काठमाडौँ- देशैभरि यतिबेला सार्वजनिक अतिक्रमित जग्गामा डोजर चलाइएको छ। काठमाडौंका खोला किनारका बस्ती हटाइएका छन्। यसैक्रममा काठमाडौँ उपत्यकामा ३ वटा सामुदायिक विद्यालयका भवन समेत भत्काईएको छ। अर्को तर्फ विद्यालय र विश्वविद्यालयकै कयौ रोपनी जग्गा अतिक्रमित भएको छ।
यस्ता अतिक्रमित जग्गा फिर्ता ल्याउन बालेन्द्र शाह नेतृत्वको सरकारले चासो दिएको छैन।त्रिभुवनविश्वविद्यालय स्वंयमले मातहत रहेका जग्गा फिर्ता ल्याउन आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका सङ्घ/संस्था र सङ्गठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा १७ वटा सङ्घ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको हो।त्रिविको जग्गा २१ वटा सङ्घ–संस्थाले ओगटेका छन्।
३५ दिने सार्वजनिक सूचना जारी भइसकेको छ । १७ वटा सङ्घ, संस्था र सङ्गठनलाई पत्र काटेकोसामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले बताए। त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका १८ वटा सङ्घ–संस्थाले भोगचलन गर्दे आएका छन्।त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’ को प्रतिवेदनमा १८ वटा सङ्घ–संस्थाको रजाइँ रहेको उल्लेख गरिएको छ।
त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ । यही प्रतिवेदनका आधारमा त्रिविले जग्गा खाली गर्न पत्र काटेको प्रशासन प्रमुख राईले जानकारी दिए। त्रिविले काटेको पत्रमा जुन प्रयोजनका लागि उपलब्ध गराइएको हो त्यो नभएकाले खाली गर्न सबै सङ्घ–संस्थालाई भनिएको छ ।
कसले कति जग्गा प्रयोग गरेका छन् ?
त्रिविको कीर्तिपुर परिसरभित्र रहेका जग्गा २०१३ सालदेखि विभिन्न समयमा अधिग्रहण भएका हुन्। तर पछि ती सङ्घ–संस्थाले कति कब्जा गरेका र कतिलाई त्रिविको कार्यकारी परिषद्बाट निर्णय गरेर दिइएको हो भन्ने पाइएको छ। कतिपय सङ्घ–संस्थाहरूले बिनास्वीकृति कब्जा गरी उपभोग गरेको प्रतिवेदनमा उल्लेख छ।
बीपी प्लानेटोरियम तथा अब्जरभेटरीलाई १६० रोपनी, कृषि बागबानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई १सय ५ रोपनी जग्गा नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ।
महानगरीय प्रहरी वृत्त (कीर्तिपुर) लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी) लाई ४ रोपनी, नेपाल प्राध्यापक सङ्घलाई ६ रोपनी १२ आना, ग्लोबल आइएमई बैङ्क, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट सङ्घ (७६ रोपनी ४ आना ३ दाम), नेपाल बैङ्क लिमिटेड भवन आदिलाई समेत गरी जग्गा उपलब्ध गराएको देखिन्छ।त्रिविको कुनै निर्णय तथा स्वीकृति, सम्झौताबिना त्रिविको नापनक्सा एवं लालपुर्जा भएको करिब १५ रोपनी जग्गा २०४७÷०४८ सालदेखि राधास्वामी सत्सङ्ग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको पाइएको छ।कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा नै जग्गाधनी दर्ता प्रमाणपुर्जा भएको कीर्तिपुर नगरपालिका वडा नं. १० को कि.नं. ३४ को १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा ल्याबोरेटरी माध्यमिक विद्यालयले अनधिकृत रूपमा जबर्जस्ती कब्जा गरी उपयोग गरिरहेको पनि देखिन्छ ।त्रिवि र नेपाल क्रिकेट सङ्घबिच मिति २०५४ वैशाख २० र २०५९ वैशाख १ मा गरी २ पटक द्विपक्षीय सम्झौताबमोजिम त्रिवि क्रिकेट रङ्गशाला (त्रिविको स्वामित्वमा रहेको कि.नं. ३२ को ७६–४–३–० रोपनी) जग्गा भाडामा दिइएको छ।
नेत्रज्योति सङ्घलाई मिति २०७२ असार २ गतेको सम्झौताबमोजिम २० वर्षका लागि १० रोपनी जग्गा भोगाधिकारमा दिइएको देखिन्छ।नेपाल बैङ्क लिमिटेडलाई कहिलेदेखि जग्गा उपलब्ध गराइएको भन्ने विवरण ‘उपलब्ध नभएको’ प्रतिवेदनमा उल्लेख छ।तर नेपाल बैङ्कले समितिलाई उपलब्ध गराएको पत्रमा भने मिति २०२६ साल मङ्सिर २२ को त्रिवि रजिस्ट्रार कार्यालयको पत्रका आधारमा जग्गामा भवन बनाई उपभोगमा ल्याउन सक्ने गरी स्वीकृति दिएको भनिएको छ। त्रिभुवन विश्वविद्यालयको जग्गा कीर्तिपुर नगरपालिकाको मिलेमतोमा प्रयोग भइरहेको पाइएको छ।
त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुङ्गा, गिट्टी र बालुवाको डिपो समेत सञ्चालन गरिएको पाइएको छ।हाल विश्वविद्यालयका उपकुलपति लगायतकाका पदहरु खाली छ, जसलेगर्दा यसलाई निष्कर्ष पुर्याउनका लागि सरकारले अग्रसरता लिनुपर्ने देखिन्छ। त्रिभुवन विश्वविद्यालय मात्र होईन,जम्मा १६ सय बिघा जमिनमा फैलिएको नेपाल संस्कृत विश्वविद्यालयको १३ सय ३६ बिघा जमिन पनि अरूहरूकै भोगचलनमा रहेको छ।देश सशस्त्र द्वन्द्वमा भएका बेला विद्रोही समूहले उक्त विश्वविद्यालयको जमिन कब्जा ग¥यो र भूमिहीनलाई भन्दै बस्ती नै बसायो। २०६३ सालमा शान्ति सम्झौता भइसकेपछि पनि त्यो जमिन फिर्ता नआएको विश्वविद्यालयका अधिकारीहरु बताँउछन्।