काठमाडाैँ - महावीर पुन एक चर्चित नेपाली समाजसेवी, नवप्रवर्तनकर्ता, वैज्ञानिक र शैक्षिक अभियन्ता हुन्, जसले ग्रामीण विकास, सूचना प्रविधि र विज्ञान प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुन एक प्रख्यात नेपाली समाजसेवी, शिक्षाविद् र नवप्रवर्तनकर्ता हुन्।
वि सं २०१२ सालमा म्याग्दी जिल्लाको अर्मला गाउँमा जन्मेका महावीरले बाल्यकालमा नै गाउँमा शिक्षा, स्वास्थ्य र सञ्चार सुविधाको अभाव अनुभव गर्न बाध्य थिए। तर उनका पिता ब्रिटिश गोर्खा सैनिक भएकै कारण उनले पोखरामा बसेर अध्ययन गर्ने अवसर पाएका थिए।

पोखराको अध्ययनपछि स्नातक तह अध्ययनको लागि ३१ बर्षको उमेरमा उनी हल्लाको भरमा टोफल पास गर्याे भने अमेरिका जान पाइन्छ भन्दै अमेरिकन एम्बेसिमा पुगेका थिए। अमेरिकन एम्बेसीमा गएर महावीर टोफल पढ्न १८ महिना काठमाडौँमा बसे। उनले स्नातक तहमा छात्रवृत्ति पाइन्छकी भनेर लाइब्रेरीमा भेटिएको ठेगाना जतिमा चिठी पठाएका थिए। छात्रवृत्तिको आसमा चिठी पठाउने क्रममा उनले चन्द्रमामा पहिलो चोटी पाइला टेक्ने व्यक्ती निल आर्मस्ट्रङलाई समेत चिठी लेखेका थिए।
त्यहि क्रममा १८ महिना पछि उनलाई एउटा युनिभर्सिटीले चिठी पठाएर सन् १९८९ मा महाविर उच्च शिक्षाको लागि अमेरिका पुगे। उनले अमेरिकाको नेब्रस्का युनिभर्सिटिमा स्कलरसिप सहित विज्ञान शिक्षा विषयमा स्नातक गरेका थिए। अमेरिमा अध्ययन कै बसाईमा महावीरले सन् २००१ मा शैक्षिक प्रशासनमा मास्टर डिग्री प्राप्त गरका थिए।

विदेशमा उच्च शिक्षा हासिल गरेपछि उनी नेपाल फर्किए र विकट गाउँहरूमा सूचना प्रविधिको माध्यमबाट परिवर्तन ल्याउने अभियान सुरु गरे। जसकारण सर्वप्रथम उनले शिक्षा र विकासका कार्यक्रमहरू संचालन गर्ने लक्ष्य लिइ “हिमांचल हाई स्कूल” स्थापना गरे, जसले कम्प्युटर शिक्षा र अन्य आधुनिक प्रविधि सिकाउने प्रणालीलाई आफ्नो मुख्य आकर्षण बनायो। गाउँका विद्यार्थीहरुले आधारभूत सुविधाहरु नहुँदाहुँदै, शिक्षा र प्रविधिमा पहुँच हुने अवसर पाए।
तसर्थ, सन् २००१ देखि उनले “नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट” सुरु गरे। यस परियोजनाले सोलार पावर, साना हाइड्रो जेनरेटर, वायरलेस इन्टरनेट र दूरी शिक्षाको माध्यमबाट पहाडी र हिमाली गाउँहरूमा इन्टरनेट सेवाको पहुँच पुर्यायो। इन्टरनेट र सूचना प्रविधिको माध्यमबाट विकट ठाउँलाई विश्वसँग जोड्ने काम गरेका महावीरलाई “ग्लोबल कनेक्टर” पनि भन्ने गरिन्छ।
त्यहि क्रममा उनले गाउँका बासिन्दालाई आर्थिक आयआर्जनका विधिहरूमा संलग्न गराए र व्यवसायमा प्रोत्साहन गर्ने उदेश्यले याक र खरानी खेती, जाम र चीज बनाउने, पर्यटक शिबिर सञ्चालन गर्ने जस्ता कामहरुमा संलग्न गराए। जसले गाउँका मानिसहरूलाई आत्मनिर्भर हुन प्रेरित गरेको थियो।
पछिल्लो दशकहरूमा उनले अनुसन्धान, नवप्रवर्तन, प्रविधि तथा आर्थिक विकासको पहलहरू अघि बढाउने उदेश्यसहित “राष्ट्रिय आविष्कार केन्द्र” नामक संस्था स्थापना गरे। उनले युवा आविष्कारकर्ताहरूलाई अवसर दिने, प्रयोगशालाहरू संचालन गर्ने र नयाँ अ विष्कार तथा प्रोटोटाइप उत्पादन गर्ने वातावरण तयार गर्ने मुख्य उद्देश्यले यस संस्थाको स्थापना गरिएको सर्वतत्र बताउदैँ आएका छन्।
पछिल्लो समय उनी आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’को बिक्रीका लागि देश दौडाहा गरिरहेका थिए। पुस्तक बेचेर कमाएको पैसाले वीरगन्जमा ०५९देखि बन्द अवस्थामा रहेको कृषि औजार कारखाना ब्युँताउनु थियो उनलाई। अहिले त्यो सञ्चालनमा पनि आइसक्यो। बाँकी मेसिन मर्मत र खरिदका लागि सरकारको ढोका ढकढकाए पनि उनले सहयोग पाएका थिएनन्। उनले सहयोग जुटाउन अवार्ड र मेडल पनि बिक्री गरे। जुन पुस्तक हालसम्म २ लाख १८ हजार प्रति बिक्री भइसकेको छ। उनको आत्मकथा भने पुनको अभियानलाई सघाउने हेतुले हजारौँ मानिसहरूले किनिदिए।
महावीरले जीवनमा मगसेस्से पुरस्कार, अशोका फेलोसिप, इ्रन्टरनेट हल अफ फेम, सोसल इनोभेसन अवार्ड लगायतका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेका छन्। महावीर पुनले व्यक्तिगत स्वार्थभन्दा समाज र देशको सेवा विकासलाई प्राथमिकता दिदैँ आएका छन्।
महावीर पुन हालमात्र अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका छन्। उनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेकी हुन्। पुनले आज राष्ट्रपति रामचन्द्र पाैडेलबाट सपथ लिएका हुन्। उनले ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्ने साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’ भनि लेखेका थिए।
