काठमाडाैँ- नेपालको शैक्षिक गुणस्तरको सवालमा प्रश्न उठाउँदै विद्यार्थी लाखौँको संख्यामा विदेशमा शैक्षिक गन्तव्यमा अध्ययनका लागि जाने गरेका छन्। विद्यार्थी नेपालको शैक्षिक गुणस्तर भन्दा पनि अध्ययन पश्चातका अवसरको सुनिश्चितताका विषयमा प्रश्न उठाउँदै विदेशिने गरेकाले यस तर्फ सरकारले ध्यान दिनुपर्नेमा विज्ञले सुझाब दिएका छन्।
नेपाल दक्षिण एसियामै शिक्षाको केन्द्र बन्न सक्ने संभावना भएकाले यहाँका विद्यार्थी पढ्नकै लागि विदेश जानुपर्ने अवस्था नभएको बुझाइ सरोकारवालाको रहेको छ।
फेयर एक्सप्रेस मासिकले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको (ईडियू नक १.०) कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाललाई शैक्षिक हब बनाउन सकिने र नेपालमै गुणस्तरीय शिक्षा संभव भएको बताए। सरोकारवालाले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सवालमा रायसल्लाह दिएका छन्।
प्राविधिक शिक्षा आर्जन गरेका होस् वा नेपालमै उच्च ओहोदामा रहेका व्यक्तीका सन्तान पनि आफ्नो भविष्य सुनिश्चित गर्न विदेशिँदा ‘व्रेन ड्रेन’ सँगै राज्यले उनीहरू माथि गरेको लगानीको प्रतिफल शून्य भएको अवस्था छ। विद्यार्थी पढाइ भन्दा पनि (स्थाइ बसोबास) पिआरको खोजिमा विदेशीने गरेका छन्। ‘पढ्ने त बहाना मात्रै हो। कोही पैसा कमाउन जान्छन्। न्युन संख्यामा मात्रै उच्च शिक्षा अध्ययनका लागि जाने गरेका छन्।’
नेपालमा अध्यापन नहुने विषयमा विद्यार्थी विदेशीनुलाई स्वभाविक रुपमा मानिएपनि राज्यले शिक्षा स्वास्थ्यको ग्यारेन्टी र रोजगारीको अवसरको सुनिश्चितता नगरेसम्म विद्यार्थी विदेशीने दरमा कमी नआउने सरोकारवालाको बुझाइ छ।
प्रत्येक वर्ष अर्बौ नेपाली रकम विदेशी शिक्षाको नाममा बाहिरिने गरेको छ। एक आर्थिक बर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले विदेशमा लगेको रमक ६० अर्ब भन्दा माथी छ।विद्यार्थीले क्रेडिट ट्रान्सफरको रुपमा अष्ट्रेलिया, युके, अमेरिका, फ्रान्स, न्यूजील्याण्डलगायतका देशमा सिधै व्याचलर दोस्रो वर्षमा अध्ययन गर्न जान पाउछन्। नेपालबाट विदेशका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्ने विद्यार्थी पनि छन्। जसले गर्दा नेपालमा भर्ना भएका विद्यार्थीले पनि विदेशी शिक्षणसँस्था रोज्दा नेपाली शिक्षण संस्थामा ‘ड्रपआउट रेट’ पनि बढ्दो छ।
अहिले आइटी,म्यानेजमेन्ट,लिबरल आर्टस्, इन्जिनियरिङका विधामा विद्यार्थी अध्ययन गर्न जाने क्रम बढ्दो छ। यसलाई रोक्न र नेपालमै पढ्ने वातावरण बनाउन सरोकारवालाले सरकारी तवरबाटै ठोस योजना तर्जुमा गर्न सुझाएका छन्।

कार्यक्रममा केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले नेपाललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने आधार सहितको प्रस्तुतिकरण पेस गरेका थिए।
नेपाल शैक्षिक परामर्श संघ ईक्यानको अध्यक्ष शेषराज भट्टराईले नेपाल सरकारले शिक्षा नीति प्रक्रियालाई विशेष ध्यान दिइ शैक्षिक निती निर्माण परिमार्जन गर्न सकियो भने नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए। उनले नेपालबाट गएको विद्यार्थी संख्या हेरेर आत्तिनु भन्दा नेपालमा भएको विद्यार्थीलाइ रोजगारको अवसर प्रदान गर्न सकियो भने बाहिरिएका विद्यार्थीलाई नेपाल भित्राउन सकिने बताए।
यस्तै विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयका सम्पूर्ण जानकारी दिने काम पनि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए।
आइप्यानका अध्यक्ष लक्ष्मण केसीले विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपालमा ल्याउन अहिले उपयुक्त वातावरण सिर्जना भएको बताए। उनले देशमा धेरै पहिलेदेखि नै नेपाललाई ‘शैक्षिक हब’ बनाउने विषय अगाडी बडेको तर गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराको ग्यारेन्टी गर्न नसकेको बताए। हाल नेपालमा अमेरिका, वेलायत, मलेसिया, थाईल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयहरूको सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको संख्या पनि बढेको केसीले बताए।
’नेपालमा विश्वस्तरका विश्वविद्यालयको डिग्री प्राप्त गर्ने अवसर पाउँदा विभिन्न देशबाट विद्यार्थी हाम्रो देशमा अध्ययनका लागि आउन लालायित हुने हामीलाई विश्वास छ।’अध्यक्ष लक्ष्मण केसी भन्छन्, ’नेपालमा आएर सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनुका साथ–साथै हाम्रो देशको हावा पानी, भौगोलिक सुन्दरता, समाजिक सद्भाव, कुनै पनि धर्म वा जातिका मान्छेलाई भेद्भाव नगर्ने हाम्रो संस्कार आदिको कारण पनि नेपाल विदेशी विद्यार्थीहरूको रोजाइमा पर्नेछ।’
शिक्षाबिद् विद्यानाथ कोइरालाले प्रकृतिलाई क्रितिम तरिकाले सिङ्गार्न सक्यो भने नेपाललाई विषेश शेक्षिक हब बनाउन सकिने बताए। उनी भन्छन्, विद्यार्थी विदेश जान्छ भनेर पिर गर्नेले नेपाल ल्याउने निति पनि बनाउनुपर्छ। नेपालको विद्यार्थी विदेश जानू समस्या हैन सम्भबना हो, उनिहरुले विदेशी उच्च शिक्षा तथा सिप नेपालमा भित्राउँछन्। कोइराला भन्छन्,’नेपालमा बाहिरको विद्यार्थीहरू भित्राउन सबै शैक्षिक संघसंस्थाको उपस्थित र सहमतिमा कार्य योजना बनाउन जरुरी छ।’
‘सबै सरोकारवालालाई विद्यार्थी विदेश गयो भन्ने चिन्ता छ तर कसरी रोक्न सकिन्छ भन्ने समाधानको उपायलाई चै पाखा लगाउछन्।’ हामी उदाहरणको लागि यसरी हेरौँ कुनै कोठा अध्यारो छ भनेर देख्नेले अध्यारो छ नै भन्ने होइन उज्यालो कसरी बनाउन सकिन्छ भनेर समाधानको उपायहरू बताईदिने हो ’ उनले भने।
नेपाल शैक्षिक परामर्श महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाल शैक्षिक परामर्श संघहरूलाई अपराधीको नजरले हेर्न बन्द गर्नुपर्ने बताए। परामर्श दातासँग सहकार्य गरि नेपाली विद्यार्थीहरु विदेश गहिरहेका छन् त्यो बारे खोज गरौँ बरालले भने,’ महासंघले विद्यार्थीहरु पठाउन मात्र हौँसला दिने गरेको छैन रोक्ने अवसर पनि देखाईरहेको छ त्यो पनि हेरौँ।’ नेपाल शैक्षिक परामर्श ऐन बनाउन जरूरी रहेको बताए।
हिसानका अध्यक्ष रमेश शिलवालले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाए मात्र नेपाललाई एजुकेशज हब बनाउन सकिने बताए। ‘विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ, तर उच्च शिक्षामा विदेश जाने विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने। विश्वविद्यालय सुधार गरेरमात्रै विदेश जाने विद्यार्थी र पैसा रोकी नेपालमा भित्राउन सकिन्छ। ‘आंगिक, सामुदायिक र निजी क्षेत्रको भूमिका तथा योगदानलाई सशक्त बनाउनुपर्छ, त्यति गर्न सके स्वदेशीमात्र होइन, विदेशी विद्यार्थी ल्याएर शैक्षिक हब बनाउन सकिन्छ।’
‘सरकारले कम्तीमा स्नातक तहपछि मात्रै अध्ययनका लागि विदेश जान पाउने नीति ल्याउनु पर्दछ। छात्रवृत्तिमा पढ्न जान दिनुपर्छ। नेपालमा नभएका विषयमा मात्रै विदेश पढ्न जान दिनुपर्छ, त्यसो गरे नेपाली विद्यार्थीलाई रोकी विदेशी विद्यार्थीको ध्यानकार्षण गराउन सकिन्छ,’ उनले भने।
‘निजी क्षेत्र नेपाललाई शैक्षिक हब बनाउन तयार छ। लगानीको संरक्षण, फैलावट गरेर गुणस्तरीय शिक्षा दिन तत्पर छौँ, तर सरकारले भूमिका दिनुपर्छ, ऐन कानुन सहज हुनुपर्छ। ‘शिक्षा ऐन आउन सकेको छैन, निष्कर्षमा पुग्न सकेको छैन, सबै सरोकारवालाको सुझावमा विद्यार्थी, अभिभावक, समुदाय र निजी क्षेत्र मैत्री शिक्षा ऐन चाहिन्छ,’ उनले भने, ’त्यो गर्न सके शिक्षामा विदेशी लगानी भित्र्याउन सकिन्छ’। छिटोभन्दा पनि राम्रो शिक्षा ऐन आवश्यक रहेको उनको भनाइ थियो।