काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले नेपालमा क्षयरोग (टीबी) नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोगसँगै पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।
इन्डोनेसियाको बालीमा नोभेम्बर ३ देखि ५ सम्म आयोजित एसिया–प्रशान्त क्षेत्रीय स्वास्थ्य तथा वित्त समितिका सभापतिहरूको बैठकमा बोल्दै उनले नेपालमा क्षयरोगको वास्तविक अवस्था सरकारी तथ्यांकले देखाएको भन्दा गम्भीर हुन सक्ने बताएकी हुन्।
सभापति शेरचनका अनुसार नेपालमा क्षयरोगका बिरामी र यसबाट हुने मृत्युमध्ये करिब ६५ प्रतिशत पुरुष छन्। सरकारी तथ्यांकमा अस्पतालमा उपचारका लागि दर्ता भएका बिरामी मात्र समेटिने भएकाले समुदायमा रहेका धेरै संक्रमित पहिचानबाहिर रहेको उनको भनाइ छ।

पहिचान नभएका बिरामीबाट समुदायमा संक्रमण फैलिने जोखिम उच्च रहेको उल्लेख गर्दै उनले क्षयरोग नियन्त्रणका लागि व्यापक परीक्षण अभियान सञ्चालन गर्नुपर्ने बताइन्। विशेषगरी लुकेर रहेका बिरामीको पहिचान गर्न द्रुत परीक्षण प्रणाली र अत्याधुनिक निदान उपकरणको प्रयोग आवश्यक रहेको उनले औँल्याइन्।
बैठकमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित छातीको एक्स–रे प्रविधिबाट लक्षण नदेखिएका सम्भावित बिरामी पहिचान गर्ने तथा उच्च जोखिममा रहेका समुदायमै पुगेर परीक्षण गर्न सकिने प्वाइन्ट अफ केयर टेस्टिङ प्रविधिबारे छलफल भएको थियो।

क्षयरोग नियन्त्रणका लागि आवश्यक प्रविधि भित्र्याउन र प्रभावकारी स्वास्थ्य अभियान सञ्चालन गर्न अर्थ मन्त्रालयबाट पर्याप्त बजेट सुनिश्चित गर्नु प्रमुख चुनौती रहेको विषयमा पनि बैठकमा छलफल भएको थियो। अन्य आकस्मिक राष्ट्रिय आवश्यकतासँगै स्वास्थ्य क्षेत्रको प्राथमिकता कायम राख्दै आवश्यक वित्तीय स्रोत कसरी व्यवस्थापन गर्ने भन्नेबारे सहभागी सांसदहरूले अनुभव आदानप्रदान गरेका थिए।
बैठकको दोस्रो दिन इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले सहभागी सांसदहरूलाई दिवाभोजमा आमन्त्रण गरेका थिए। उक्त अवसरमा विभिन्न देशका सांसदहरूले आ–आफ्नो मुलुकको स्वास्थ्य अवस्था, नीति, क्षयरोग नियन्त्रणका प्रयास र चुनौतीबारे धारणा राखेका थिए।
बैठकका क्रममा सभापति शेरचनले इन्डोनेसियाका अर्थमन्त्री सुहासिल नजरा तथा ग्लोबल टीबी ककसका अध्यक्ष एवं बेलायतको हाउस अफ लर्ड्सका सदस्य लर्ड निक हर्बर्टसँग भेटवार्ता गरेकी थिइन्। उनले विभिन्न देशका महिला सांसदहरूसँग पनि छुट्टाछुट्टै भेट गरी स्वास्थ्य नीति र क्षयरोग नियन्त्रणका अनुभव आदानप्रदान गरेकी थिइन्।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका सांसदबीच स्वास्थ्य तथा वित्त नीतिसम्बन्धी अनुभव र अभ्यास आदानप्रदान गर्न बैठक उपयोगी र उपलब्धिमूलक रहेको सभापति शेरचनले बताएकी छन्।
बैठकमा नेपालबाट सभापति शेरचनसँगै प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी, विश्व क्षयरोग नियन्त्रक नेपालका प्रतिनिधि मधुसूदन काफ्ले र निमाट ग्लोबलकी अध्यक्ष डा. रञ्जिता धिताल सहभागी थिए।

यसअघि अक्टोबर ९ मा प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको संयुक्त बैठकले नेपालमा राष्ट्रिय क्षयरोग ककस गठन गर्ने तथा क्षयरोग नियन्त्रणका लागि आन्तरिक स्रोत परिचालन बढाउने विषयमा छलफल गरेको थियो। उक्त बैठकमा पनि डा. शेरचन र डा. बुढाथोकी सहभागी थिए।