काठमाडौँ - शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले देशका आठ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ। मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै असार १३ गतेदेखि १५ गतेसम्म प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुने जनाएको हो।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता शिक्षा मन्त्रालयमा हुनेछन्।
शिक्षा मन्त्रालयका अनुसार हाल १५ वटा विश्वविद्यालय उपकुलपति र रजिष्ट्रारको निमित्त नेतृत्वमा सञ्चालन भइरहेका छन्। ती विश्वविद्यालयमा स्थायी नेतृत्व नियुक्त गर्ने उद्देश्यले मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो।
यसअघि गत जेठ २२ गते मन्त्रालयले आठ विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये ७७ जनाको नाम समावेश भएको अल्पसूची सार्वजनिक गरेको थियो। अल्पसूचीमा त्रिभुवन, सुदूरपश्चिम, पूर्वाञ्चल, मध्यपश्चिम, पोखरा, राजर्षि जनक, कृषि तथा वन विज्ञान तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका आकांक्षीहरू समावेश छन्।
उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परेका उम्मेदवारहरूको योग्यता, अनुभव र कार्ययोजनाबारे सरोकारवाला निकाय तथा सर्वसाधारणबाट राय–सुझावसमेत माग गरेको थियो। अब प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएपछि समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्ने प्रक्रिया अगाडि बढाउनेछ।
विश्वविद्यालयहरूमा लामो समयदेखि नेतृत्व रिक्त रहँदा शैक्षिक, प्रशासनिक तथा नीतिगत निर्णयमा प्रभाव परेको भन्दै सरोकारवालाहरूले यथाशीघ्र स्थायी नेतृत्व नियुक्त गर्न माग गर्दै आएका छन्।