काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका नयाँ नीतिहरू कार्यन्वयनका लागि विद्यालय शिक्षा ऐनसहित ६ वटा ऐन आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूसँगको सवाल-जवाफमा सहभागी हुँदै प्रधानमन्त्रीले विद्यालय शिक्षा विधेयकसहित विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका हुन्।
उनले शिक्षा ऐन जारी गर्ने विषयमा शिक्षकहरूसँग सरकारले सहमति गरिसकेकाले संसदले ऐन पास गर्नुपर्ने बताए। बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नको जवाफ दिँदै स्नातक तहभन्दा माथिका विद्यार्थीहरुलाई विभिन्न अनुसन्धान संस्थामा आवद्ध गर्ने, हप्तामा बढीमा २० घण्टा कामको न्युनतम ज्याला निश्चित गरी ‘कमाउँदै-पढ्दै’को नीति लागु गर्ने, सरकारी सेवामा ‘इन्टर्न’को प्रयोग गर्ने नीति रहेकाे बताए।
उनले भने,'कमाउँदै-पढ्दै नारामा नयाँ हैन, ठोस योजनाको सन्दर्भमा यो पनि नयाँ हो। राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाउने नीति अघि सारिएको छ। विद्यमान शिक्षा पद्दतिलाई आधुनिक, विज्ञान-प्रविधिमैत्री र अनुसन्धान-अन्वेषण लक्षित बनाइनेछ। विद्यालय शिक्षामा ग्रेडिङ प्रणाली लागू गरी सुधार गर्ने नीति नयाँ हो।'
यस्तै ग्रेडिङलाई रोजगारीमैत्री प्राविधिक/व्यावसायिक शिक्षा तर्फ र उच्च ग्रेडिङलाई उच्चशिक्षा तर्फ अग्रसर गराउने प्रस्तावित नीतिले शिक्षालाई उद्यमशीलतामैत्री बनाउने, श्रमक्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव र सीपहीन श्रमशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने, यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गर्ने, शिक्षक बैंक स्थापना, थिङ्क ट्याङ्क संस्थाहरुको समन्वय तथा सञ्चालन र उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने नीति रहेकाे उनले बताए।
यस्तै उनले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयककाे विषय संसदबाट तत्काल छलफल गरेर पास गरि ऐन नर्माण गर्नुपर्नेमा जाेड दिए।