काठमाडाैँ - विश्वविद्यालय शिक्षा तर्फ व्यवस्थापन संकायमा सबैभन्दा धेरै करिब ४० प्रतिशत विद्यार्थी अध्ययनरत छन्। कक्षा १२ मा व्यवस्थापन समूह तर्फका विषय अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा व्यवस्थापन संकाय तर्फका विषय नै अध्ययन गर्ने गरेका छन्।
भविष्यमा बैँक तथा वित्तिय संस्था, विमा लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने विद्यार्थीको लागि व्यवस्थापन संकाय तर्फका विषय अध्यापन गर्नु उपयुक्त हुन्छ। आफ्नै पेसा व्यवसाय सञ्चालन गरेर उद्यमशिल बन्न चाहने, बैंक तथा वित्तिय संस्थामा रोजगारी गर्न चाहनेका लागि व्यवस्थापन संकायका बीबीए, बीबीएम, बीएचएम जस्ता विषय उत्तम विकल्प हुन्।
नबिल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले पनि व्यवस्थापन शिक्षाको सिमितता नभएको बताउँछन्। व्यक्तिको घर देखि ठूला व्यापारिक प्रतिष्ठान, अस्पताल आदिको प्रभावकारी सञ्चालनका लागि समेत सही व्यवस्थापन आवश्यक पर्ने भएकाले व्यवस्थापन शिक्षाको आवश्यकता असिमित रहेको र यसका अवसरहरु पनि फराकिलो हुने उनको भनाइ छ। देशमा विस्तार हुँदै गरेका बैँक तथा वित्तीय संस्था, जलविद्युत, शैक्षिक संस्था आदिको प्रशासन र लेखा सम्हाल्न व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ। निजी वा सार्वजनिक संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति व्यवस्थापन संकायले नै उत्पादन गर्ने उनले बताए।
नेपालमा त्रिभुवन, पोखरा, पूर्वाञ्चल, काठमाडौँ, मध्यपश्चिम, सुदूरपश्चिम, गण्डकी विश्वविद्यालय लगायतका अधिकांश विश्वविद्यालयले व्यस्थापन संकाय तर्फका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
शंकरदेब क्याम्पसका प्रमुख डा कपिल शर्माले पछिल्लो समय सबैभन्दा बढी रोजगारीको अवसर प्राप्त हुने विषय व्यवस्थापन भएकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको बताए। रोजगारमुलक र बजार केन्द्रित विषय भएकाले यस तर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। विद्यार्थीहरूलाई हालको बजारमा भिजाउन, व्यापार, उद्योग सञ्चालन गर्न वा बैँक, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संस्था लगायतका सम्पूर्ण व्यवसाय सञ्चालनको लागि व्यवस्थापन विषय अध्ययन गरेको जनशक्ति आवश्यक पर्ने हुदाँ यस विषयको महत्व रहेको उनको भनाइ छ। समग्र देशको जनशक्ति मध्य प्राविधिक विषय तर्फका धेरै विद्यार्थी विदेश पलायन हुन्छन् तर व्यवस्थापन तर्फ रोजगारीको अवसर नेपालमा प्रशस्त हुने भएकोले व्यवस्थापन तर्फका विषय अध्ययनको लागि विदेश जानु नपर्ने विषयमा उनले जोड दिए।
विश्वविद्यालयहरूले ब्याचलर इन बिजनेश स्टडिज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)मात्र नभएर व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन स्पोर्टस मयानेजमेन्ट (बीएसएम), ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) लगायतका विषयको अध्यापन गराउँदै आएका छन्।
यसका साथै नेपालमा व्यवस्थापन तर्फ विषयगत दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स (बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम (बीबीएटीटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस) बीबीए (फाइनान्स) लगायतका विषय अध्यापन हुन्छ। त्यसै गरि नेपाली विश्वविद्यालय मात्र नभइ नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजमा पनि विद्यार्थीले व्यवस्थापन र आईटी संकाय अन्तर्गतका विषय अध्ययन गर्ने गरेका छन्।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि नेपालमा बीबीए, एमबीए, बीआईटी, बीएचएम जस्ता व्यवस्थापन संकायका विषय नीजी कलेजहरूले सञ्चालन गर्दै आएका छन्। यस्तै विषय अध्ययन गर्न यी कलेजमा प्रत्येक वर्ष करिब २६ हजार भन्दा बढी विद्यार्थी भर्ना हुने गरेका छन्।
'व्यवस्थापन शिक्षाले चौतर्फी अवसरको ढोका खोल्छ '
तुलसिराम रिजाल, प्रिन्सिपल, रिट्ज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट

नेपालमा व्यवस्थापन अध्ययन गरेका विद्यार्थीहरुले बैँक, वित्तिय संस्था, बिमा कम्पनी, बहुराष्ट्रिय कम्पनी आदिमा रोजगारीको अवसर पाएका छन्। सरकारी तथा गैरसरकारी निकाय देखि आफ्नै व्यवसाय सञ्चालन गर्ने विद्यार्थीहरुको लागि पनि व्यवस्थापन अर्न्तगतका विषयहरु उपयोगी रहन्छ। यसै अर्न्तगत बिएचएम अध्ययन गरेका विद्यार्थीले तारे होटलदेखि पर्यटन व्यवसायलाई लक्षित संस्थाहरुमा काम गर्ने अवसर प्राप्त गर्छन्। व्यवस्थापनका नेपाली विद्यार्थीले एयरलाइन्स, कर्पोरेट हाउसहरूमा रोजगारीको अवसर पाएका कारण यसमा रोजगारीको अवसर छ। तर पछिल्लो समय विद्यार्थीहरु बीबीए, बीएचएम अध्ययन पश्चात उच्च शिक्षा आर्जन र रोजगारिका लागि विदेश जाने गरेका छन्। नेपालमा अध्ययन गरेका विद्यार्थीले अन्तर्राष्ट्रिय रोजगार बजारमा अवसर प्राप्त गरेका छन्।
'व्यवस्थापन सर्वव्यापी विषय हो'
मनोज कुमार ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत (सिइओ), नबिल बैंक लिमिटेड

विद्यार्थीले व्यवस्थापन संकायमा भर्ना हुने भनेर निर्णय गर्नुअघि व्यवस्थापन भित्र कुन-कुन विषयको पढाइ हुन्छ? अध्ययनपश्चात विद्यार्थीको रोजगार क्षेत्र के-के हो? अवसरको स्थिति के छ भन्नेजस्ता आधारभूत विषयमा अवगत हुन जरुरी छ। व्यवस्थापन पढेर ‘ग्य्राजुएट’ भएकाहरूमा के कस्तो क्षमता हुन्छ ? भन्ने पनि विद्यार्थीले जानकारीमा राख्नु महत्वपूर्ण हुन्छ। कुनै विद्यार्थीले व्यवस्थापनमा स्नातक तह पूरा गरेपछि विद्यार्थीहरुलाई सरकारी तथा गैरसरकारी सबै तिर अवसरको ढोका खुलेको हुन्छ। विद्यार्थीहरुले स्वतन्त्र रुपमा आफ्नो इच्छा र क्षमता अनुसार अध्ययन गर्ने विषय छनोट गर्न सक्छन्।
समयको व्यवस्थापन, लगानीको व्यवस्थापन, अवसरको व्यवस्थापन, क्षमताको व्यवस्थापन गर्न निपूर्ण भएपछि व्यक्तिको सफलता पनि सँगै प्राप्त हुन्छ। त्यसकारण यस विषयको दायरा फराकिलो रहेको छ। कुनै पनि व्यावसायिक संस्था राम्रोसँग सञ्चालन हुनका लागि त्यहाँ व्यवस्थापक दक्ष हुन आवश्यक हुन्छ। त्यो दक्षता व्यवस्थापन विषयको अध्ययनपछि मात्रै प्राप्त हुन्छ। व्यवस्थापन पढेको व्यक्तिले देश चलाउँदा पनि देशका शासन व्यवस्था पनि व्यवस्थित हुन्छ।
' व्यवस्थापन विषय रोजगारीमूखी र बजार केन्द्रित विषय हो '
डा .कपिल खनाल, क्याम्पस प्रमुख, शंकरदेब क्याम्पस

नेपालमा उच्च शिक्षा अध्ययनको लागि पछिल्लो समय सबैभन्दा बढी विद्यार्थीले रोज्ने विषय व्यवस्थापन हो। नेपालको शतप्रतिशत विद्यार्थी मध्ये ४० प्रतिशत भन्दा बढी विद्यार्थी व्यवस्थापन तर्फका विषय अध्ययन गर्दछन्। पढाईसँगै रोजगारीको अवसर पनि प्रर्याप्त मात्रामा हुने भएकोले विद्यार्थीको आकर्षण बढेको अनुमान गर्न सकिन्छ। व्यापार व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न वा बैँक, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संस्था लगायतका सम्पूर्ण व्यवसाय सञ्चालनको लागि व्यवस्थापन विषय अध्ययन गरेको जनशक्ति आवश्यक पर्ने हुदाँ यस विषयको महत्व बढेको हो।
समग्र देशको जनशक्ति मध्ये प्राविधिक विषय तर्फका धेरै विद्यार्थी विदेश पलायन भएका छन् तर व्यवस्थापन तर्फ रोजगारीको अवसर नेपालमा प्रशस्त हुने भएकोले व्यवस्थापन अध्ययन गरेका विद्यार्थी नेपालमै काम गरेर बसेका छन्। नेपालमा व्यवस्थापन विषय बजार केन्द्रित विषय पनि हो। हरेक सरकारी तथा गैरसरकारी संस्थामा व्यवस्थापकको आवश्यक पर्दछ। नेपालमा अझैपनि उद्योगधन्दा व्यवसायहरुको मात्रा बढ्ने हो भने व्यवस्थापन विषयको माग पनि बढ्ने संभावना छ।