काठमाडाैँ - भदौँ २३ र २४ गते काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा भ्रष्टाचार र अव्यवस्था विरुद्ध भएको जेन्जी आन्दोलनले नेपालको शैक्षिक क्षेत्रलाई गहिरो संकटमा पुर्याएको छ। यस आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडले विशेषगरी निजी शैक्षिक संस्थाहरूमाथि गम्भीर प्रभाव परेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षति पुगेको विद्यालयको विवरण संकलन प्रक्रिया अगाडी बढाएको छ। मन्त्रालयका अनुसार निजी शैक्षिक संस्थामा मात्रै क्षति भएको देखिएको छ।
जेनजी समूहको आन्दोलनबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको थियो। सोहिकारण मन्त्रालयको सम्पुर्ण काम केही समय केशरमहलबाट गरिने भएको छ। शिक्षकहरुको २९ दिन लामो सडक आन्दोलन पछि जारी हुन लागेको शिक्षा ऐन अन्तिम प्रक्रियामा पुगेर निष्क्रिय भएको छ।आन्दोलनको दोस्रो दिन जेनजीहरुको ¥याली अराजक बनेपछि ललितपुरको खुमलटारस्थित युलिएन्स स्कुल, कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज र काठमाडौँ मध्यबानेश्वर स्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट आगजानीबाट तहसनहस भएको थियो।
पर्दशनकारीहरुले नेपाली कांग्रेसका शिर्ष नेता शेरबहादुर देउवाका पत्नि तथा निबर्तमान परमन्त्री आरजु राणा देउवाद्धारा सञ्चालित युलेन्स स्कुल भ्रष्टाचारको पैसाले निर्माण गरिएको आरोप लगाउँदै जेनजी आन्दोलनकारीहरूले विद्यालयमा आगजनी तथा तोडफोड गरेका थिए। स्कुलका विद्यार्थीका प्रमाणपत्र, परिचयपत्र, परीक्षाको प्रवेशपत्र जलेर खरानी भएको थियो भने डेक्स–बेञ्च, कक्षा कोठा, डिजिटल बोर्ड, पाठ्यसामग्री, ल्याब, लाइब्रेरी, क्याफ्टेरिया, पार्किङमा रहेको स्कुल भ्यानहरु जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए। यस स्कुसलमा ३२ वर्षको इतिहासमा ठूलो क्षति भएको थियो।
आन्दोलनमा ग्लोबल कलेज पनि आगजानिबाट तहसनहस बन्न पुगेको थियो। पर्दशनकारीहरुले कलेज तोडफोडसँगै, आगजानी र लुटपाट समेत गरेका थिए। शिक्षालय जस्तो पवित्र ठाउँमा तोडफोड नगर्न आग्रह गर्ने कर्मचारीमाथि नै जाइ लाग्दै पर्दशनकारीहरुले कलेजको भवन पूर्ण रुपमा ध्वस्त बनाएका थिए। फलस्वरुप उक्त कलेजको भौतिक संरचना, पुस्तकालय, ल्याब, प्रयोगशाला, फुटसल, क्याफे लगायतको संरचना जलेर तहसनहस भएको थियो। जेनजीको प्रदर्शनमा सहभागि भएका ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रेयम चौलागाइँको पर्दशनको क्रममा गोली लागेर मृत्यु भएको थियो।
कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा पनि तोडफोड र लुटपाट भएको थियो। कलेजका अनुसार लुटेरा समूहले कम्प्युटर, ल्यापटप, क्यामेरा, टेबुल, कुर्सी, किचनबाट भाँडाकुँडा र चामल लुटेका थिए।यस्तै जेन्जी आन्दोलनका कारण काठमाडौँ बाहेक पोखरा, झापा लगायतका शहरहरुको शैक्षिक संस्थाहरुमा समेत आंशिक क्षेति पुगेको थियो। धेरै शैक्षिक संस्थाले शोक बिदा समेत दिएका थिए।
यसरी निजी शिक्षालयहरू प्रदर्शनकारीको निशानामा परेसँगै विद्यार्थीको पठनपाठन अन्योल मात्र नभई अराजक समूहको गतिविधिले शान्ति क्षेत्रमा डर र त्रासको स्थिति बन्न पुगेको थियो। हाल धेरै विद्यालयहरु आन्दोलनले पठनपाठनमा प्रभाव पारेकै कारण शनिबार र सार्बजनिक विदामा पनि विद्यालय सञ्चालन गर्न बाध्य छन्। विगतमा शिक्षकमहासंघले गरेको २९ दिन लामो सडक आ्रन्दोलनले पनि विद्यार्थीको पठनपाठन ठप्प बन्न पुगेको थियो।
अराजक आन्दोलन र हिंसात्मक गतिविधिले पवित्र शिक्षाको क्षेत्रलाई तहसनहस बनाएको छ, जसको असर तत्कालीन मात्र होइन, दीर्घकालीन रुपमा देशको मानव संसाधन विकासमा पनि देखिने निश्चित छ। सोहि कारण शिक्षालाई राजनीति र अराजकताको उपकरण बनाउने परिपाटी अन्त्य गर्दै संरचनात्मक सुधार र शान्तिपूर्ण संवादका माध्यमबाट शिक्षा क्षेत्रलाई उकास्न जरुरी छ।