाँ आवेदकले अफर लेटरको समयावधी, आवश्यक कागजपत्र, लागत खर्च, योग्यता, कोर्ष सकिन लाग्ने समयको विषयमा जानकारी लिएर आफैले आवेदन गर्दा सहज हुने बताए।
एनओसी शाखाले जारी गरेको तथ्याङ्क अनुसार नेपाली विद्यार्थीले गत आर्थिक वर्ष २०८१-८२ मा १ लाख २३ हजार ५८९ जनाले एनओसी लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा १ लाख १२ हजार ५९३ जनाले लिएका थिए।
यो अघिल्लो वर्षको भन्दा १० हजार ९९६ ले बढी हो। आर्थिक वर्ष २०७९-८० सालमा १ लाख १० हजार २ सय १७ जना र आर्थिक वर्ष ०७८-७९ मा १ लाख १२ हजार ९६८ जनाले विदेश अध्ययनको लागी एनओसी लिएका थिए। अघिल्लो आर्थिक वर्षमा हालसम्मकै उच्च संख्यामा विद्यार्थी विदेश अध्ययनका लागि गएका हुन्।
आर्थिक वर्ष २०८१-८२मा ६४ वटा मुलुकमा अध्ययनका लागि एनओसी प्रदान गरिएको मध्ये सबैभन्दा बढी ३९ हजार ८४७ जनाले जापान अध्ययनको लागि एनओसी लिएका थिए।
जापानपछि क्रमशः बेलायत, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र क्यानडा विद्यार्थीको मुख्य गन्तव्य बन्ने गरेको छ। त्यस्तै पछिल्लो आर्थिक वर्षमा बेलायतका लागि २७ हजार ४७५ जना, अष्ट्रेलियाका लागि १६ हजार २७९ जना, दक्षिण कोरियाका लागि ९ हजार ७५७ जना, अमेरिकाका लागि ८ हजार ८७० जना र क्यानडाका लागि१ हजार ८९४ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयले जनाएको छ।
तुलनात्मक हिसाबले जापान र यूकेको भिसा प्रक्रिया सहज हुने भएकोले विद्यार्थीको आर्कषण बढेको देखिन्छ। पछिल्लो वर्षदेखि क्यानडा, अमेरिका लगायतका मुलुकमा भिसा पोलीसी परिवर्तन, भीसा रिजेक्सन र प्रक्रियामा कठीनाई भएकोले विद्यार्थीको रोजाइमा पर्नबाट टाढा भएको गोरेटो एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कडेलले बताए।
पछिल्लो समय नयाँ पुस्ताले भिसा प्रक्रिया सहज हुने र नयाँ फरक फरक अवसरको अवोलकन गर्न रुचाउने भएकोले विद्यार्थीको गन्तब्य फेरिदैँ गएको उनको भनाइ छ।
विद्यार्थीहरुले अध्ययनको लागी विदेश जाँदा भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत खर्च, भौतिक शैक्षिक वातावरण, भाषाको ज्ञान, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण विषयमा जानकारी लिएर मात्र विदेश अध्ययनमा जान प्रवन्ध निर्देशक कंडेलले सुझाब दिएका छन्।