काठमाडाैँ - इन्जिनियरिङ शिक्षा नेपाली विद्यार्थीको रोजाइमा पर्ने विषय हो। प्रत्येक वर्ष करिब दश हजार नेपाली विद्यार्थीले स्वदेशी तथा विदेशी शिक्षणसंस्थामा इन्जिनियरिङ शिक्षा आर्जन गर्ने गरेको तथ्याङ्क छ। पछिल्लो समय नेपालमै विद्यार्थीले २२ प्रकारका इन्जिनियरिङ तर्फका विषय अध्ययन गर्न पाउने नेपाल इन्जिनियरिङ परिषद् (एनईसी) ले जनाएको छ।
नेपालमा रहेका ९ वटा विश्वविद्यालयका ५८ वटा संस्थान- कलेजमा १२ हजार ७५९ सिट निर्धारण गरिएको छ। त्यसमध्ये करिब ७ हजार विद्यार्थी मात्र भर्ना हुने गरेको तथ्यांक छ। नेपालमा विशेष गरेर कम्प्युटर, सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, एग्रिकल्चर, अटोमोबाइल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन, सफ्टवेयर, मेकानिकल, हाइड्रोपावर इन्डस्ट्रियल, एरोस्पेस, जियोमेटिक्स, केमिकल, बायोमेडिकल इन्जिनियरिङ विषय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
इन्जिनियरिङ परिषद्ले यस व्यवसायलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन पहल गर्दै आएको छ। परिषद्ले इन्जिनियरिङ शिक्षातर्फ विश्वविद्यालयले दिने सम्बन्धन र पठनपाठनको क्रियाकलापलाई अनुगमन र नियमन गर्ने काम गरेको छ। इन्जिनियरिङ शिक्षाको अन्तर्राष्ट्रिय मान्यतालाई बढाउन परिषद्ले अन्तर्राष्ट्रिय फोरममा पहल गर्दै नेपालको इन्जिनियरिङ शिक्षालाई वासिङटन एकर्डमा मेम्बर बनाएर नेपालको शिक्षालाई विश्वभर मान्यता दिने पहल थालेको छ।
इन्जिनियरिङ पेशा र शिक्षालाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन नियमन गर्ने उद्देश्यले इन्जिनियरिङ काउन्सिलको स्थापनागरिएको र यसले नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा जोड दिदैँ आएको काउन्सिलका अध्यक्ष प्रा.डा.पदमबहादुर शाहीले बताए। उनले विश्वविद्यालयले बनाउने कोर्षको पाठ्यक्रम र तोक्ने शुल्कमा विश्वविद्यालयहरु स्वतन्त्र हुनेतर विषय र पेशालाई बैज्ञानिक रुपमा सञ्चालन गर्ने सवालमा काउन्सिलले जोड दिने गरेको बताए।
परिषद्ले शैक्षिक अवधि पश्चात् कानुनि प्रकिया पूरा गरी लाईसेन्स प्रदान गर्दै आएको छ। नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायतमा इन्जिनियरिङ तर्फका कोर्सहरु सञ्चालन भइरहेको छ।
नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर उत्कृष्ट रहेको इन्जिनियरिङ कलेजहरूको छातासंगठन एकोनका अध्यक्ष एंव काठमाडौँ इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा.हिरेन्द्रमान प्रधानले बताए। नेपालमै इन्जिनियरिङ अध्ययन गर्दानेपालको व्यावसायिक र पेसागत वातावरण बुझ्न सजिलो हुने र यसवाट फिल्डमा काम गर्न सजिलो हुने उनको भनाइ छ।‘नेपालमा अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न नसकेको कारण अहिले पनि ठूलो संख्यामा इन्जिनियरिङ स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी वैदेशिक रोजगारीमा गएका छन्’,उनले भने।
यस्तै नेपालको विश्वविद्यालय शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म विद्यार्थीलाई भर्ना गरेपनि टिकाउन नसकिने एकोनका पूर्व अध्यक्ष लक्ष्मण पोख्रेल बताउँछन्। उनका अनुसार नेपालमा इन्जिनियरिङ शिक्षा तर्फ२२ वटा विषय अध्ययन हुने भएकोले इन्जिनियरिङ पढ्नको लागि विद्यार्थी विदेश जान नपर्ने बताए।
कुन विषयमा कति सिट ?
हाल काउन्सिलले सिभिल इन्जिनियरिङ तर्फ ५ हजार २८ सिट संख्या निर्धारण गरेको छ। इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ६७२, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका लागि २८८, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङका लागि ७२०, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङका लागि ३४६ र मेकानिकल इन्जिनियरिङका लागि ३६० सिट छुट्टाइएको छ।
त्यसैगरि केमिकल इन्जिनियरिङमा ७८, कम्प्युटर इन्जिनियरिङमा २ हजार ५४८, इन्भ्यारोमेन्टल इन्जिनियरिङका लागि ३५, एग्रिकल्चर इन्जिनियरिङका लागि ४८, आर्किटेक्चर तर्फ ८६२ सिट संख्या कायम गरिएको छ। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ३४८, इन्जिनियरिङतर्फ १४४, सफ्टवेयर इन्जिनियरिङ तर्फ २४०, बीईआईटीमा ५७६, इन्डस्ट्रियल इन्जिनियरिङ तर्फ ४८, जियोमेटिक्स इन्जिनियरिङ तर्फ १५६, सिभिल एन्ड रुलर इन्जिनियरिङमा ९६ सिट संख्या निर्धारण गरिएको छ।
यसैगरी अटोमोबाइल इन्जिनियरिङमा ९६, एरोस्पेस इन्जिनियरिङतर्फ ४८, हाइड्रोपावर इन्जिनियरिङतर्फ ४८, माईनीङ इन्जिनियरिङतर्फ ३० गरी नेपालभर १२ हजार ७५९ सिट संख्या कायम गरिएको छ। नेपालमा रहेका ५८ वटा इन्जिनियरिङ क्याम्पसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ३० वटा सञ्चालनमा छन्।
रोजाइका विषय
पछिल्लो समय कम्प्युटर इन्जिनियरिङ तर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। इन्जिनियरिङ पेसा मध्ये सबैभन्दा बढी आकर्षणको केन्द्रमा रहेको सिभिल इन्जिनियरिङ तर्फ पनि विद्यार्थीको चार्म छ। आर्किटेक्चर र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा पनि उत्तिकै प्रतिस्पर्धा छ। मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स, एग्रिकल्चर, बायोमेडिकल, सफ्टवयर, जियोमेटिक्स विषय पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
नेपालमा अटोमोबाइल, एरोस्पेस, पेट्रोलियम, मेकाट्रोनिक्स, बिटेक नोवेल आर्किटेक्चर एन्ड सिप बिल्डिङ, ब्याचरर्स अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनरी जस्ता विषय अध्ययनका लागि अनुमति प्राप्त भैसकेको छ। नेपाल इञ्जिनियरिङ काउन्सिलमा ६४ हजारभन्दा बढी इन्जिनियरहरुदर्ता भएका छन्।
कम्प्युटर इन्जिनियरिङ
नेपालमा कम्प्युटर ईन्जिनियरिङ विषय त्रिभुवन, काठमाडाैँ, पोखरा, काठमाडौँ, पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा गरी २ हजार ५४८ सिट संख्या निर्धारण गरिएको छ। स्नातक तहको कम्प्युटर इन्जिनियरिङ कोर्स चार वर्ष ८ वटा सेमेस्टरमा पढाइ हुन्छ। कक्षा ११ र १२ मा विज्ञान विषय पढेकोर न्युनतम जीपीए २.० ल्याएको विद्यार्थी कम्प्युटर ईन्जिनियरिङ विषय अध्ययन गर्न पाउँछन्। यस विषय अध्ययनको लागी त्रिविमा प्रवेश परीक्षा उत्तीर्ण गरेकाले मात्र अध्ययन गर्न पाउछन्।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा सिट सीमित हुने भएकाले अध्ययनका लागि कडा प्रतिस्पर्धा हुने गरेको छ। यो कोर्स पढाइ हुने त्रिविका १४ कलेजमध्ये ४ वटा सरकारी र १० वटा निजी रहेका छन्।
सिभिल इन्जिनियरिङ
नेपालमा सिभिल इन्जिनियरिङ विषय त्रिभुवन, काठमाडौँ, पूर्वाञ्चल, मध्यपश्चिम, पोखरा विश्वविद्यालय लगायत विभिन्न संस्थाहरूमा पढाइ हुन्छ। यो विषय अध्ययनको लागि कक्षा १२ मा विज्ञान विषय अध्ययन गरेको हुनुपर्छ। सिभिल ईन्जिनियरिङ पूर्वाधार विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने विषय हो। सिभिल इन्जिनियरले पुल, सडक, घर, हाइड्रो पावरलगायतका भौतिक संचना निर्माणको काम गर्छन्।
सिभिल इन्जिनियरिङ स्नातक तहको चार वर्से कोर्स हो। जसमा आठ वटा सेमेस्टर हुन्छ।सबै विश्वविद्यालयले क्याम्पसहरुलाई ४८ जनाको कोटा दिएको छ। तर, केही कलेजहरुको भौतिक संरचना र क्षमताको आधारमा कोटा थपघट गर्ने गर्दछन्। सरकारी कार्यालय, हाइड्रोपावर,भू–प्राविधिक,इन्भाइरोमेन्ट,सिँचाइ,घर निर्माण,पुल,सडक,यातायात,सर्भे डिजाइन, योजनाकार, परामर्शदाता आदि यसका अवसरका क्षेत्रहरु हुन्।
आर्किटेक्चर इन्जिनियरिङ
नेपालमा आर्किटेक्चर इन्जिनियरिङकोक्षेत्र वृहत बन्दै गएको छ। विभिन्न शैक्षिक संस्थाहरूले यस क्षेत्रसँग सम्बन्धित पाठ्यक्रम र कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। त्रिभुवन,काठमाडौँ,पोखरा, पूर्वाञ्चल लगायतका विश्वविद्यालयहरूले ब्याचलर अफ आर्किटेक्चर विषय अध्यापन हुन्छ।
यस विषयअन्तर्गत भवन तथा संरचनाहरूको डिजाइन, योजना, निर्माण र सञ्चालनको सम्पूर्ण प्रक्रिया अध्ययन गरिन्छ। आर्किटेक्चर इन्जिनियरहरूले भवनको सौन्दर्य, कार्यक्षमता, संरचनागत मजबुती, वातावरणीय प्रभाव, ऊर्जाको उपयोग तथा मानवमैत्री विषय अन्र्तगत विशेष ध्यान दिनुपर्छ। यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरूले स्ट्रक्चरल डिजाइन, भवन सेवाहरू, सामग्री विज्ञान, कम्प्युटर एडेड डिजाइन र ग्रीन बिल्डिङ प्रविधिहरूका बारेमा ज्ञान प्राप्त गर्छन्।
मेकानिकल इन्जिनियरिङ
मेकानिकल इन्जिनियरिङ सबैभन्दा फराकिलो क्षेत्र भएको स्नातक तहको चार वर्षे कोर्स हो।मेकानिकल इन्जिनियरिङमा विभिन्न प्रकारका मेसिन, उपकरण, मोटर, इञ्जिन, ताप र ऊर्जासम्बन्धी प्रणालीहरू, औद्योगिक मेसिनरी, तथा अटोमोबाइल र एरोस्पेस क्षेत्रका प्रविधिहरूको अध्ययन गरिन्छ। मेकानिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरूले थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, मेशिन डिजाइन, म्याटेरियल साइन्स, म्यान्युफ्याक्चरिङ प्रोसेस, र कम्प्युटर एडेड डिजाइन जस्ता विषयहरूमा ज्ञान हासिल गर्छन्।
नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, पोखरार अन्य निजी तथा सरकारी कलेजमामेकानिकल इन्जिनियरिङ विषय अध्यापन हुन्छ। मेकानिकल इन्जिनियरिङ विषय अध्ययनका लागि कक्षा १२ मा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय सहित सबै विषयमा न्यूनतम सि ग्रेड प्राप्त गरेको हुनुपर्दछ।
बायोमेडिकल इन्जिनियरिङ
यस विषयअन्तर्गत मानिसको स्वास्थ्य सुधार गर्न प्रयोग हुने उपकरण, प्रविधि, प्रणाली तथा कृत्रिम अंगहरूको डिजाइन, विकास, परीक्षण र मर्मतसम्भार सम्बन्धी अध्ययन गरिन्छ। बायोमेडिकल इन्जिनियरहरूले मेडिकल इमेजिङ (जस्तै– एक्स–रे, एमआरआई, सिटी स्क्यान), जीवनरक्षक उपकरणहरू (जस्तै : पेसमेकर, डायलाइसिस मेसिन), कृत्रिम अंग, जैविक संवेदन उपकरणहरू तथा अस्पतालमा प्रयोग हुने अन्य प्रविधिहरू विकास गर्छन्। यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरूले मानव शरीरको संरचना र कार्यप्रणालीका साथै इलेक्ट्रोनिक्स, मेकानिक्स, कम्प्युटर प्रणाली, सामग्री विज्ञान र सिग्नल प्रोसेसिङ जस्ता विषयहरूमा ज्ञान हासिल गर्छन्।
नेपालमा बायोमेडिकल इन्जिनियरिङ विषय पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको नेशनल इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी कुपण्डोलमा अध्यापन हुन्छ। यो विषय अध्ययनको लागि कक्षा १२ मा विज्ञान, जीवविज्ञान, भौतिकशास्त्र र गणितसहित उत्तीर्ण भएको हुनुपर्छ। नेपालमा बायोमेडिकल इन्जिनियरहरूको माग अस्पताल, अनुसन्धान संस्था, मेडिकल उपकरण कम्पनीहरू तथा हेल्थ टेक्नोलोजी कम्पनिमा हुन्छ। चिकित्सा विज्ञानसँग सम्बन्धित जुनसुकै इन्जिनियरिङ कार्य बायोमेडिकल इन्जिनियरिङ अन्तर्गत पर्छ। बायोमेडिकल इन्जिनियरिङ विषय नेपालमा मात्र होइन, विश्वभर नयाँ विषयको रूपमा विकास हुँदै गएको छ। नेपालभर अत्याधुनिक अस्पतालहरू बढ्दै गएका कारण यो क्षेत्रमा दक्ष जनशक्तिको महत्व बढ्दै गएको हो।
'नेपाललाई इन्जिनियरिङ शिक्षाको हब बनाउन सकिन्छ '

लक्ष्मण पोखरेल, पूर्व अध्यक्ष, एकोन
नेपाललाई शैक्षिक हब बनाउने विषयमा आवाज उठेपनि यस विषयमा सरकारले नीति बनाउन नसक्दा विदेशी विद्यार्थी भर्ना गर्ने र नेपाली विद्यार्थीलाई नेपालमा टिकाउन सक्ने अवस्था जटिल छ। विश्वविद्यालय शिक्षा तर्फ विद्यार्थी राजनीतिको अन्त्य नभएसम्म विद्यार्थी भर्ना गरेपनि टिकाउन सकिने अवस्था छैन।नेपालमा विदेशी विद्यार्थीलाई पढ्न आउने वातावरण बनाउनुपर्छ।इन्जिनियरिङ, मेडिकल र आईटी लगायतका विषय नै पढ्नको लागि विद्यार्थी विदेश जानुपर्दैन। आज भन्दा २० वर्ष अगाडी देखी नै विद्यार्थीहरु अध्ययनको लागि अन्य मुलुकमा जाने प्रचलन छ।
नेपालमा ५८ भन्दा बढी इन्जिनियरिङ कलेजहरु नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका छन्। जसमध्ये ४० भन्दा बढी संस्थाहरुले बाहिरका संस्थाहरुसँग आवद्ध रहेर काम गर्दै आएका छन्। विद्यार्थी बाहिर जानु भनेको नेपालको विश्वविद्यालय शैक्षिक गुणस्तर उच्च नहुनु हो। विदेशी विद्यालयमा सहज रुपमा भर्ना भइ विदेशी विद्यार्थीसँग नै प्रतिस्पर्धी रुपमा पढ्न र काम गर्न सक्षम हुनु नेपाली विश्वविद्यालयको गुणस्तर झल्किनु हो। त्यस्तै प्रत्येक वर्ष नेपाल इन्जिनियरिङ काउन्सिलले लिने लाइसेन्स परीक्षामा नेपालका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले प्राप्त गरेका प्राप्ताङ्कबाट पनि विश्वविद्यालयको शैक्षिक गुणस्तर देख्न सकिन्छ।
'नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा संभव छ '

प्रा.हिरेन्द्रमान प्रधान, अध्यक्ष एकोन एंव प्रिन्सिपल काठमाडौँ इन्जिनियरिङ कलेज
नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर राम्रो छ। नेपाल पढ्दा व्यावसायिक र पेसागत वातावरण बुझ्न सकिन्छ। नेपालमा अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न नसकेको कारण अहिले ठूलो संख्यामा इन्जिनियरिङ स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी वैदेशिक रोजगारीमा गएको अवस्था छ। विद्यार्थीहरू पनि लहलहैमा लागेर नेपालमा पढेर के हुन्छ, भन्दै विदेश गएको अवस्था पनि छ। नेपालमा विद्यार्थीले अध्ययन पश्चात रोजगारीको अवसरको सुनिश्चितता गर्न नसक्दा विद्यार्थीले विदेशका शैक्षिक गन्तव्य रोजेको अवस्था पनि छ।
सरकारले युवाका लागि रोजगार, अवसर तथा आम्दानीको स्रोतबारे योजना ल्याउन नसक्दा त्यसको मारमा इन्जिनियरिङ शिक्षा पनि परेको छ। राज्यको शिक्षा नीति स्पष्ट हुनुपर्छ। शिक्षालाई राजनीतिक गतिविधीबाट मुक्त बनाइ, अर्थतन्त्रमा सुधार गर्दै गुणस्तरीय शिक्षा दिन सके मात्र नेपालको इन्जिनियरिङ शिक्षालाई व्यवस्थित बनाउन सकिन्छ। अहिले शिक्षालाई विश्वजारमा प्रतिस्पर्धी बनाएर दक्ष जनशक्ती उत्पादनमा जोड दिनुपर्छ।
नेपाल इन्जिनियरिङ परिषदद्बारा मान्यता प्राप्त इन्जिनियरिङ कलेज (स्नातक) र सिट संख्या
त्रिभुवन विश्वविद्यालय
१. एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, कलंकी, काठमाडौँ – ३३६
२. चितवन इन्जिनियरिङ क्याम्पस, भरतपुर, चितवन – २४
३. हिमालय कलेज अफ इन्जिनियरिङ, च्यासल, ललितपुर – २४०
४. जनकपुर इन्जिनियरिङ कलेज, कुपण्डोल, ललितपुर – १९२
५. कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुर –२८८
६. क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट,बालकुमारी,ललितपुर–१९२
७. काठमाडौं इन्जिनियरिङ कलेज,कालिमाटी, काठमाडौँ –३८४
८. ख्वपः कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुर –१९२
९. ललितपुरइन्जिनियरिङ कलेज, पाटन, ललितपुर –९६
१०. नेशनल कलेज अफ इन्जिनियरिङ, ताल्चिखेल, ललितपुर –२४०
११. पश्चिमाञ्चल क्याम्पस, लामाचौर,पोखरा – ४३२
१२. पुलचोक क्याम्पस, पुलचोक, ललितपुर – ६२४
१३. पूर्वाञ्चल क्याम्पस, तिनकुने गंगालाल, धरान – ५२८
१४. सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर –१४४
१५. थापाथली क्याम्पस,थापाथली, काठमाडौँ – ४३२
पोखरा विश्वविद्यालय
१. कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बाँके, नेपालगञ्ज – १४४
२. कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजि, पाटन, ललितपुर – ४३२
३. एभरेष्ट इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट, सानेपा, ललितपुर – ३३६
४. गण्डकी इन्जिनियरिङ कलेज, लामाचौर, पोखरा – ९६
५. लुम्बिनि इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स, भरबारी, रुपन्देही – २८८
६. मदन भण्डारी मेमोरियल कलेज, बानेश्वर, काठमाडौँ –१९२
७. नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, कैलाली, धनगडी – १४४
८. नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, पाटन, ललितपुर – ५७६
९. नेपाल इन्जिनियरिङ कलेज, चागुनारायण, भक्तपुर – ५७६
१०. अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, गैडाकोट, नवलपरासी – २४०
११. पोखरा इन्जिनियरिङ कलेज,पोखरा, कास्की – २४०
१२. पोखरा युनिभर्सिटि स्कुल अफ इन्जिनियरिङ, लेखनाथ, पोखरा – २८८
१३. राप्ति इन्जिनियरिङ कलेज, दाङ, घोरही – १९२
१४. रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट,बालकुमारी, ललितपुर – ९६
१५. युनाइटेड टेक्निकल कलेज, भरतपुर, चितवन – २४०
१६. युनिभर्सल साइन्स कलेज, पाटन, ललितपुर – १९२
काठमाडौँ विश्वविद्यालय
१. स्कुल अफ इन्जिनियरिङ, धुलीखेल, काभ्रे – ५७०
२. स्कुल अफ साइन्स, धुलिखेल, काभ्रे – ३५
पुर्वाञ्चल विश्वविद्यालय
१. एक्मी इन्जिनियरिङ कलेज, बसुन्धारा, काठमाडौँ – ३४४
२. आर्यन स्कुल अफ इन्जिनियरिङ, मध्य बानेश्वर, काठमाडौँ – ९६
३. सेन्ट्रल इन्जिनियरिङ कलेज, धनुषा, जनकपुरधाम – ९६
४. कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्स,कुपण्डोल, ललितपुर – १४४
५. कलेज अफ इन्फरमेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ,तिनकुने,काठमाडौँ – ८०
६. धुलाबारी क्याम्पस, झापा – ४८
७. ईष्ट्रन कलेज अफ इन्जिनियरिङ, राधाकृष्ण मार्ग, बिराटनगर – १७४
८. जियोमेटिक्स इन्सटिच्युट अफ टेक्नोलोजी, थापाथली, काठमाडौँ – ४८
९. हिलसाइड कलेज अफ इन्जिनियरिङ, बालकुमारी,कोटेश्वर, काठमाडौँ – १९२
१०. हिमालयन इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, ग्वार्काे, ललितपुर – ६०
११. हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, पुतलिसडक, काठमाडौँ – १७६
१२. कान्तिपुर सिटी कलेज, पुतलीसडक, काठमाडौँ – १८४
१३. कान्तिपुर इन्टरनेसनल कलेज, नयाँ बानेश्वर, काठमाडौँ – १९२
१४. ख्वपः इन्जिनियरिङ कलेज, लिवाली, भक्तपुर – २८८
१५. मोर्गन इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट कलेज, बसुन्धारा, काठमाडौँ – ४८
१६. नेपाल पोलीटेक्निक इन्सटिच्युट, भरतपुर, चितवन – १९२
१७. पाथीभारा सेन्टर फर एडभान्स स्टडिज, अर्जुनधारा, झापा –१४४
१८. स्कूल अफ इन्जिनियरिङ, सुदूरपश्चिम, महेन्द्रनगर – २६४
सुदूरपश्चिम विश्वविद्यालय
१. स्कूल अफ इन्जिनियरिङ ,वीरेन्द्रनगर, सुर्खेत – १४४
२. वेष्ट्रन एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैडाकोट, नवलपरासी –४८
३. एसियन इन्सटिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, खुमलटार, ललितपुर –४८
मध्यपश्चिम विश्वविद्यालय
१. मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, विरेन्द्रनगर, सुर्खेत – २४०
मनमोहन प्राविधिक विश्वविद्यालय
१. मनमोहन प्राविधिक विश्वविद्यालयस्कूल अफ इन्जिनियरिङ, बुद्धीगंगा,मोरङ –१४४
राजर्सी जनक विश्वविद्यालय
१. गौशाला ईन्जिनियरिङ क्याम्पस, जनकपुरधाम, महोत्तरी –४८
लुम्बिनि प्राविधिक विश्वविद्यालय
१. इन्सटिच्युट अफ ईन्जिनियरिङ एण्ड इन्फरमेसन टेक्नोलोजी, नेपालगञ्ज, बाँके – ९६
