काठमाडौँ- कक्षा १२ पछि विद्यार्थी गुणस्तरीय शिक्षा आर्जन गर्न स्वदेश तथा विदेशका शिक्षणसंस्थामा भर्ना हुने गरेका छन्। ठूलो संख्यामा विद्यार्थीहरू विदेश अध्ययनमा जाने गरेका छन् भने नेपालका विश्वविद्यालयमा भएका सिटमा विद्यार्थी संख्या पूरा हुन सकेकाे अवस्था छैन। विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउन के गर्ने ? सरकारले विश्वविद्यालय शिक्षाकाे गुणस्तर सुधार गर्न के गर्नुपर्छ ? कक्षा १२ को परीक्षा सकिएसँगै विद्यार्थीलाई कुन विषय कहाँ पढ्ने? खालि समयको सदुपयोग कसरी गर्ने? भन्ने विषयमा इन्जिनियरिङ कलेजहरूको छाता सँगठन (एकोन) का पूर्व अध्यक्ष एवं पीईए एसोसियनका सीईओ लक्ष्मण पोख्रेलसँग ईडियूसवालको तर्फबाट गरिएको कुराकानीको मुख्य अंश।
उच्च शिक्षा नेपालमै पढ्ने वातावरण बनाउन के गर्नुपर्छ ?
नेपाललाई शैक्षिक हब बनाउने विषयमा आवाज उठेपनि यस विषयमा सरकारले नीति बनाउन नसक्दा विदेशी विद्यार्थी भर्ना गर्ने र नेपाली विद्यार्थीलाई नेपालमा टिकाउन सक्ने अवस्था जटिल छ। विश्वविद्यालय शिक्षा तर्फ विद्यार्थी राजनीतिको अन्त्य नभएसम्म विद्यार्थी भर्ना गरेपनि टिकाउन सकिदैन। त्यसकारण नेपालको शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपलाई हटाउनुपर्छ।
देश तथा विदेश जुनसुकै ठाउँमा छरिएर रहेका सबै विश्वविद्यालयहरु खुल्ला आकाश जस्तै हो। विद्यार्थीहरु स्वतन्त्र छन्। उनीहरुले चाहेको विश्वविद्यालयमा पढ्न पाउने विद्यार्थीहरुको नैशंर्गिक अधिकार हो। तर इन्जिनियरिङ, मेडिकल र आईटी लगाएतका विषय नै पढ्नको लागि विद्यार्थी विदेश जानुपर्देन। नेपालमा यी विषय सम्बन्धि १ सय भन्दा बढी संकाय अन्र्तगतमा पठनपाठन हुन्छ। इन्जिनियरिङ विषय अन्र्तगत मात्र नेपालमा २० भन्दा बढी संकाय अन्र्तगत अध्ययन हुने गरेको छ।

नेपालमा जुनसुकै विषय अध्ययनको लागी विद्यार्थीलाई छनोटका थुप्रै विषयहरु उपलब्ध छन्। जसकारण विद्यार्थी बाहिर जानुपर्देन। नेपालमा सबैभन्दा बढी पढाई हुने विषय अन्र्तगत इन्जिनियरिङ, मेडिकल र आईटी लगाएतका विषय नै पर्ने भएकोले सरकारले पनि त्यहि अनुरुप व्यवस्था गरेको छ। कम्प्युटर इन्जिनियरिङ, आईटी, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका सूचना प्रविधिसँग सम्बन्धित अध्ययन र यस सम्बन्धि शिक्षा र रोजगारको लागी विद्यार्थी नेपाल बाहिर जानु पर्देन।
नेपालका विश्वविद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न नसकेको हो ?
आज भन्दा २० बर्ष अगाडी देखी नै विद्यार्थीहरु अध्ययनको लागि बाहिरी मुलुक जाने गरेको पाईन् । अहिले शैक्षिक क्षेत्रमा राजनीतिक प्रभाव परे पनि विगतमा यस्तो प्रभाव नपर्दा पनि नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागी विदेश जाने गरेका थिए। त्यहि समयमा उच्च शिक्षा अध्ययनको लागी विदेश गएका विद्यार्थीहरुलेनै अहिले विद्यार्थीहरुलाई अध्यापन गराईरहेका छन्। अहिले त सुचना प्रविधिको युग हो। विद्यार्थीहरु धेरै चलाख र शिक्षित भैसकेका छन् । उनिहरुले बृहत अध्ययन अनुसन्धान गरेर मात्र विश्वविद्यालय छनोट गर्छन्।
यसर्थ नेपालमा ५८ भन्दा बढी इन्जिनियरिङ कलेजहरु नेपाल इन्जिनियरिङ काउन्सिलमा रजिस्टर छन्। जसमध्ये ४० भन्दा बढी संस्थाहरुले बाहिरका संस्थाहरुसँग आवद्ध रहेर काम गर्दे आएका छन्। विद्यार्थी बाहिर जानु भनेको नेपालको विश्वविद्यालय शैक्षिक गुणस्तर उच्च नहुनु हो। विदेशी विद्यालयमा सहज रुपमा भर्ना भई विदेशी विद्यार्थीसँग नै प्रतिस्पर्धी रुपमा पढ्न र काम गर्न सक्षम हुनु नेपाली विश्वविद्यालयको गुणस्तर झल्किनु हो। त्यस्तै प्रत्यक बर्ष नेपाल इन्जिनियरिङ काउन्सिलले लिने ईन्ट्रान्स परीक्षामा नेपालका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले प्राप्त गरेका प्राप्ताङ्क बाट पनि विश्वविद्यालयको शैक्षिक गुणस्तर देख्न सकिन्छ।
विश्वविद्यालय छनोटको विषयमा विद्यार्थीहरु किन अन्यौलमा पर्ने गरेका होलान्?
कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीले यो कुरा बुझ्नुपर्छ कि जुनसुकै विश्वविद्यालयमा विषय अन्र्तगतको पाठ्यक्रम एकैखालको नै हुन्छ। हामीले बाहिरी मुलुकमा अध्ययन गरेर आएका विद्यार्थीहरुसँग पनि बुझ्न सक्छौँ। विद्यार्थीहरुले विश्वविद्यालय छनोट गर्दा उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात प्राप्त गरेका अवसर, पूर्व विद्यार्थीको फिडब्याकलाई हेरेर कलेज छनोट गर्नुपर्छ।

आफुले रोजेको विषय अनुसारको उपयुक्त शिक्षण संस्था फरक हुन सक्छ। विद्यार्थीको शैक्षिक सुधारमा सबै विश्वविद्यालय वा कलेजको मात्र हात हुन्छ भन्ने हुदैन। धेरै थोरै विद्यार्थीले पनि सक्दो मिहेनत गर्न आवश्यक पर्दछ। नेपालमा भएका विश्वविद्यालय बिच शैक्षिक गुणस्तरमा खासै फरक छैन। किनभने एउटा शिक्षकले ३–४ भन्दा बढी विश्वविद्यालयमा पढाईरहेका हुन्छन्। पढाउने मान्छे नै एकै भएपछि संस्था फरक भएर केही हुँदैन।
रोजगारको लागी दिनमा हुने पठनपाठनलाई समयअनुकुल मिलाएर विहानको सिफ्टमा पढाउन सम्भव छ?
संसारमा हरेक कुराको संम्भव छ। यस विषयमा पनि संम्भव नहुने भन्ने कुरा हुदैँन। दिनमा हुने पठनपाठनलाई विहान वा साँझको सिफ्टमा पढाउन संम्भव छ तर विश्वविद्यालयले तोकेको अनुसारको पाठ्यक्रम पुरा गर्न प्रयाप्त समय पुग्दैन। बिहानको सिफ्टमा समय पुग्दैन र साँझमा अबेरसम्म विद्यार्थीलाई पढाउन सम्भब पनि छैन। धेरै विद्यार्थीहरु टाढा टाढाबाट पनि पढ्न आएका हुन्छन्।
नेपालमा विदेशी मुलुकमा जस्तो सुरक्षाको व्यवस्था पनि छैन। जसकारण रातीसम्म पढ्ने, काम गर्ने वातावरण तुलनात्मक हिसाबमा अरु देशमा भन्दा कठिनाई छ। यसको समाधानको लागी नेपाल सरकारले यी विषय सम्बन्धि पार्ट टाईममा गर्न सकिने रोजगार सिर्जना गर्न सके पढाई पनि हुने र विद्यार्थीले रोजगारी पनि प्राप्त गर्न सक्छन्।
तपाईको विचारमा विद्यार्थीहरुलाई तयारी कक्षाको आवश्यकता किन पर्दछ ?
विशेष गरी विद्यार्थीहरुको खाली समयको सदुपयोग हुन्छ। विद्यार्थीहरु पाठ्यक्रमको ढाँचा र एमबीसीले लिने परिक्षाको प्रश्नपत्र बारे जानकार हुन्छन्। विद्यार्थीहरुले कक्षा ११ र १२ मा सरल र सहज तरिकाले अध्ययन गर्थे भने तयारी कक्षामा त्यही विषयवस्तुलाई विभिन्न ट्रिकी तरिकाले सिकाईन्छ ।
तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरुले पनि एमबीसी र विश्वविद्यालयले लिने परीक्षाको ढाँचामा त्यहि अनुरुप हप्ता दिन वा ३–४ दिनको फरक परिक्षा लिने भएकोले विद्यार्थीलाई सहज हुन्छ। विद्यार्थीहरुलाई पढ्ने बानीको विकास हुन्छ।
नेपालमा तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरुको पनि धेरै महत्व छ। किनभने यी संस्थाहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रहरुमा विभिन्न माध्यम मार्फत प्रचार गरेर विद्यार्थीलाई एकै ठाँउमा जम्मा गरी परीक्षाको लागी सक्षम बनाई विश्वविद्यालयमा भर्ना गरिदिएको हुन्छ। यो लेभलसम्म प्रचार गर्दा त विश्वविद्यालयमा विद्यार्थीको खडेरी हुन्छ भने यी संस्थाहरुले विद्यार्थीलाई जम्मा नगरी परीक्षाको लागी योग्य नबाईदिने हो भने के हुन्छ हामी आँफै मनन गरौँ।
पिइए एसोसिएसनको तर्फबाट कक्षा १२ पढिरहेका विद्यार्थी र अभिभावकहरुलाई के भन्न चाहनुहुन्छ ?
पिइए एसोसिएसनले विद्यार्थीहरुको लागी ‘पिइए डिजिटल’ नामक अनलाईन एप सञ्चालनमा ल्याएको छ। काठमाडौँ बाहिर रहेका विद्यार्थीहरु जो विभिन्न कारणले काठमाडौँमा उपस्थित हुन सकेका हुँदैनन् उनीहरुको लागी यो उत्तम विकल्प रहेको छ। यस अनलाईन एपलाई पिइए एसोसिएसनले कोभिडको महामारी आउनुअघि नै सञ्चालनमा ल्याएको थियो। जुन समयमा यस एप डाउन्लोड गर्ने ५ सय विद्यार्थी थिए।

सो समयमा विभिन्न शैक्षिक संस्था र शिक्षित व्यक्तिहरुले पनि अनलाईनको जरुरी छैन। विद्यार्थी कक्षा कोठामा नै उपस्थित भैहाल्छन् नि यो पैसा तह लगाउने बाटो हो जस्ता नकारात्मक प्रतिक्रिया दिने गर्दथे तर यो महामारी पछि यस अनलाईन एपको बाहेक विकल्प भएन। हाल यस पिइए डिजिटल नामक अनलाईन एपलाई १९ हजार भन्दा बढी विद्यार्थीले डाउनलोड गरेका छन्।
अहिले विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भएर पढ्न भन्दा अनलाईन पढ्न रुचाँउछन्। अनलाईनमा शुल्क पनि अत्यन्तै कम हुने र विद्यार्थीहरुले पनि कक्षाको भिडमा भन्दा घरमा एक्लै पढ्न रुचाँउछन्। त्यसकारण विद्यार्थीहरुले कक्षामा शिक्षकसँग आँखामा आँखा जुदाई पढेमा बुझिन्छ भन्ने पुरानो भ्रमलाई त्याग्न जरुरी छ। अहिले सुचना प्रविधिको युग हो। समयसँगै भएको प्रविधिको परिवर्तनलाई स्वीकार्न जरुरी छ।