काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावकमा उत्साह ल्याएको छ। योसँगै अब के गर्ने? कुन विषय पढ्ने? कहाँ पढ्ने भन्ने अन्योल पनि हुने गर्छ। यतिबेला राम्रा पढाइ हुने कलेजको खोजीमा छन् अभिभावक र विद्यार्थी।
प्राप्त नतिजाले कुन विषय अध्ययन गर्न पाउने वा नपाउने वा के – कस्तो अध्ययन गर्ने भन्ने जस्ता विषयमा द्वविधामा भने आम विद्यार्थी र तीनका अभिभावकहरु हुने गरेको पाइन्छ। कक्षा १० पढ्ने विद्यार्थीहरूलाई अब के पढ्ने? भन्ने चिन्ता हुन्छ। त्यसैले उनीहरूले शिक्षक, अभिभावक र साथीहरूको सल्लाहमा विषय छनोट गर्ने गरेका छन्। त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरूलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन। एसईईसम्मको स्कुलको पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११, १२ र ए लेभलजस्तो तहमा जाँदा पढाइको स्तर केही फराकिलो हुँदै जानेछ। विद्यार्थीले विद्यालय शिक्षाभन्दा फरक आधारमा पढाइ हुने विभिन्न संकाय अन्तर्गत पर्ने विषय छनोट गरेर आफ्नो भविष्यको रुपरेखा कोर्नुपर्ने हुन्छ।
विद्यार्थीले आफ्नो क्षमता कसरि थाहा पाउने?
विद्यार्थी आफूले भविष्यमा कुन क्षेत्रमा काम गर्ने हो, सोहि अनुसारकै विषय छनोट गर्नुपर्ने हुन्छ। अध्ययन गर्दा आफनो रोजाइको क्षेत्रमा पुगि काम गर्न सकिन्छ भनि प्रशस्त जानकारी लिन आवश्यक हुन्छ। पछिल्लो समय आफ्नो मिल्ने साथी जुन कलेजमा गयो, आफू पनि त्यहीँ जाने विद्यार्थीहरुको संख्या पनि देखिन्छ। परीक्षामा नतिजा राम्रो आएकै आधारमा, आफ्ना परिवार र साथीभाइले ‘तिम्रो त ए प्लस वा ए आएको रहेछ, किन विज्ञान वा प्राविधिक विषय नपढ्ने? भन्ने जस्ता सुझावहरु पनि आउने गरेको पाइन्छ। तर अरुले भन्दैमा भन्दा पनि आफ्नो रुची अनुसार विषय छनोट गर्नुपर्छ।
कतिपय अभिभावकले पनि आफ्ना बालबालिकाको रूची र क्षमता नबुझी ‘यो विषय पढ्नुपर्छ, भविष्यको लागि राम्रो हुन्छ’ भन्ने दबाब सिर्जना गरेको पाइन्छ, जुन गलत हो। आफनो रुची र भविष्यमा पनि माग हुने विषयहरु अध्ययन गर्ने निर्णय विद्यार्थी र अभिभावकले गर्न आवश्यक हुन्छ।
कुन क्षमताका विद्यार्थीले के पढ्ने?
विद्यार्थीले आफ्नो रूचि, चाहना, क्षमता, सीप र दक्षताका आधारमा विषय छनोट गर्नुपर्छ।राम्रो ग्रेड आउनेबित्तिकै सो विद्यार्थीले विज्ञान विषय अर्थात् प्राविधिक विषय पढ्नुपर्छ र अलिक कम ग्रेड आउनेलाई कमर्स वा मानविकी पढ्नुपर्छ भन्ने सल्लाह दिनु गलत हो। अभिभावकले पनि आफ्नो बालबालिकाको क्षमता, रुचि र प्रवृत्ति के–कस्ता कुरामा छन्, त्यसबारे राम्ररी बुझ्न आवश्यक छ।
विद्यालयस्तर सकिएपछि अब के पढ्ने त? भविष्यमा के बन्ने भन्ने कुरामा विद्यालयले पनि विद्यार्थीहरुलाई केही सहयोग गर्नुपर्ने हुन्छ। शिक्षकलाई ती विद्यार्थीको रूचि क्षमता थाहा हुन्छ। सोहीअनुसार विद्यार्थी कस्तो छ र उसले कुन विषयमा राम्रो गर्न सक्छ भनेर अभिभावकलाई सहयोग गर्न सक्छन्।
कक्षा १० सम्म विद्यार्थीले निश्चित पाठ्यक्रम पढेका हुन्छन्। तर, कक्षा ११ मा पाठ्यक्रम र विषयमा विविधता हुन्छ। विभिन्न समूहबाट विषय छनोट गर्नुपर्ने भएकाले यसमा विद्यार्थीहरू अलमलिन सक्छन्। विद्यार्थीले आफ्नो लक्ष्यलाई आधार बनाएर नभई अभिभावकको दबाब, सञ्चारमाध्यमको प्रभाव,आफूले भ्रमण गरेका कलेजको भौतिक अवस्था, अध्ययन शुल्कको तुलनात्मक विश्लेषणका आधारमा मात्र विषय र विद्यालय छनोट गर्नुपर्ने सुझाव त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.तारा भुषालको रहेको छ। उनी भन्छन्,‘विद्यार्थीको आफ्नो रूचि र क्षमताका आधारमा हरेक विषय वा संकायबाट विद्यार्थीहरू सफल बन्न सक्छन्। सबै विद्यार्थीलाई विज्ञान अर्थात् प्राविधिक धार पढ्नतर्फ मात्र उत्प्रेरित गर्ने होइन कि सबै पेसा वा विषयक्षेत्रको प्रतिष्ठा उत्तिकै छ भन्ने बुझाउन सक्नुपर्यो।
कुनै विषयलाई राम्रो अथवा नराम्रोभन्दा कसरी अध्ययन गर्ने अनि कसरी उच्च सफलता हात पार्ने भन्ने कुरालाई मध्यनजर गर्नुपर्ने आजको आवश्यकता हो।’ विद्यार्थीलाई एसईई पछिको अध्ययन, अध्ययन पश्चातको अवसर र विश्वविद्यालयको ढोका खोल्ने तह भएकाले पनि आफ्नो रुचि र क्षमतालाई हेरेर मात्र विषय र विद्यालय रोज्नुपर्ने सुझाव विज्ञको छ।
एसईई पछि विद्यालय छनोट गर्र्ने सवालमा शिक्षाविद् डा.रुद्रराज पाण्डेका यस्ता छन् १० टिप्स

१. विद्यार्थीहरुलाई सकेसम्म बिहानी कक्षाका लागि प्रोत्साहन गर्नुहुँदैन। दिनभरी पढ्न अथवा आराम हुन्छ भनी आफना छोराछारीलाई बिहानी कक्षामा भर्ना गर्दै हुनुहुन्छ भने यसले पछि समस्या निम्त्याउन सक्छ। बिहान पढन् गयो, पढाई सकिएपछि दिनभरी खाली समय हुने भएकाले विद्यार्र्थीहरु बरालिने समस्या आउने धेरै सम्भावना हुने भएकाले दिउँसोको समयमा विद्यालयमा पढ्नु उपयुक्त हुन्छ। त्यसैले दिउँसो कक्षा हुने विद्यालय रोज्नुहोला।
२. विद्यालयमा विभिन्न विषयगत प्रयोगशालाहरु छन् कि छैनन् हेर्न जरुरी छ। विज्ञान विषय पढ्नेहरुका लागि विज्ञान प्रयोगशालासँगै कम्प्युटर प्रयोगशाला आदिको व्यवस्था विद्यालयले कस्तो गरेको छ, प्रयोगात्मक शिक्षणलाई विद्यालयले कति प्राथामिकता दिएको छ भन्ने कुरा बुझ्न अभिभावक र विद्यार्थीले जरुरी हुन्छ।
३. काठमाडौँ उपत्यकामा अधिकांश विद्यालय तथा कलेजहरुमा पार्टटाइम शिक्षकहरु राखिएका हुन्छन्। तर, यस्ता शिक्षकहरु विद्यार्थी र विद्यालय प्रति जिम्मेवार हुन सक्दैनन्। एकै दिनमा अन्य विद्यालयहरुमा समेत उनीहरुले पढाउने भएकाले कुन विद्यालय र कुन विद्यार्थी कस्तो हो? भनि उनीहरुले पहिचान गर्ने अवस्था नआउने भएकाले विद्यालय छनोट गर्दा त्यस विद्यालयमा कति पार्टटाईम शिक्षक वा फुलटाईम शिक्षक छन् बुझ्न आवश्यक हुन्छ। सकेसम्म पार्टटाईम शिक्षकहरु धेरै भएको वा फुलटाईम शिक्षक नभएको विद्यालयमा अभिभावकले आप्mना बालबालिका भर्ना नगर्नु राम्रो हुन्छ।
४. विद्यार्थीहरुका लागि भाषा सबैभन्दा राम्रो हुन आवश्यक हुन्छ। अंग्रेजी, नेपाली वा दुबै भाषमा दक्ष शिक्षकहरु भएमा विद्यार्थीले समेत आफ्नो भाषा राम्रो बनाउने अवसर प्राप्त गर्छन्। भाषागत दक्षता भएका शिक्षकहरु विद्यालयका निम्ति अनिवार्य आवश्यकता हुन्। योसँगै विद्यालयका थप पाठ्यसामाग्रीहरु पढाउने व्यवस्था गरेका छन् वा छैनन् स्पष्ट हुन जरुरी छ। अध्ययनका लागि राम्रो पुस्तकालयको आवश्यकता पनि हुन्छ।
५. आर्टिफिसियल ईन्टलिजेन्स(एआई)को प्रयोगले व्यापकता पाएको छ। विद्यालयहरुले यसको प्रयोगको नीति विद्यार्थीहरुमा कस्तो तरिकाले लागू गरेका छन्। विद्यालयहरुले आफनो एआई नीति लागुगरेका छन् वा छैनन् हेर्न आवश्यक हुन्छ। विद्यार्थीहरुलाई एआईको सदुपयोग गराउनेगरि कसरी अध्ययापन गराइन्छ, यसको चिटिङबाट जोगाउने गरि विद्यार्थीलाई कसरी जोगाउन सकिन्छ भनि विद्यालयलाई अभिभावक वा विद्यार्थीले प्रश्न सोधेर निश्चिन्त भएपछि मात्र सो विद्यालय छनोट गर्न आवश्यक हुन्छ।
६. विद्यार्थीहरुका लागि गृहकार्य महत्वपुर्ण हुने गर्छ। पिएचडी पढदा सम्म पनि गृहकार्य आवश्यक हुन्छ।तर पछिल्लो समय गृहकार्य दिनुहुदैन भनि नदिने गरेको पनि देखिएको छ। नियमित रुपमा गृहकार्य दिने र यसको परिक्षण गर्ने परिपाटी भएको विद्यालय विद्यार्थीहरुका लागि उपयुक्त हुन्छ। त्यसैले नियमित रुपमा विद्यार्थीलाई गृहकार्य दिने र यसको नियमित परिक्षण गर्ने विद्यालय रोज्न आवश्यक हुन्छ।
७. विद्यालयले समय समयमा विद्यार्थीको परीक्षा लिन आवश्यक हुन्छ। एकै पटक अन्तिम परीक्षा लिँदा विद्यार्थीहरुको परीक्षण गर्न सकिदैन। युनिट अनुसार परीक्षा नियमित लिने विद्यालय छनोट गर्नुपर्छ।
८. विद्यालयमा ईसिए अर्थात् एस्ट्रा करिकुलर एक्टिभिटी कत्तिको गराउने गरिएको छ, विद्यार्थी क्लबहरु गठन गर्ने गरिएको छ वा छैन्, कोडिङ सिकाउने र प्रतिस्पर्दा गराउने गरिएको छ वा छैन बुझ्न आवश्यक छ। यस्ता क्रियाकलापहरु विद्यार्थीका लागि आवश्यक हुन्छ।
९. विद्यालय छनोट गर्दा सरसफाइको पक्षलाई पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ। शौचालयको सफाई कस्तो छ, खानेपानी आदिको प्रबन्ध कसरी गरिएको छ? चमेना गृहको अवस्था कस्तो छ, सबै पक्षको ध्यान दिन जरुरी छ।
१०. विद्यालय परिसर कत्तिको वातावरणमैत्री छ, हरियालीको व्यवस्था आदिलाई पनि विद्यालय छनोटको आधार बनाउन आवश्यक हुन्छ। राम्रो वातावरणमा मात्र विद्यार्थीले सिक्ने अवस्था आउने भएकाले सानै ठाँउ भएपनि वातावरणमैत्री उन्मुख विद्यालय छनोट गर्नु उपयुक्त हुन्छ।
अन्त्यमा, विद्यालय महँगो हुदैमा राम्रो र सस्तो हुँदैमा नराम्रो हुन्छ भन्ने होइन। अध्ययनका लागि सरकारी र निजी विद्यालय दुवै राम्रा विद्यालय हुन। विद्यार्थी र अभिभावकले सहि विद्यालय छनोट गर्न आवश्यक हुन्छ।