काठमाडौँ - सरकारले काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती हटाउने क्रममा तीन वटा सामुदायिक विद्यालयका भवन डोजर लगाएर भत्काएको छ। यसबाट करिब ५ सयभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ।
भक्तपुरको मध्यपुर थिमिस्थित मनोहरा क्षेत्रको सरस्वती आधारभूत विद्यालय तथा काठमाडौँ महानगरपालिका–बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयका कक्षाकोठा भत्काइएका हुन्। ती विद्यालयहरूमा कक्षा ८ सम्म अध्ययन हुँदै आएको थियो। सरस्वती विद्यालयमा २ सय ७५ तथा बुद्धज्योति र बालकल्याणमा समान १२०/१२० विद्यार्थी अध्ययनरत थिए।
विद्यालय भवन भत्काइएसँगै नयाँ शैक्षिक सत्र सुरु हुने समयमा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन्। सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्दिरा महतका अनुसार, भवन भत्किएपछि पनि करिब १ सय ५० विद्यार्थीले भर्ना लिइसकेका छन्, तर कक्षा सञ्चालन गर्ने स्थानको टुंगो लाग्न सकेको छैन।
उनका अनुसार वडा नम्बर १ को कार्यालयअन्तर्गत रहेको सामुदायिक भवनका केही कोठामा विद्यालयका सामग्री सारिएको छ। “विद्यार्थी भर्ना भइसके, तर पढाउने ठाउँ छैन,” उनले भनिन्।
विद्यालय सञ्चालनका लागि मध्यपुर थिमि नगरपालिका, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग समन्वय भइरहेको जनाइएको छ। स्थानीय तहले भने ती विद्यालयहरूलाई नजिकका अन्य विद्यालयसँग समायोजन (मर्ज) गर्ने प्रस्ताव अघि सारेका छन्, तर अन्तिम निर्णय भने हुन बाँकी छ।
विद्यालयका शिक्षक र स्थानीय बासिन्दाले भने मर्जभन्दा पनि छुट्टै स्थानमा विद्यालय पुनःस्थापना गर्नुपर्ने माग गरेका छन्। सरस्वती विद्यालयमा हाल १५ जना शिक्षक कार्यरत छन्। २०६२ सालमा स्थापना भएको उक्त विद्यालयको भवन भूकम्पपछि पुनर्निर्माण गरिएको थियो। तीन वटा भवनमा रहेका १५ कक्षाकोठा डोजरले भत्काइएको जनाइएको छ।
बिना पूर्वसूचना र पर्याप्त छलफल नगरी विद्यालय भत्काइएको भन्दै शिक्षक र अभिभावकले असन्तुष्टि जनाएका छन्।
२०५३ देखि काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा सञ्चालित बुद्धज्योति विद्यालयको १६ कोठे भवन पनि शनिबार डोजर लगाएर भत्काइएको छ। समुदायले श्रमदान र आर्थिक सहयोग गरेर बनेको भवन भत्काइएको प्रधानाध्यापक शान्तराम श्रेष्ठले जनाए। ‘नयाँ बसपार्क क्षेत्रमा मजदुरी गर्ने अभिभावकका बालबालिका धेरै थिए,’ उनले भने, ‘डोजर चलेपछि छिमेकी विद्यालय तरुण माविमा लगेर विद्यालयको सरसामान राखेका छौँ। शिक्षक र विद्यार्थीलाई त्यहीं आउन भनेका छौँ।’ विद्यालयमा १ सय २० बालबालिका अध्ययरत थिए भने शिक्षक, कर्मचारी गरी १४ जना कार्यरत थिए।
महानगरपालिकासँग विद्यालय स्थानान्तरण गर्न माग गरिएको उनले जनाए।‘अहिले तरुण माविले आश्रय दिएको छ। विद्यालयका सबै सरसामान त्यहीं राखिएको छ। महानगरले पनि तरुण माविमा नै आश्रित हुनु भनेको छ,’ प्रअ श्रेष्ठले भने, ‘विद्यालयले जग्गा खोजेर विद्यालय स्थानान्तरण गर्न महानगरमा पत्र बुझाएको छ। के निर्णय हुन्छ थाहा छैन।’ यस वर्ष १५ नयाँ विद्यार्थी भर्ना भए पनि विद्यालय भवन नै नभएपछि अभिभावक अन्योलमा परेका छन्। सरकारी जग्गामा बसेको विद्यालय भवन नभत्काउन आग्रह गर्दासमेत सरकारी पक्षले सुनुवाइ नगरेको विद्यालयले जनाएको छ।