काठमाडाैँ - कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थी स्नातक तहमा आफ्नो रोजाइको विषय पढ्न उत्कृष्ट शिक्षणसंस्थाको खोजिमा हुन्छन्। विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गरेर विश्वविद्यालय शिक्षाको ढोका खोल्न तयारी अवस्थामा भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कस्तो शिक्षणसंस्था कुन आधारमा रोज्ने भन्ने अन्योल हुुन्छ। विश्वविद्यालय शिक्षा तर्फ व्यवस्थापन संकायमा सबैभन्दा धेरै करिब ४० प्रतिशत विद्यार्थी अध्ययनरत छन्। यस्तै इन्जिनियरिङ, चिकित्सा शिक्षा, सूचना प्रविधि तर्फ पनि विद्यार्थीको आकर्षण बढ्दो छ।
कक्षा ११ र १२ मा विज्ञान समूहतर्फका विषय अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा इन्जिनियरिङ, मेडिसिन, पारामेडिसिन, नर्सिङ र पिओर साइन्स तर्फका फिजिक्स, केमेस्ट्री, म्याथ लगायतका विषय अध्ययन गर्छन्। चिकित्सा शिक्षा तर्फका विषय अध्ययन गर्न चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।
इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीले पनि विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। इन्जिनियरिङ तर्फ नेपालमा २२ वटा विषयमा अध्यापन हुन्छ। काउन्सिलको तथ्यांक अनुसार ती विश्वविद्यालयका ५८ वटा संस्थान/कलेजमा १२ हजार ८१५ सिट निर्धारण गरिएको छ। त्यसमध्ये करिब ७ हजार विद्यार्थी मात्र भर्ना हुने गरेको तथ्यांक छ। नेपालमा विशेष गरेर कम्प्युटर, सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, एग्रिकल्चर, अटोमोबाइल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन, सफ्टवेयर, मेकानिकल, हाइड्रोपावर इन्डस्ट्रियल, एरोस्पेस, जियोमेटिक्स, केमिकल इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ विद्यार्थीको रोजाईको विषय हो।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदम बहादुर साहिले इन्जिनियरिङ शिक्षा अध्ययन पश्चात रोजगारीका अवसर प्राप्त हुने बताए। उनले भने,‘ इन्जिनियरको आवश्यकता रोजगार बजारमा बढ्दो क्रममा नै छ। दक्ष इन्जिनियरले स्वदेश तथा विदेशमा काम पाएका छन्। यो पेसालाई मर्यादित र व्यवस्थित बनाउन काउन्सिलले नियमन गर्ने भएकाले यसतर्फ लाग्ने व्यक्तीको भविष्य सुनिश्चित नै छ’।
यस्तै कक्षा ११ र १२ मा व्यवस्थापन समूह तर्फका विषय अध्ययन गरेका विद्यार्थीका लागि विशेष गरेर स्नातक तहमा व्यवस्थापन संकाय तर्फका विषय नै रोजाइमा पर्ने गरेको छ। भविष्यमा बैँक, वित्तियसंस्था लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने विद्यार्थीको लागि व्यवस्थापन संकाय तर्फका विषय अध्यापन गर्नु उपयुक्त हुन्छ। आफ्नै पेसा व्यवसाय सञ्चालन गरेर उद्यमशिल बन्न चाहने, बैँक तथा वित्तिय संस्थामा रोजगारी गर्न चाहनेका लागि व्यवस्थापन संकायका बीबीए, बीबीएम, बीएचएम जस्ता विषय उत्तम विकल्प हुन्।
देशमा विस्तार हुँदै गरेका बैंक तथा वित्तीय संस्था, जलविद्युत, शैक्षिक संस्था आदिको प्रशासन र लेखा सम्हाल्न व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ। निजी वा सार्वजनिक संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति व्यवस्थापन संकायले नै उत्पादन गर्छ। नेपालमा स्नातक तहमा ३ देखि ५ वर्षसम्मका कार्यक्रम सञ्चालित छन्।
शंकरदेब क्याम्पसका प्रमुख डा. कपिल शर्माले पछिल्लो समय सबैभन्दा बढी रोजगारीको अवसर प्राप्त हुने विषय व्यवस्थापन भएकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको बताए। ‘नेपालमा व्यवस्थापन विषय बजार केन्द्रित विषय पनि हो। हरेक सरकारी तथा गैरसरकारी संस्थामा व्यवस्थापकको आवश्यक पर्दछ। नेपालमा अझैपनि उद्योगधन्दा व्यवसायहरुको मात्रा बढ्ने हो भने व्यवस्थापन विषयको माग पनि बढ्ने संभावना छ’,उनले भने।
.jpg)
नेपालमा त्रिभुवन, पोखरा, पूर्वाञ्चल, काठमाडौँ, मध्यपश्चिम, सुदूरपश्चिम, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकाय तर्फका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। विश्वविद्यालयहरूले ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)मात्र नभएर व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन स्पोर्टस मयानेजमेन्ट (बीएसएम), ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) लगायतका विषयको अध्यापन हुन्छ।
यसका साथै नेपालमा व्यवस्थापन तर्फ विषयगत दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स (बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम (बीबीएटीटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस) बीबीए (फाइनान्स) लगायतका विषय अध्यापन हुन्छ।
पछिल्लो समय सूचना प्रविधि शिक्षातर्फ पनि विद्यार्थीको आकर्षण बढेको छ। अहिले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसकेको छ। प्रविधिको साथ बिना काम गर्न नसकिने अवस्था सिर्जना भएको छ। जसले एकातिर काममा सहजता ल्याएको छ भने अर्कोतिर त्यसका लागि आवश्यक जनशक्तीको माग बढाएको छ। सूचना प्रविधिका कोर्स अध्ययन गर्नेहरू हरेक क्षेत्रमा काम गर्न सक्छन् भने वेवपेज डिजाइनिङ, एनिमेसन, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ, नेटवर्किङ लगायतका क्षेत्रमा करिअर बनाउन सक्छन्।
नेपालमा सूचना प्रविधि तर्फ बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी), बीआईटी (ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी), बीआईएम (ब्याचलर इन इनफर्मेसन म्यानेजमेन्ट), बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) लगायतका विषय अध्यापन हुन्छ। टेक्सस कलेजका कार्यकारी निर्देशक भेषराज पोखरेलले समष्टिगत रुपमा अन्य विषयमा भन्दा आईटीमा विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको बताए। नेपालको सबै विषयमा विद्यार्थीको कुल संख्या जोड्दा पनि आईटीमा नै विद्यार्थीको संख्या धेरै हुने अवस्था सृजना भएको छ। सूचना प्रविधिको विषय नेपालमा मात्र नभई विश्वको जुनसुकै कुनामा गएर पनि पढ्न र रोजगारको अवसर प्राप्त हुने भएकोले यस विषय तर्फ विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ।
‘आईटी विषय पढेर रोजगारीको लागि विदेश जानुपर्दैन। सूचना प्रविधिको जमनामा विद्यार्थीहरुले घरघरमा बसेर पनि थुप्रै आम्दानी गरिरहेका छन्’, उनले भने।
नेपालको शैक्षिक क्षेत्रको अवस्था बद्लिदो छ। पछिल्लो समय नीजी शिक्षण संस्थामा पनि आईटी विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दो छ। हरेक निजी कलेजहरुले आईटीको कोर्स सुरु भएदेखी नै विद्यार्थीको संख्या अत्याधिक मात्रामा भर्ना गरिरहेको पोखरेलले बताए।

इन्जिनियरिङ, व्यवस्थापन र आईटी तर्फका विषय अध्ययन गर्न देशभरबाट काठमाडौँ उपत्यका भित्र अध्ययनका लागि आउने प्रचलन पनि छ। विद्यार्थीलाई विषय र विद्यालय छनोट गर्न सहज होस् भन्ने उद्देश्यले फेयरएक्सप्रेस मासिकले इन्जिनियरिङ, व्यवस्थापन र आईटीका तर्फका विषय अध्यापन हुने विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्थाको बारेमा जानकारी सहितको सामाग्री प्रस्तुत गरेको छ।