काठमाडाैँ - विश्व निकेतन मावीका प्रधानाध्यापक हेरम्बराज कडेलले विद्यालयको गुणस्तर सुधारको लागि विद्यालय परिवार एक ढिक्का हुन जरुरी रहेको बताएका छन्। काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावीका प्रअ कडेलले ईडीयू सवाल डटकमसँग बोल्दै सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ तर त्यसको लागि विद्यालय परिवार भित्रि रुपमा विद्यालयको प्रगतिको लागि एक ढिक्का भई जुट्नुपर्ने बताएका हुन्।
उनले विद्यालयको सहि व्यवस्थापन र सञ्चालनको लागि प्रधानाध्यापकसँगै शिक्षककर्मचारी, विद्यालय प्रशासन, अभिभावक र जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने र हरेक नेतृत्वकर्ताले आफ्नो कर्तव्य र जिम्मेवारीलाई न्याय गरेमात्र विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सम्भव रहेको बताए। उनले आफु स्वयम पनि विद्यालयको प्रधानाध्यापक भएतापनि हाकिम भन्दा सेवक ठान्दै विद्यालयमा कार्यरत कर्मचारी सरह काम गर्ने बताए।
कडेलले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतन मावीका ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्दा आफुलाई गर्व महसुस भएको बताए। उनले भने, 'यो नतिजा विश्वनिकेतन मावीको गुणस्तर शिक्षाको प्रमाण हो। पोहोर साल ५ जनाले ४ जीपीए ल्याउन सफल हुनुभएको थियो। यो बर्ष घट्ला कि भन्ने डर थियो तर झन् बढ्यो। म लगायत सम्पुर्ण विद्यालय परिवारको लागि यो गर्वको विषय हो।'
उनले विश्वविकेतन मावीले घोकन्ते शिक्षा भन्दा सिपमुलक शिक्षालाई बढी प्राथमिकता दिने गरेको बताउदैँ एसईई पछि विद्यार्थीले विद्यालय र विषय छनोट गर्दा होस पुर्याउनु पर्ने बताए। ' एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा ११ मा साथीभाइको लहीलही, पारिवारिक दबाब भन्दा पनि आफ्नो इच्छा, चाहाना र क्षमतालाई मध्ययनजर गरि विषय छनोट गर्नुपर्दछ। सबै विषय आफ्नो आफ्नो क्षेत्रमा राम्रो छ। परीक्षामा क्षणिक रुपमा पढेर,घोकेर प्राप्त गरेको नतिजा र जीपीएको आधारमा विषय छनोट नर्गनुस्।' कडेलले भने, 'साथै विद्यार्थीले बजारमा पैसा तिरेर गरेको विज्ञापनको आधारमा विद्यालय छनोट गर्नुहँुदैन। विद्यालय छनोट गर्दा विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, दक्ष शिक्षक, पुस्तकालय, शैक्षिक वातावरण, विगतको नतिजा, विद्यार्थीले प्राप्त गरेका उपलब्धि लगायतको विषयमा ध्यान दिनुपर्दछ।'
त्यस्तै कडेलले विश्वविकेतन मावीमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र ईलेक्ट्रिकल ईन्जिनियरिङ गरि ६ वटा विषय पढाई हुने जानकारी दिए। उनले भने, 'हामीले विश्वविकेतन मावीमा ६ वटा विषयमा विषय अनुसार विद्यार्थी भर्ना गर्ने गरेका छौँ। जसमा विज्ञान विषयमा ४५० जना, व्यवस्थापनमा ६५० जना, मानविकिमा ५० जना, शिक्षा विषयमा ४० जना, कानुनमा ६० जना र ईलेक्ट्रिकल ईन्जिनियरिङमा ४८ जना विद्यार्थी भर्ना गर्ने गरेका छौँ।'
कडेलले विश्वविकेतन मावीमा कक्षा ११ र १२ को शुल्कमा समाजवादी सिस्टम लागू रहेको बताउदैँ, हुनेसँग सिमित न्यून शुल्क लिने र नहुने मेहनति, परिश्रमी र जेहेन्दार ४ सय विद्यार्थीलाई प्रवेश परीक्षा लिएर निशुल्क पढाउने गरेको जानकारी दिए।