काठमाडाैँ - सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने आवाज उठिरहेको बेला केहि सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा निकालेर आफूलाई अब्बल सावित गर्न सफल भएका छन्। केहि उदाहरण मध्ये नमुना विद्यालयको रुपमा स्थापित गर्न सफल काठमाडौँ उपत्यका भित्रको अग्रणी संस्था विश्वनिकेतन माविका प्राधानाध्यापक हेरम्बराज कडेलसँग अहिलेको शिक्षा प्रणाली, सामुदायिक शिक्षाको गुणस्तर, शिक्षा विधेयक लगायतका विषयमा गरिएको कुराकानिको मुख्य अंश :
नेपालमा सामुदायिक विद्यालयलाई राम्रो बनाउन के गर्नुपर्छ?
विद्यालयको नेतृत्व गर्ने व्यक्ति नै प्रधानाध्यापक हो। प्रधानाध्यापकको कुशल नेतृत्वको कारण नै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ। म आफू स्वयम् प्रधानाध्यापक भएता पनि म आफूलाई हाकिम भन्दा सेवक ठान्छु। विद्यालयमा कार्यरत कर्मचारी सरह काम गर्छु। सामुदायिक विद्यालय मात्र नभई जुनसुकै विद्यालय विकासको लागि सामुहिक रुपमा कार्य गर्न जरुरी छ।
विद्यालयको सहि व्यवस्थापन र सञ्चालनको लागि प्रधानाध्यापकसँगै शिक्षककर्मचारी, विद्यालय प्रशासन, अभिभावक र जनप्रतिनिधिहरुको त्रिभुजिय भूमिका महत्वपूर्ण हुन्छ। एउटा मात्र भुजाको कमि भए विद्यालय अधुरो हुन्छ। त्यसकारण हरेक नेतृत्वकर्ताले आफ्नो कर्तव्य र जिम्मेवारीलाई न्याय गर्नुपर्छ।अनि मात्र सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सम्भव छ।
तपाईको व्यक्तिगत विचारमा नेपालको सामुदायिक शिक्षा सुधारको लागि राज्यले के गर्नुपर्दछ ?
नेपालमा हाल ३५ हजार विद्यालय छन् जसमा २७ हजार ५ सय सामुदायिक, १५ सय धार्मिक विद्यालय र करिब ६ हजार निजि विद्यालय सञ्चालनमा छन्। २७ हजार सामुदायिक विद्यालयले शिक्षा प्रवाह गर्दा गुणस्तरीय शिक्षा दिनुपर्ने हो तर त्यो हुन नसकेको अवस्था छ। त्यसको लागि सरकारले सामुदायिक विद्यालयहरुलाई प्रर्याप्त स्रोतसाधन, तालिम प्राप्त शिक्षक, पर्याप्त दरबन्दी र विद्यालयको आधारभुत आवश्यकता परिपूर्ति गर्नुपर्दछ र निजि विद्यालयहरुलाई नियमन गर्न जरुरी छ।
सामुदायिक विद्यालयले कोसिस गर्दागर्दै पनि अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन। वि.सं २०८० को एसईई परीक्षामा ४८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण र ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। जसमध्ये अनुत्तीर्ण हुनेमध्ये धेरै विद्यार्थी सामुदायिक विद्यालयको नै छन्। यो सबै सुधारको लागि शिक्षक दरबन्दी पुग्दो हुनुपर्छ। विषयगत शिक्षक र शैक्षिक तालिमको व्यवस्था गरिनुपर्छ।
विद्यालय शिक्षा विधेयकमा बालबिकास सहजकर्ता (ईसीडी) शिक्षक, विद्यालय कर्मचारीबारे तपाइको धारणा के छ ?
ईसीडी शिक्षक भनेको घर बनाउने बेलाको जग हो। ईसीडी शिक्षक साथीहरुले बोलेको नबुझ्ने, राल सिगान भएका, दिशा पिसाब गरेका बच्चाहरुलाई पनि मायाले फकाईफुल्याई पढानुपर्छ। त्यो भन्दा माथीका विद्यार्थीहरुले बरु भनेको बुझ्छन् र सामान्य क्रियाकलाप आफै गर्न सक्छन्। यो समयमा पढाएको शिक्षा र दिएको सस्कार जिवनभर लागू हुन्छ।
त्यसैले ईसीडी शिक्षकलाई सरकारले बालविकास सहजकर्ता नभनी शिक्षक नै भन्न जरुरी छ। त्यति भनेर सरकारको केही बिग्रिदैँन त्यसकारण विद्यालय शिक्षाको तहभित्र ईसीडी शिक्षक ल्याउन जरुरी छ। ईसीडी शिक्षक र विद्यालयका कर्मचारीलाई सरकारले उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्छ।
विश्वनिकेतन मावीलाई यो उचाईसम्म पुर्याउन के - के गर्नुभयो? विद्यालयको खर्च व्यवस्थापन कसरी हुने गरेको छ?
म आफुले २०७२ सालमा प्रधानाध्यापकको पद ग्रहण गर्दा विश्वनिकेतनमा २ हजार विद्यार्थी थिए। अहिले १ दशकको अन्तरालमा विश्वनिकेतन ४५ सय विद्यार्थी अध्ययनरत छन्। यो सबै सामुहिक कार्यको नतिजा हो। यस विद्यालयले समयको माग अनुरुपको विषय पढाउने गरेको छ। नेपाल सरकारले विश्वनिकेतन मावीलाई एचए, फार्मेसी डिप्लोमा, सीएमएल्टी, डेन्टल हाईजिङ गरेपछि एमबीबीएस, बीडिएस गर्न कक्षा ११ र १२ मा विज्ञान विषय सरहको पीआरसी कोर्स पठनपाठन गर्न सम्बन्धन प्रदान गरेको छ। जुन कोर्समा ३ सय विद्यार्थी अध्ययनरत छन्।
विश्वनिकेतनमा १६२ जना शिक्षककर्मचारी कार्यरत छन्। त्यसमध्ये ६२ जनालाई सरकारबाट अनुदान आउँछ भने बाँकी १ सय जना शिक्षककर्मचारीलाई विद्यालयको निजि स्रोतबाट पारिश्रमिक दिने गरेको छ। त्यसको लागि अभिभावकबाट हामिले न्यून शुल्क सहयोगको रुपमा लिन बाध्य भएका छौँ। विश्वनिकेतनले १, २ र ३ कक्षालाई वर्षभरिमा १ हजार ४ सय रुपैँया, ४ र ५ कक्षालाई १ हजार ७ सय, ६ र ७ कक्षालाई २ हजार ३ सय, ८ कक्षालाई २ हजार ७ सय, ९ र १० कक्षालाई वर्षभरी २ हजार ९ सय २५ रुपैयाँ लिने गरेको छ।
हामीले विद्यार्थीलाई न्यून शुल्कमा नै गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै अन्य अतिरिक्त क्रियाकलाप र सिपमुलक तालिम प्रदान गर्ने गरेका छौँ। कक्षा ११ र १२ का पनि समाजवादी सिस्टम लागू छ। हुनेसँग लिने गरेका छौँ भने नहुने मेहनति, परिश्रमी र जेहेन्दार विद्यार्थीलाई परीक्षा लिएर निशुल्क पढाउने गरेको छौँ। जसमा भर्ना भएका ४ सय विद्यार्थीलाई विद्यालयले छात्रावृत्ति समेत प्रदान गर्दै आएको छ।
कस्तो विद्यालय राम्रो विद्यालय? विद्यार्थीले विषय र विद्यालय छनोट गर्दा के - के कुरामा ध्यान दिनुपर्दछ?
एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा ११मा साथीभाइको लहीलही, पारिवारिक दबाब भन्दा पनि आफ्नो इच्छा, चाहाना र क्षमतालाई मध्ययनजर गरि विषय छनोट गर्नुपर्दछ। सबै विषय आफ्नो आफ्नो क्षेत्रमा राम्रो छ। अभिभावकहरुले पनि त्यहि अनुरुपको निर्देशन दिन जरुरी छ। परीक्षामा क्षणिक रुपमा पढेर,घोकेर प्राप्त गरेको नतिजा र जीपीएको आधारमा विषय छनोट नर्गनुस्।
पछि यस्ता - यस्ता कारणले पढ्न नसकेर र राम्रो नतिजा प्राप्त गर्न नसकेको कारण विभिन्न मानसिक रोगको सिकार हुन बाध्य हुन्छौँ। यसका साथै विद्यार्थीले बजारमा पैसा तिरेर गरेको विज्ञापनको आधारमा विद्यालय छनोट गर्नुहँुदैन। विद्यालय छनोट गर्दा विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, दक्ष शिक्षक, पुस्तकालय, शैक्षिक वातावरण, विगतको नतिजा, विद्यार्थीले प्राप्त गरेका उपलब्धि लगायतको विषयमा ध्यान दिनुपर्दछ। यस मध्ये अभिभावक र विद्यार्थीकोे लागि त्रिपुरेश्वर स्थित विश्वनिकेतन मावी पनि छनोटको विकल्पमा राख्नुस् र विद्यालयबारे अनुसन्धान गर्नुस्।