भक्तपुर- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुने उम्मेदवारका लागि प्रवेशपत्र अनलाइनबाटै डाउनलोड तथा प्रिन्ट गर्न सकिने व्यवस्था गरेको छ।
आयोगले सूचना जारी गर्दै परीक्षार्थीले दरखास्त फाराम भर्दा प्रयोग गरेको इमेल ठेगाना र पासवर्डमार्फत आफ्नो प्रवेशपत्र आफैँ डाउनलोड गर्न सक्ने जनाएको हो।
प्रवेशपत्र प्राप्त गर्न उम्मेदवारले आयोगको अनलाइन दरखास्त पोर्टल online.tsc.gov.np मा लगइन गर्नुपर्नेछ। त्यसपछि ‘दरखास्त पेस गरेको विवरण’ मा क्लिक गरी ‘View’ विकल्प हुँदै ‘प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्’ मा गएर प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ।
आयोगले प्रवेशपत्रको प्रतिलिपि कार्यालयबाट उपलब्ध नगराइने स्पष्ट पारेको छ। त्यसैले उम्मेदवारले समयमै प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गरेर सुरक्षित राख्नुपर्नेछ।
परीक्षामा सहभागी हुँदा प्रिन्ट गरिएको प्रवेशपत्रसँगै सरकारी निकायबाट जारी भएको फोटोसहितको सक्कल परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने आयोगले जनाएको छ। आवश्यक कागजातबिना परीक्षामा सहभागी हुन कठिनाइ हुन सक्ने भएकाले यसतर्फ विशेष ध्यान दिनसमेत आयोगले आग्रह गरेको छ।
त्यस्तै, अनलाइन पोर्टलको पासवर्ड बिर्सिएका उम्मेदवारले ‘Forget Password’ विकल्प प्रयोग गरी नयाँ पासवर्ड बनाउन सक्नेछन्। त्यसका लागि उक्त विकल्पअन्तर्गत ‘Click Here’ मा क्लिक गरी प्रोफाइल बनाउँदा वा दरखास्त फाराम भर्दा प्रयोग गरेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी (OTP) प्रविष्ट गर्नुपर्नेछ।
आयोगले सम्बन्धित सबै उम्मेदवारलाई परीक्षा मितिभन्दा अगावै प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी आवश्यक कागजातसहित परीक्षामा उपस्थित हुन अनुरोध गरेको छ।