काठमाडौँ- विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श व्यवसायीले सहजीकरण गर्दै आएका छन्। केन्द्र र प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका परामर्श व्यवसायीले विद्यार्थीलाई प्रदान गरिरहेको सेवा, विदेश अध्ययनमा जानु अघि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा, शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्यले चाल्नुपर्ने कदम, उच्च शिक्षा ऐन र नियमावली बनाउँदा सरकारले समेट्नुपर्ने शैक्षिक परामर्श क्षेत्रका महत्वपूर्ण सवालका विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु)सँग गरिएको कुराकानीको मुख्य अंश:
नेपालमा शैक्षिक परामर्शदाताहरुको अवस्था कस्तो छ?
शैक्षिक परामर्श दिने कम्पनी तथा व्यवसायीहरुको मुख्य काम भनेको विदेशमा अध्ययनका लागि जान चाहाने विद्यार्थीहरुलाई सहजीकरण गरिदिने हो। विदेशका विश्वविद्यालय एंव कलेजहरुसँग समन्वय गर्दै विद्यार्थीहरुलाई विश्वविद्यालय वा कलेजका बारेमा जानकारी दिने, के कति खर्च लाग्छ, जानु अघि गर्नुपर्ने तयारी लगायतका विषयमा जानकारी दिनेनै परामर्शदाताहरुको महत्वपूर्ण जिम्मेवारी हो। परामर्श व्यवसायीले विद्यार्थी केन्द्रित भएर शैक्षिक परामर्श प्रदान गर्दै आएका छन्।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउनका लागि कस्तो पहल भैरहेको छ?
शैक्षिक परामर्श दातृ संस्थाहरूलाई व्यवस्थित गराउने सन्दर्भमा इक्यानले आफ्नो आचारसंहिता बनाएको छ। यसलाई मर्यादित र व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो। सोही अनुरुपनै हामीले नेपाल शैक्षिक परामर्श संघमा आवद्ध रहेका व्यवसायीलाई नियमन गर्दै आएका छौँ। परामर्शदाताहरुको न्यूनतम योग्यता लागू गर्ने देखि भाषा तयारी कक्षा सञ्चालन गर्ने परामर्शदातृ संस्थामा कार्यरत प्रशिक्षकहरुको योग्यतामा हामीले ध्यान दिने गरेका छौँ। सरकारसँग हामीले परामर्श व्यसायलाई नियमन गर्न एउटा छुट्टै ऐनद्वारा निर्दिष्ट गर्न भनेका छौँ। परामर्श व्यवसाय शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसलाई केन्द्र वा प्रदेशले हेर्ने भन्ने स्पष्ट पार्न पनि आवश्यक देखिन्छ।
संघीय सरकार र प्रदेश सरकारमा दर्ता भएका शैक्षिक परामर्श कन्सलटेन्सीहरुलाई केन्द्रीकृत गरि एनओसीमा सूचीकृत गर्न आवश्यक छ। यसले सरकारलाई नियमनमा समेत सहयोग गर्छ। सेवा क्षेत्रका रुपमा शैक्षिक परामर्श क्षेत्र एउटा सानो युनिटका रुपमा रहेपनि अझ व्यवस्थित बनाउनु सरकारको दायित्व हो।
अहिले विदेशमा पढ्न जानु भन्दा स्वदेशमै ठिक भनिन्छ नि?
विश्वव्यापीकरणको समयमा एक व्यक्तिको आफ्नो चाहाना र सपनामा कोही पनि बाधक बन्नुहुँदैन। सरकारले आजको आजै अब विद्यार्थीलाई विदेश जान बन्द गर्छु र गर्नुपर्छ भन्ने विषय सान्दर्भिक छैन। हिजो देखिनै मानिसहरु अवसरका लागि विभिन्न ठाँउमा जाने परम्परा रहँदै आएको छ।
पछिल्लो समय अब देश बाहिर गुणस्तरीय शिक्षा, अवसर र सम्भावनाको खोजीमा हिड्नु नराम्रो होइन। यसलाई नयाँ नीति बनाएर रोक्ने भन्दा दिर्घकालीन लक्ष्य लिएर स्वदेश भित्रै नयाँ अवसर सिजना गर्न तर्फ लाग्न सके विदेशमा पढ्न जाने क्रम आँफै रोकिन सक्छ। गुणस्तरीय शिक्षा र अवसर स्वदेशमै भए विदेश जानेको संख्यामा पनि कमी हुन्छ।
नेपाली विद्यार्थीहरु विदेश अध्ययनका लागि जानुको कारण के देख्नुहुन्छ?
नेपालीहरु अध्ययनका लागि विदेश जानु भनेको स्वदेशमा भन्दा राम्रो अवसरको खोजीमै हो। नेपाल जस्ता मुलुकबाट विदेश जाने भनेको अवसर, पारिवारिक अवस्था र चाहाना पनि हो। विदेशमा पढाइसँगै रोजगारी पनि पाइने भएकाले विद्यार्थीको रोजाइमा विदेशका शैक्षिक गन्तव्य पर्ने गरेको हो। विदेशी विश्वविद्यालयको डिग्री लिएर आफ्नो क्षमता बढाउन चाहान्छन्। त्यसैले नेपालीहरु विदेशमा अध्ययन गर्न जानुलाई उनीहरूको क्षमता वृद्धि, भविष्यको सुनिश्चितता लगायतको विषयसँग जोड्नुपर्छ।
विद्यार्थीहरु विदेश पढनका लागि कन्सल्टेन्सी नै पुग्नुपर्ने अवस्था हुन्छ ?
खासगरि कन्सल्टेन्सीहरु भनेको विदेशमा रहेका विश्वविद्यालयहरूसँग सहकार्य गरि काम गरिरहेका हुन्छन्। ति विश्विद्यालय र कलेजसँग निरन्तर सम्पर्कमा रहि काम गरिरहेका कारण पछिल्ला नीतिहरुमा समेत अभ्यस्त हुने अवस्था हन्छ। अहिलेको समयमा विद्यार्थी स्वंयले पनि जान चाहेको देश र कलेजका सन्दर्भमा जानकारी लिन सक्छन् तर प्रक्रियागत कागजपत्र बनाउन शैक्षिक परामर्शदातृ संस्थाहरूले सहजीकरण गर्दै आएका छन्।
विदेश अध्ययनमा जाने विद्यार्थीका सवालमा कनसल्टेन्सिहरु कत्तिको जवाफदेही हुन्छन्?
नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश गैइरहँदा कन्सल्टेन्सिहरूले उनीहरूलाई त्यहाँ पुगेपछि समस्यामा नपरुन भनी सहजीकरण गर्दै आएका छन्। विद्यार्थीहरुले रोजेको विश्वविद्यालय वा कलेजमा हामीले प्रक्रिया अघि बढाएर एउटा विद्यार्थी त्यहाँसम्म पुग्ने वातावरण बनाउँछौँ। विश्वविद्यालय र कलेजको सन्दर्भमा आएका समस्या समाधानमा इक्यानले पनि विद्यार्थी र अभिभावकलाई सहजिकरण गर्दै आएको छ। इक्यानको सपोर्ट सेन्टरलाई अझ प्रभावकारी बनाउनका लागि गैरआवासीय नेपाली संघको सहकार्यमा हामीले काम गर्न खाजी रहेका छौँ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू के – के छन्?
विदेश अध्ययनमा जान चाहने विद्यार्थीले आफू अध्ययन गर्न चाहने देशको शिक्षा नीति, भौतिक शैक्षिक वातावरण, लागत खर्च, छात्रवृत्तिको व्यवस्था लगायतका विषयमा ध्यान दिनु आवश्यक छ। विद्यार्थीहरूले कुनै पनि शैक्षिक गन्तव्य छनोट गर्दा विशेष गरि त्यहाँको स्थानीय वातावरणसँग घुलमिल हुन सक्ने गरि विद्यार्तीले भाषागत दक्षता वृद्धिमा ध्यान दिनुपर्दछ।
विद्यार्थी यति लामो समय तयारी गरेर जाँदा उसले स्कील सिकेर गएको खण्डमा पढ्दै काम गर्न सहज हुन्छ। विद्यार्थीले विदेशमा पार्लर, ग्राफीक डिजाइन, ऐज केयर ट्रेनिङ, आइटी तथा डिजिटल मार्केटिङको सर्ट टर्मकोर्सहरू सिकेर गएमा त्यहाँ गएर लामो समय बेरोजगार हुनुपर्दैन। विद्यार्थीहरू शैक्षिक गन्तव्य छनोट गरेसँगै आफूले पढ्न लागेको विषयबारे पनि अवगत हुनुपर्छ। आफूले पढेको विषयगत क्षेत्रमा काम पाइन्छ कि पाइदैन? अध्ययन पश्चातका अवसरहरू के – के छन् भन्ने विषयमा ध्यान दिनुपर्छ।
कक्षा १२ उत्तीर्ण गरेर विदेश अध्ययनको लागि योजना बनाइरहेका विद्यार्थीलाई तपाईको सुझाव के छ?
सबैभन्दा पहिले त विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेपछि स्वदेश वा विदेशमा कहाँ अध्ययन गर्ने हो स्पष्ट हुन आवश्यक छ। विदेश अध्ययन गर्न जाने अवस्थामा सबैभन्दा राम्रो अंग्रेजी माध्यमबाट अध्ययन हुने अथवा अंग्रेजी भाषा प्रयोग हुने देश छनौट गर्दा सहज हुन्छ। नेपालसँग मिल्दो वातावरण भएको मुलुक र नेपालीहरु पहिलेदेखि नै बसोबास गरेको मुलुकमा सहज हुन्छ।
पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा देशहरूमा दक्षिण कोरिया, जापान पनि पर्ने गरेको छ। यि देशमा दैनिक जिवनयापन गर्न भाषागत दक्षता अनिवार्य हुन्छ। ति देशहरुमा नेपाली विद्यार्थीहरुको ठूलै संख्या पनि छ। जुनसुकै मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीले अध्ययनसँगै र अध्ययन पश्चातको अवसरलाई मध्यनजर गर्नुपर्छ। विद्यार्थीले देश तर्फको फाइदा हेर्नुभन्दा पनि आफ्नो क्षमता, शैक्षिकस्तर र आर्थिक स्थिति हेरेर गन्तव्य पहिचान गर्न उपयुक्त हुन्छ।