काठमाडाैँ- टेलिभिजन प्रस्ताेता जगदीश खरेलले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएसँगै साेमबार सञ्चार मन्त्रीकाे रूपमा पदभार ग्रहण गरेका छन्। सोमबार सञ्चार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।
साढे २ दशकदेखि निरन्तर पत्रकारितामा आबद्ध थिए। बिदा हुँदै गर्दा उनले भने, ‘आजको दिन पनि मेरो हाजिर लाग्छ।’ कर्मक्षेत्रमा काम गर्दागर्दै उनी मन्त्रीको ‘हटसिट’मा पुगेका छन्। टेलिभिजनमा उनले चलाउने 'हटसिट' कार्यक्रम चर्चित छ।
सञ्चारकर्मबाट मन्त्री बन्दा उनीसहितको सिंगो सरकारको कार्यकाल ६ महिना मात्र हुनेछ। किनकि यो अन्तरिम सरकार हो र आगामी २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने मुख्य जिम्मेवारी यो सरकारको हो । यसैमा केन्द्रित रहेर अन्य कुरा यथावत् रहे सरकारले २१ फागनुमा काम सकेर मन्त्रिपरिषद्का सदस्यहरू आ-आफ्नो बाटो लाग्नेछन्।
खरेलले टेलिभिजनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासकदेखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा प्रश्न गर्थे । प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगेको भनेर सञ्चारकर्मीहरू पनि खरेलको कार्यकाल सफल होस् भनेर कामना गरिरहेका छन्।
अब आफैँले सोधेका प्रश्नहरूको जवाफ खोज्ने खरेलले बताएका छन्। उनी मन्त्री बन्नुअघिदेखि टेलिभिजनमा जेन-जीका प्रतिनिधिहरू पुगेर मन्त्री बन्नका लागि आग्रह गर्दै आएका थिए। त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले पनि मन्त्री बन्न आग्रह गरेकी थिइन्।
उनले पत्रकारिताको सुरुवात नै इमेज च्यानलबाट गरेका थिए। कतिपय सन्दर्भमा उनलाई इमेजमा जन्मिएको (पेसा) इमेजमै हुर्किएको र इमेजमै परिपक्व भएको भनेर प्रशंसासमेत हुने गरेको थियो। २०५९ सालमा इमेज च्यानलको सुरुवाती समयदेखि उनी काम गर्न थालेका थिए। बीचमा समाचार कक्षबाट बाहिर रहेर 'टक शो' मात्र चलाए पनि पछि व्यवस्थापन परिवर्तनसँगै सिंगो इमेज ग्रुप अफ कम्पनीज (इमेज एफएम, इमेज खबर र इमेज च्यानल)को प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खरेललाई प्रामाणिक पत्रकार, सशक्त सञ्चारकर्मी, समाजसेवी तथा नीतिगत बहसमा सक्षम पात्रका रूपमा चिनिन्छ।पत्रकारिताबाट सुरु भएको उनको यात्रा अहिले मुलुकको नीतिनिर्माण तहमा पुगेको छ।
सामान्य परिवारमा जन्मिएका उनि बाल्यकालदेखि नै पढाइप्रति रुचि राख्ने व्यक्ति हुन्। शैक्षिक जीवनमा रहँदाखेरी नै उनी सामाजिक विषय, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय मामिलामा लेखन र वादविवादमा गर्न सक्रिय हुन्थे। यही चासोले उनलाई पत्रकारिताको क्षेत्रमा अगाडि बढ्ने मार्ग देखायो।
अन्तर्वार्ता लिने क्षमतामा पनि खरेल विशेष ख्याति प्राप्त गरेका छन्। उनले संवेदनशील राजनीतिक मुद्दादेखि लिएर सामाजिक समस्या र जनसरोकारका विषयमा सशक्त प्रश्नहरू उठाउने गर्थे। यही कारणले उनले दर्शकलाई आकर्षित गरी पत्रकारितामा आफ्नो अलग स्थान बनाउन सफल भए।
उनको पत्रकारिता केवल समाचार वाचन वा प्रस्तुति मात्र नभई सामाजिक सचेतना जगाउने अभ्यासमा केन्द्रित रह्यो। खरेलले टेलिभिजन र अन्य सञ्चारमाध्यममार्फत मुलुकको लोकतान्त्रिक अभ्यास, सुशासन, सामाजिक न्याय, भ्रष्टाचारविरोधी मुद्दा र विकासका प्रश्न निरन्तर उठाउँदै आएका थिए।
खरेल पत्रकार मात्र नभई समाजप्रेमी पात्रका रूपमा पनि परिचित छन्। सामाजिक न्याय, समानता र शिक्षा क्षेत्रमा उनले निरन्तर आवाज उठाएका छन्। उनले धेरैजसो सार्वजनिक कार्यक्रम, सेमिनार र बहसहरूमा सक्रिय सहभागिता जनाउने गर्छन्। शिक्षाको पहुँच विस्तार, सूचना प्रवाहमा सहजता, ग्रामीण क्षेत्रमा सञ्चार सुविधा पुर्याउने आवश्यकता, सञ्चारकर्मीको हकहित र अभिव्यक्ति स्वतन्त्रताको विषयमा खरेलले निरन्तर लेख र बहस गर्दै आएका छन्।