काठमाडाैँ- आजको शैक्षिक जगतमा अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउन शिक्षक पेशागत विकास (Professional Development - PD) अनिवार्य आवश्यकताका रूपमा देखिएको छ। PD ले शिक्षकहरूलाई केवल नयाँ विधि सिकाउने मात्र होइन, सन्दर्भानुकूल रूपान्तरण गर्न सक्षम बनाउँछ। नेपालजस्तो भाषिक, सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा PD को प्रभावकारीता अझ महत्त्वपूर्ण हुन्छ। यसले शिक्षकहरूलाई पाठ्यक्रम र कक्षाकोठा व्यवस्थापनमा नवीनता ल्याउन, शिक्षणलाई विद्यार्थी-केंद्रित बनाउने र शिक्षणमा आफूलाई आत्मविश्वासी बनाउने सशक्त माध्यम बनिरहेको छ। तर यो विकास केवल सामाग्री प्रदान गरेर सम्भव हुँदैन, यसमा शिक्षकको सक्रिय संलग्नता, विद्यालयको सहकार्य र सरकारी नीति समर्थन पनि जोडिनुपर्छ।
यद्यपि पछिल्लो समय शिक्षकहरू सक्रिय शिक्षण, संवादमुखी प्रविधि, र प्रयोगात्मक सिकाइतर्फ उन्मुख भइरहेकाे भएपनि शिक्षणमा रूपान्तरण सहज देखिएको छैन। पेशागत विकास कार्यक्रमहरूमा गुणस्तर, सन्दर्भअनुकूलता र अनुगमनको अभावले कतिपय तालिमहरू औपचारिकतामा सीमित भइरहेका छन्। यदि PD लाई दीगो, व्यवहारिक, सन्दर्भमा आधारित, र शिक्षकको आवश्यकतालाई प्राथमिकतामा राखी कार्यान्वयन गरिन्छ भने मात्र यसको प्रभावकारीता स्थायी हुन सक्छ। त्यसैले नीति निर्माणदेखि कार्यान्वयनसम्म पुनरावलोकन र मूल्याङ्कन आवश्यक छ, ताकि PD कार्यक्रमले शिक्षणमा सार्थक परिवर्तन ल्याउन सकोस्।
शिक्षक पेशागत विकास कार्यक्रमको प्रभावकारिता केवल सामग्री वा प्रशिक्षणको गुणस्तरमा मात्र निर्भर हुँदैन, शिक्षकको संलग्नता र प्रेरणामा पनि आधारित हुन्छ। यदि PD कार्यक्रम शिक्षकका लागि माथिबाट लादिएको जिम्मेवारीजस्तो लाग्छ भने उनीहरू त्यसमा औपचारिक उपस्थितिमात्र जनाउँछन्, तर सिक्ने चाहना जाग्दैन। त्यसैले शिक्षकको अनुभव, आवश्यकता र रुचिलाई सम्बोधन गर्न सक्ने तालिम योजना आवश्यक छ। शिक्षकलाई योजना निर्माणमा सहभागी गराउने, आफ्ना विचार प्रस्तुत गर्ने अवसर दिने, र सिकेका अभ्यासलाई व्यवहारमा प्रयोग गर्न प्रेरित गर्ने वातावरणले उनीहरूको आन्तरिक प्रेरणा वृद्धि गर्छ। यस्तो सहभागितामूलक अभ्यासले शिक्षकलाई तालिममा ‘उपभोक्ता’ होइन, ‘सह–सर्जक’ बनाउँछ।
नेपालको ग्रामीण तथा परिधि क्षेत्रमा कार्यरत धेरै शिक्षक पेशागत एक्लोपनको अनुभव गरिरहेका छन्। विद्यालयमा सहयोगी सहकर्मी, समालोचनात्मक समिक्षा, वा व्यावसायिक संवादको अभ्यास दुर्लभ छ। यस्तो पृष्ठभूमिमा PD कार्यक्रम शिक्षकका लागि नयाँ दृष्टिकोण, प्रेरणा र व्यावहारिक समाधानको माध्यम बन्न सक्छ। तर यसको सफलताका लागि शिक्षकको सकृय सहभागिता र स्वामित्व सुनिश्चित गर्नु अपरिहार्य हुन्छ। केवल ठूला रणनीति होइन, सूक्ष्म श्रोत, सहकार्य, र सन्दर्भअनुकूल अभ्यासले नै PD लाई जीवन्त र परिणाममुखी बनाउन सक्नेछन्। त्यसैले PD योजनाहरू शिक्षकमैत्री, सहभागितामूलक र विद्यालयको संस्कृतिसँग जोडिएका हुनुपर्छ।
नेपालको सन्दर्भमा शिक्षक व्यावसायिक विकास कार्यक्रमको प्रभावकारिता प्रमुख रूपमा स्रोत र पूर्वाधारको उपलब्धतामा निर्भर रहन्छ। विशेषतः ग्रामीण तथा दुर्गम भेगहरूमा इन्टरनेट, विद्युत, प्रशिक्षित प्रशिक्षक र तालिम केन्द्रहरूको न्यून उपलब्धताले PD लाई व्यवहारमा उतार्न गाह्रो बनाएको छ। कतिपय शिक्षकहरूलाई तालिममा सहभागी हुन धेरै दूरी पार गरेर जानुपर्छ, अतिरिक्त खर्च बेहोर्नुपर्छ, र नियमित शिक्षण कार्य बाधित हुन्छ। यस्तो अवस्था PD लाई पहुँचयोग्य र प्रभावकारी होइन, बोझिलो बनाउँछ। अझै पनि तालिमहरू शहरी केन्द्रहरूमा सीमित छन्, जसले समान अवसरको सिद्धान्तविपरीत जान्छ।
त्यसैगरी, पछिल्लो समय प्रविधिमा आधारित PD कार्यक्रमहरू बढेका छन्, तर डिजिटल पहुँच, प्रयोग सीप र उपकरणको अभावले धेरै शिक्षकलाई यस्ता तालिममा सहभागी हुनै नसक्ने बनाएको छ। प्रविधिमै पहुँच नभएका शिक्षकलाई अनलाइन तालिम प्रभावहीन मात्र होइन, निरुत्साहजनक पनि हुन सक्छ। त्यसैले PD को डिजाइन गर्दा शिक्षकको सामाजिक, भौगोलिक र प्रविधिगत पृष्ठभूमि बुझेर अनुकूलन गर्नुपर्छ। स्थानीय सन्दर्भमा आधारित, लचिलो, र सुलभ PD मोडेल मात्र दीगो सुधारको आधार बन्न सक्छ।
शिक्षक पेशागत विकासको सफल कार्यान्वयन विद्यालयको संस्थागत संरचना र नेतृत्वको दृष्टिकोणमा निर्भर हुन्छ। नेपालका धेरै विद्यालयमा PD कार्यक्रमलाई अझै पनि औपचारिकता वा प्राविधिक प्रक्रिया मात्र ठानिन्छ, जसले शिक्षकको सिकाइ र व्यावसायिक उन्नतिमा योगदान दिन सक्दैन। शिक्षकलाई PD कार्यक्रममा सहभागी हुन समय, प्रोत्साहन वा सुविधा नदिँदा उनीहरूको सक्रियता घट्छ र तालिमले व्यवहारमा परिवर्तन ल्याउने लक्ष्य अधुरो रहन्छ। यसले संस्थागत दृष्टिकोणको कमजोरी र नेतृत्वको असंवेदनशीलता प्रकट गर्छ, जसले PD लाई केवल कागजी अभ्यासमा सीमित पार्छ।
दिगो र प्रभावकारी PD प्रणालीका लागि विद्यालय प्रशासनले PD लाई शिक्षणको अभिन्न अङ्ग मानेर योजना बनाउनु आवश्यक हुन्छ। तालिमका लागि समय व्यवस्थापन गर्नु, शिक्षकको अनुभवको कदर गर्दै सहयोगी वातावरण सिर्जना गर्नु र PD पछि पनि निरन्तर अवलोकन तथा समिक्षा गर्ने अभ्यास संस्थागत संस्कृतिमा बसाल्नु महत्त्वपूर्ण छ। यस्ता उपायले शिक्षकमा आत्मविश्वास, नवप्रवर्तन र उत्तरदायित्वबोध विकास गर्छ। विद्यालय नेतृत्वले PD मा लगानीलाई शिक्षकको विकास मात्र होइन, सम्पूर्ण शैक्षिक सुधारको आधार मानेर अघि बढ्नुपर्छ। यसरी मात्र PD ले व्यवहारिक रूपान्तरण र गुणस्तरीय शिक्षाको आधार निर्माण गर्न सक्छ।
पछिल्लो समय नेपालमा PD को क्षेत्रमा केही सकारात्मक अभ्यासहरू देखिन थालेका छन्, जसले गुणस्तरीय शिक्षणमा उल्लेखनीय योगदान दिएका छन्। संरचित सम्मेलन, गोष्ठी, कार्यशाला र mentoring जस्ता कार्यक्रमहरुले शिक्षकको आत्मविश्वास र व्यवहारिक दक्षता दुबैमा सुधार ल्याएका छन्। विशेषतः सहकर्मी शिक्षकबाट हुने परामर्श, सहयोग र साझा अभ्यासले PD लाई एकपक्षीय सूचनामूलक होइन, अन्तरक्रियात्मक सिकाइ प्रक्रियामा रूपान्तरण गरेको छ। यस्तो सहयोगी प्रवृत्तिले कक्षाकोठाको शिक्षण सुधार गर्दै विद्यार्थी-केन्द्रित सिकाइलाई बलियो बनाउने देखिएको छ।
तर यस्ता प्रभावकारी कार्यक्रमहरू अझै पनि सिमित क्षेत्रमा सीमित छन्, जुन शिक्षा प्रणालीको समावेशीता र न्यायोचित पहुँचको दृष्टिले चुनौतीपूर्ण पक्ष हो। सबै शिक्षकले समान रूपमा PD मा सहभागी हुन पाउने संरचना अभावमा यस्ता अभ्यासहरू केही स्कूल वा समूहसम्म मात्र सिमित छन्। त्यसैले संरचनात्मक स्तरमै PD कार्यक्रमलाई स्थानीय सन्दर्भअनुकूल बनाउँदै विस्तार गर्नुपर्ने आवश्यकता छ। यसका लागि स्थान, स्रोत, शिक्षकको पृष्ठभूमि र आवश्यकता हेरेर लचिलो र सन्दर्भ–अनुकूल मोडेल अपनाइनुपर्छ, जसले PD लाई न्यायोचित, व्यावहारिक र प्रभावकारी बनाउँछ।
नेपालका दुर्गम क्षेत्रहरूमा शिक्षक पेशागत विकास कार्यक्रमहरूमा पहुँच अत्यन्त न्यून रहेको छ, जसले शिक्षाको गुणस्तरमा प्रतिकूल प्रभाव पारिरहेको छ। सुदूरपश्चिम, कर्णाली वा अन्य दुर्गम पहाडी जिल्लाहरूमा भौगोलिक पहुँच, यातायातको अभाव, तालिम केन्द्रहरूको अभाव, तथा योग्य प्रशिक्षकको कमीजस्ता संरचनात्मक समस्याले त्यहाँका शिक्षकहरू PD जस्तो महत्वपूर्ण अवसरबाट वञ्चित छन्। यसले ती क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय सिकाइबाट टाढा राख्छ, जसले शिक्षा प्रणालीमा क्षेत्रीय असमानता बढाउँछ।
दुर्गम क्षेत्रका शिक्षकहरूले ‘पेशागत एक्लोपन’ (professional isolation) को गहिरो अनुभूति गरिरहेका छन्। सहकर्मी संवाद, अनुभूति साटासाट, वा शिक्षण समिक्षा जस्ता अभ्यास सम्भव नभएपछि PD को मौलिक उद्देश्य नै असफल हुन्छ। यस्तो अवस्थामा PD लाई स्थानीय सन्दर्भमा लचिलो बनाउँदै मोबाइल तालिम, अनलाइन कार्यशाला वा सामुदायिक विद्यालयहरूमा आधारित ‘क्लस्टर तालिम’ जस्ता नवाचार अपनाउन आवश्यक छ। यसले दुर्गम क्षेत्रका शिक्षकहरूमा आत्मविश्वास, सामूहिक सिकाइको भावना र पेशागत आत्मबोध जगाउनेछ, जुन शिक्षा प्रणालीको समावेशी विकासका लागि अपरिहार्य छ।
नेपाली समाजको संरचनामा जरा गाडेको ‘वरिष्ठको सम्मान र कनिष्ठको मौनता’ को संस्कार शिक्षक पेशागत विकास कार्यक्रमहरूमा समुचित संवाद र आलोचनात्मक छलफलमा अवरोध बनेको छ। यस्तो संरचनामा कनिष्ठ शिक्षक खुलेर प्रश्न गर्न वा विचार राख्न हिचकिचाउँछन्, जसले समुहिक सिकाइको वातावरण कमजोर बनाउँछ। PD को मुख्य उद्देश्य सहकार्य र अन्तरक्रियात्मक सिकाइ हो भने, सहभागीहरूबीच विश्वास, समता र पारस्परिक सम्मानको संस्कार विकास अनिवार्य हुन्छ। त्यसैले PD सुरु गर्नु अघि वातावरणमै सामाजिक समानताको आधार तयार पार्नु, सबैको विचारलाई सम्मान गर्ने अभ्यास गराउनु अत्यावश्यक हुन्छ।
PD लाई वैज्ञानिक र व्यवहारिक रूपमा पुनर्संरचना गर्न आवश्यक छ ताकि यसले शिक्षकको आन्तरिक प्रेरणा र पेशागत दक्षता दुबैलाई सम्बोधन गर्न सकोस्। शिक्षकको सिकाइ केवल गोष्ठी र तालिममा सीमित नहुने, बरु व्यवहारमा आधारित अभ्यास, सहकर्मी समिक्षा, रेफल्याटिक लेखन, वा सानो स्तरको अनुसन्धानमा आधारित हुनुपर्छ। यसले शिक्षकलाई सिकाइको स्वामी बनाउँछ र आत्ममूल्याङ्कनमार्फत निरन्तर सुधारतर्फ प्रेरित गर्छ। सहभागीमूलक, संवादमुखी, र स्वअनुभवमा आधारित PD संरचना निर्माण गर्न सकेमा मात्र यसको दीगो प्रभाव सुनिश्चित हुन्छ।
नेपालमा शिक्षक पेशागत विकास प्रभावकारी बनाउन केवल शिक्षकको प्रयास पर्याप्त हुँदैन, यसमा नीतिगत स्पष्टता, संरचनागत मजबुती, र संस्थागत समर्थन आवश्यक हुन्छ। नीति निर्माता र विद्यालय नेतृत्वले PD लाई शैक्षिक सुधारको मूल अङ्ग मानेर स्पष्ट मार्गनिर्देशन, पर्याप्त बजेट, नियमित तालिम, र अनुगमन प्रणाली निर्माण गर्नुपर्छ। PD तालिमलाई वर्षेनी अनिवार्य औपचारिकता होइन, शिक्षण संस्कृतिको निरन्तर प्रक्रिया बनाउनु पर्छ। विद्यालय तहमै PD क्लब स्थापना, सहकर्मी अवलोकन, र अनुभव साझा गर्ने अभ्यासबाट शिक्षकबीचको पेशागत संवाद विस्तार गर्न सकिन्छ, जसले सिकाइमा गुणात्मक सुधार ल्याउँछ।
यद्यपि PD कार्यक्रमहरू सबै सन्दर्भमा एकै किसिमले लागू गर्न सकिँदैनन्, त्यसैले स्थानीय आवश्यकताअनुसार लचिलो र सन्दर्भसापेक्ष समाधानहरू खोजिनुपर्छ। देशका भिन्न भूगोल, पहुँच, प्रविधि र स्रोतहरूको विविधतालाई ध्यानमा राखेर मोबाइल तालिम, भिडियो सन्देश, स्थानीय तालिम केन्द्र, वा सामुदायिक क्लस्टर तालिमजस्ता नवप्रवर्तनहरू अपनाउनु आवश्यक छ। यसले दुर्गम क्षेत्रका शिक्षकहरूलाई पनि तालिममा पहुँच दिलाउने मात्र होइन, शिक्षकहरूको आवश्यकता र परिवेशअनुकूल PD सुनिश्चित गर्नेछ, जसबाट शैक्षिक समानता र गुणस्तर दुवैमा सुधार सम्भव हुन्छ।
नेपालका दुर्गम क्षेत्रका शिक्षकहरूलाई पेशागत विकासमा समावेश गर्न स्थानीय स्रोतहरूको उपयोग अत्यन्त आवश्यक छ। भौगोलिक र प्रविधिक सीमितताका कारण त्यहाँका शिक्षकहरूले प्रायः बाह्य स्रोत र तालिम पाउन सक्दैनन्, जसले शैक्षिक गुणस्तरमा ठूलो असमानता सिर्जना गर्छ। स्थानीय भाषा, संस्कृति, अनुभव र स्रोतमा आधारित तालिम कार्यक्रमले शिक्षकलाई सहज पहुँच र व्यवहारिक ज्ञान प्रदान गर्छ, जसले शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउँछ। यसरी PD लाई स्थानीय सन्दर्भमा अनुकूलित बनाउनु भनेको मात्र शिक्षकको व्यक्तिगत विकास नभई समग्र विद्यालय र समुदायमा सकारात्मक प्रभाव पार्ने समावेशी र न्यायोचित अभ्यास हो।
शिक्षक व्यावसायिक विकासलाई केवल व्यक्तिगत सुधारको माध्यम नभई सामाजिक न्याय र समानताको मुद्दा मान्नुपर्छ। ग्रामीण तथा दुर्गम क्षेत्रका शिक्षकहरूलाई PD बाट वञ्चित राख्दा त्यहाँका विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित हुन्छन्, जसले दीर्घकालीन रूपमा शिक्षामा असमानता बढाउँछ। त्यसैले, नीति, बजेट, प्रविधि, र नेतृत्वको संयोजनमार्फत PD लाई संरचनाबद्ध, सहभागीमूलक र सन्दर्भसापेक्ष बनाउन आवश्यक छ। शिक्षकको आवाज सुन्ने, बुझ्ने र समर्थन गर्ने वातावरण निर्माण हुँदा मात्र PD शिक्षण सुधारमा वास्तविक प्रभावकारी साधन बन्न सक्छ र नेपालजस्तो विविध र चुनौतीपूर्ण मुलुकमा शैक्षिक समानता र गुणस्तरको सुनिश्चितता हुनसक्छ।
– लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक डम्मर सिंह साउद हुन्।