जनकपुर- धनुषाको विदेह नगरपालिका–८ बफै गाउँस्थित चन्द्रोदय पुस्तकालयले विगत २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति विकास र शैक्षिक चेतना अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ।
पुस्तकालयको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले ग्रामीण क्षेत्रमा शिक्षा, ज्ञान र सामाजिक चेतना विस्तार गर्न पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले पुस्तकालयलाई केवल पुस्तक पढ्ने स्थानका रूपमा मात्र नभई ज्ञान, सूचना र चेतना प्राप्त गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक सूर्यनारायण मण्डलले बदलिँदो प्रविधिअनुसार पुस्तकालयको सेवा र व्यवस्थापनलाई पनि आधुनिक बनाउनुपर्ने बताए। उनले पुस्तकालयलाई डिजिटाइज गरी प्रविधिमैत्री बनाउँदा पाठकले सहज रूपमा ज्ञान र सूचना प्राप्त गर्न सक्ने धारणा व्यक्त गरे।
पुस्तकालयका संस्थापक अध्यक्ष ठकुप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष जगदीश साह र स्थानीय शिक्षक ब्रह्मदेव साहले पछिल्लो समय युवापुस्तामा पठन संस्कृतिप्रति आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
उनीहरूले पुस्तक पढ्ने बानीको विकास, नियमित अध्ययन र ज्ञानप्रतिको रुचि अभिवृद्धिका लागि परिवार, विद्यालय तथा समुदायले संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
ग्रामीण क्षेत्रमा पुस्तकालय स्थापना गरी निरन्तर सञ्चालन गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै वक्ताहरूले चन्द्रोदय पुस्तकालयले आगामी दिनमा पनि शिक्षा, पठन संस्कृति र सामाजिक चेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।