काठमाडाैँ - पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-१० जामुस्थित जनज्योति माध्यमिक विद्यालयका गणित शिक्षक हरिस खनाल रोजगारीका लागि जापान जान लागेका छन्। खनालकाे बिदाइ कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले उनलाई फूलमाला लगाएर बिदाइ गरेका थिए। तर यस सम्मान र फूलमालामा देशमा भविष्य नदेखेका शिक्षकको पीडा र बाध्यता लुकेको छ। विद्यार्थीहरू उनलाई बिदाइ गर्दा भावुक बनेका थिए।
चौकुने गाउँपालिका-१० घाटगाउँका २८ वर्षीय हरिसले जनज्योति माध्यमिक विद्यालय जामुमा १३ महिना अध्यापन गराए। करिब ९ वर्षदेखि शिक्षण पेसामा संलग्न उनले सोचेजस्तो भविष्य नपाएपछि भविष्यको खोजीमा जापान जान लागेको बताएका छन्।
हरिसले २०७० सालमा सरस्वती मावि चौकुनेबाट एसएलसी उत्तीर्ण गरे। आर्थिक अवस्था कमजोर भएकाले उनले पढ्दै पढाउन थालेका थिए। एसएलसी उत्तीर्णपछि उनी उच्च शिक्षा अध्ययन गर्न वीरेन्द्रनगर छिरे। तर उनका लागि त्यहाँ निकै संघर्ष थियो। उनी वीरेन्द्रनगरको जन माविमा कक्षा ११ मा भर्ना भए। त्यहीँबाट अध्यापन यात्रा सुरु भएको उनी बताउँछन्।
_Z9sqZlK3Is.jpg)
कक्षा ११ कक्षा पढ्दै गर्दा उनले निजी विद्यालयमा पढाउन थालेका थिए। कारण, घरबाट खर्च पढाउन निकै धौधो थियो। वीरेन्द्रनगरको तातापानीस्थित ग्रीनल्यान्ड एकेडेमीमा ११ हजार रुपैयाँ मासिक तलबमा उनले जागिर सुरु गरे, उनले त्यहाँ करिब तीन वर्ष बिताए। त्यसपछि बुलबुलेको भेरी एकेडेमी र चिल्ड्रेन्स प्याराडाइजमा पनि गणित विषय नै अध्यापन गराए। शिक्षा क्याम्पसबाट गणित विषयमै स्नातक तह पूरा गरेका हरिसले निजी विद्यालयको जागिरबाट आफ्नो परिवारको आर्थिक अवस्था धान्न नसकिने बताउँछन्।
‘११ हजारबाट सुरु गरेर १३-१४ हजारसम्म मात्रै तलब पुग्यो,’ हरिस भन्छन्, ‘वीरेन्द्रनगरमा कोठा भाडा तिर्नबाहेक अरू केही गर्न सकिएन।’ नेपालको शिक्षण पेसामा उनले एक किसिमको निराशा मात्रै पाए। ‘शिक्षक आन्दोलनले पनि केही परिवर्तन गर्छ कि भन्ने आशा थियो, तर त्यो पनि व्यर्थ भयो,’ उनी भन्छन्, ‘समाजको हेर्ने दृष्टिकोण, स्थायित्वको अभाव र पारिश्रमिक कम हुँदा निकै निराश भए।’
त्यसपछि उनले आफ्नै गाउँमा पढाउन पाइन्छ कि भनेर खोजे। अवसरको खोजीमा रहेका उनी गाउँकै नजिक पर्ने पञ्चपुरी नगरपालिका-१० स्थित जनज्योति मावि जामु पुगे। त्यहाँ उनलाई मावि तहमा गणित शिक्षकका रूपमा अध्यापन गराउने वातावरण मिल्यो। १३ महिनाअघि उनी त्यहाँ पुगेका थिए। तर, सरकारी विद्यालयमा अस्थायी रूपमा छिरेर पनि भविष्य सुरक्षित बनाउला सकिएला भन्ने उनको आशा खेर गयो।
नेपालको शिक्षण पेसामा उनले एक किसिमको निराशा मात्रै पाए। ‘शिक्षक आन्दोलनले पनि केही परिवर्तन गर्छ कि भन्ने आशा थियो, तर त्यो पनि व्यर्थ भयो,’ उनी भन्छन्, ‘समाजको हेर्ने दृष्टिकोण, स्थायित्वको अभाव र पारिश्रमिक कम हुँदा निकै निराश भएँ।’ मावि तहको तलबले उनलाई घरको जिम्मेवारी, बुबाआमाको हेरचाह र दैनिक जीवन धान्न गाह्रो भयो। सामान्य बिरामी पर्दा पनि उनलाई उपचार खर्च जुटाउनसमेत हम्मे-हम्मे पर्यो। जसका कारण उनले शिक्षण पेसामा भविष्य देखेनन्। ‘रहरभन्दा पनि बाध्यताले यो परिस्थिति आइलाग्यो,’ हरिस भन्छन्।
_UYJp3QRPUU.jpg)
उनको परिवारमा चार भाइ र तीन दिदीबहिनी छन्, जसमा उनी कान्छा हुन्। उनी बुबाआमासँग बस्छन्। उनका सबै दाजुहरूले आ-आफ्नै तरिकारले घरजम गरेर बसेका छन्। कोही भारतलगायत मुलुकमा वैदेशिक रोजगारीमा छन् भने कोही यतै कतै। बुवाआमासँग भएकाले उनको काँधमा जिम्मेवारी थपियो । त्यसपछि उनी पनि बिदेसिने निर्णय गर्न बाध्य भए।
हरिसको जापान जाने निर्णय गरे। तर उनको यो निर्णय, व्यक्तिगत मात्र होइन, परिवारसँग पनि सल्लाह गरेका छन्। उनकी पत्नी दुई वर्षअघि नै करिब १८ लाख रुपैयाँ खर्चेर जापान गइसकेकी छन्, उक्त रकम सबै ऋण हो। उनी डिपेन्डेन्ट भिसामार्फत जापान जान लागेका छन्, त्यहाँ गएर उनले काम गर्नेछन्। तर सहकर्मी र विद्यार्थीहरूले फूलमालाले बिदाइ गर्दा देखाएको माया सम्झिँदा भने ‘यतै बसौँ कि’ जस्तो पनि लागेको उनी बताउँछन्।
सुरुमा नेपालमै बसेर शिक्षण पेसालाई निरन्तरता दिने र पत्नीले जापानमा अनुभव बटुल्ने सल्लाह आफूहरूले गरेको उनी बताउँछन्। उनको विवाह भएको साढे तीन वर्ष भयो। तर पछि आफूले नेपालमा शिक्षण पेसामा भविष्य नदेखेपछि जापान जाने निर्णय गर्नुपरेको बाध्यता उनी सुनाउँछन्। ‘पहिले नजाने भन्ने योजना थियो,’ हरिस भन्छन्, ‘अहिले दुवै जना उतै बस्दा केही राम्रो हुन्छ कि भन्ने सल्लाह भएर जापान जान लागेको हो।’
_7khPw7BpsV.jpg)
उनी डिपेन्डेन्ट भिसामार्फत जापान जान लागेका छन्, त्यहाँ गएर उनले काम गर्नेछन्। तर सहकर्मी र विद्यार्थीहरूले फूलमालाले बिदाइ गर्दा देखाएको माया सम्झिँदा भने ‘यतै बसौँ कि’ जस्तो पनि लागेको उनी बताउँछन्। उनलाई बिदाइ गर्दा विद्यार्थीहरू भावुक बनेका थिए। ‘तर के गर्नु ! यो नियति हो,’ उनी भन्छन्, ‘केही दिनपछि उड्दै छु, सबै तयारी भइसक्यो।’