काठमाडौँ- नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (FECE Nepal) ले शैक्षिक परामर्श क्षेत्रमा भइरहेको अनुगमन, छापा तथा कानुनी कारबाहीका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने प्रयासप्रति असन्तुष्टि व्यक्त गरेको हो।
महासंघले नेपालमा शैक्षिक परामर्श व्यवसायले विद्यार्थीलाई विदेश अध्ययनका लागि सत्य, तथ्यपरक तथा वैज्ञानिक परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। यस क्षेत्रले नेपालको शिक्षा, रोजगारी, विदेशी मुद्रा आर्जन तथा ज्ञान–सीप हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको पनि विज्ञप्तिमा उल्लेख छ।
महासंघका अनुसार विगत ३० वर्षदेखि विभिन्न संघ–संस्थाले व्यवसायलाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाउन निरन्तर पहल गर्दै आएका छन्। साथै शिक्षा मन्त्रालय, विभिन्न देशका कूटनीतिक नियोग, विद्यार्थी संगठन तथा अभिभावकहरूसँग सहकार्य गर्दै आएको जनाएको छ।
विज्ञप्तिमा शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा “शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३” अनुसार दर्ता तथा स्वीकृति प्राप्त संस्थाहरू कानुनी रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ। महासंघले गैरकानुनी रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही गर्न सरकारलाई समर्थन जनाउँदै, कानुनी प्रक्रिया पारदर्शी र तथ्यमा आधारित हुनुपर्ने माग गरेको छ।
महासंघले व्यवसायीहरूलाई अनावश्यक दुःख दिने, मानसिक दबाब सिर्जना गर्ने तथा व्यवसायिक प्रतिष्ठामाथि आँच पुर्याउने गतिविधि नगर्न पनि आग्रह गरेको छ। विद्यार्थी तथा अभिभावकलाई सही सूचना र विश्वसनीय सेवा प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, कुनै नीति, प्रशासनिक वा व्यवहारिक समस्या उत्पन्न भए सम्बन्धित संघ र महासंघसँग समन्वय गरेर समाधान खोज्न सरकारलाई आग्रह गरिएको छ। महासंघले कानुन विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाही गर्न समर्थन जनाउँदै सम्पूर्ण व्यवसायीलाई एकै दृष्टिले नहेर्न अनुरोध गरेको छ।