काठमाडौँ- देशभर कार्यरत राहत शिक्षकहरूले आफ्ना सेवा, योगदान र भविष्यप्रतिको अन्योलताबारे चिन्ता व्यक्त गरेका छन्। खुला पत्र लेख्दै उनीहरूले शिक्षा क्षेत्रमा लामो समयदेखि निरन्तर सेवा दिँदै आए पनि आफ्नो पेशागत सुरक्षा, स्थायित्व र सम्मान सुनिश्चित हुन नसकेको बताएका हुन्।
खुला पत्रमार्फत राहत शिक्षकहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफूहरूलाई अस्थायी अवस्थामै राखिनु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले वर्षौँदेखि दुर्गम तथा सहज क्षेत्रका विद्यालयहरूमा अध्यापन गरिरहेको भए पनि स्थायी शिक्षकसरह सेवा–सुविधा र अवसर प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।
यस्ताे छ राहत शिक्षककाे खुलापत्र
माननीय शिक्षा मन्त्रीज्यू,
म यो खुला पत्र मार्फत देशभर कार्यरत “राहत शिक्षक” हरूका तर्फबाट केही महत्वपूर्ण समस्या र तिनका समाधानका मागहरू तपाईं समक्ष राख्न चाहन्छु। शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो, र त्यसको जग मजबुत बनाउन हामी राहत शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। तर दुर्भाग्यवश, हामी अझै पनि अस्थिरता, अन्याय र अनिश्चिततामा काम गर्न बाध्य छौं।
मुख्य समस्याहरू
नाेकरीको असुरक्षा
राहत शिक्षकहरू वर्षौंदेखि सेवा गर्दै आए पनि स्थायी नियुक्तिको कुनै स्पष्ट व्यवस्था छैन।
तलब तथा सेवा सुविधा न्यून
स्थायी शिक्षकको तुलनामा राहत शिक्षकहरूले निकै कम तलब र सेवा, सुविधा बाट पेशाको शुरुवात गरि बिसौं वर्ष पार गर्दा समेत समान सेवा सुबिधा र अवसर पाएका छैनन तथा अझै जागिरको सुनिश्चितता नहुनु दुर्भाग्य र अन्यायपूर्ण छ ।
पदोन्नति तथा भविष्यको सुनिश्चितता अभाव
दीर्घकालीन सेवा गरे पनि पदोन्नति वा भविष्य सुरक्षित हुने कुनै स्पष्ट नीति छैन।
राजनीतिक हस्तक्षेप र अन्योल
नियमित नीति नबन्नु र बारम्बार परिवर्तन हुनुका कारण राहत शिक्षकहरू अन्योलमा छन्।
हाम्रा मागहरू
१. राहत शिक्षकहरूलाई स्थायी दरबन्दीमा समायोजन गर्ने व्यवस्था तत्काल लागू गरियोस्।
२. समान कामको लागि समान तलब र सुविधा सुनिश्चित गरियोस्।
३. स्पष्ट र पारदर्शी पदोन्नति तथा वृत्ति विकास नीति निर्माण गरियोस्।
४. शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप कम गर्दै स्थिर नीति लागू गरियोस्।
५. राहत शिक्षकहरूको सेवा अवधि गणना गरी भविष्य सुरक्षित गर्ने व्यवस्था मिलाइयोस्।
६. हामी राहत शिक्षकहरू दोषी होइनौं, राज्यको नीतिका कारण पीडित हौं। हाम्रो न्यायिक व्यवस्थापन गर्नु राज्यको दायित्व हो।
७. आफ्नो ऊर्जाशील समय राहत शिक्षकको रुपमा समर्पण गर्नुभएका केही राहत शिक्षकहरु दुई तीन दशक शिक्षण सेवामा योगदान गर्दै उमेर हदका कारण रित्तो हात अवकाश भएका छन केही साथीहरु अझै उमेर हदको नजिक हुनुहुन्छ !
संगैको अर्को थरी स्थायी शिक्षकले पेन्सन उपदानलगायतका सेवा सुबिधा सहित अवकास हुँदा राहत शिक्षक रित्तो हात घर जानू घोर अन्याय हो । एउटै पेशा अनि समान काम गर्ने पेशाकर्मीहरुमाथी राज्यले यस्तो विभेद गर्न मिल्दैन तसर्थ त्यस्ता उमेर हदका कारण अवकाश भएका र अब अवकाश हुने राहत शिक्षकहरुलाई यथाशीघ्र सम्मानजनक सेवा सुबिधाको प्रबन्ध गरि संविधान प्रदत्त समानताको हकको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो।
विगत दुई दशकदेखि राहत शिक्षकको रूपमा श्रम शोषण गरिँदै अनिश्चित भविष्यमा राखिएका राहत शिक्षकहरूको सेवा अवधि र योगदानको समुचित मूल्यांकन गरियोस्। उमेर तथा सेवा अवधि बाँकी रहेका शिक्षकहरूलाई समान सेवा–सुविधासहित पेशागत सुनिश्चितता प्रदान गरियोस्। साथै, उमेर तथा सेवा अवधि पूरा गरिसकेका शिक्षकहरूलाई सम्मानजनक रूपमा सेवा अवधिको आधारमा पेन्सन तथा गोल्डेन ह्यान्डसेक सहित विदाइ गर्ने व्यवस्था गरियोस्।
माननीय मन्त्रीज्यू,
हामी शिक्षा क्षेत्रमा समर्पित भएर काम गरिरहेका छौं। यदि हाम्रो मनोबल कमजोर भयो भने त्यसको असर प्रत्यक्ष रूपमा विद्यार्थी र राष्ट्रको भविष्यमा पर्छ। त्यसैले, हाम्रो समस्या समाधान गर्नु भनेको शिक्षा प्रणाली सुधार्नु हो।
हामी आशा गर्दछौं कि तपाईंले हाम्रो आवाजलाई गम्भीरतापूर्वक लिनुहुनेछ र आवश्यक कदम चाल्नुहुनेछ।
धन्यवाद।