काठमाडौँ - सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि अझ सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यसहित नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको जनाएको छ।
सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यो पहल विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको विभागले स्पष्ट पारेको छ।
विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्रै पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछन्। प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटका सबै भागमा पहुँच प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
साथै ‘स्किप नेभिगेसन’ लिंकको सुविधा समावेश गरिएकाले किबोर्ड र स्क्रिन रिडर प्रयोगकर्ताले अनावश्यक सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा पुग्न सक्नेछन्।
वेबसाइटमा राखिएका तस्बिर, लोगो तथा अन्य दृश्य सामग्रीमा ‘अल्ट टेक्स्ट’ समावेश गरिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न थप सहज बनाउनेछ।
त्यस्तै, फाराम भर्ने क्रममा देखिने त्रुटि सन्देश र सुझावहरूलाई पनि स्पष्ट रूपमा सुन्न र बुझ्न मिल्ने गरी परिमार्जन गरिएको छ। सर्च र सम्पर्क फारामलगायत सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकोले प्रयोगकर्तालाई सजिलै नेभिगेट गर्न मद्दत पुग्नेछ।
किबोर्ड प्रयोगकर्ताका लागि आफू वेबसाइटको कुन भागमा छन् भन्ने थाहा पाउन दृश्य संकेतहरू पनि थपिएका छन्। साथै, फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरूलाई स्क्रिन रिडरले सजिलै पहिचान गर्न सक्ने बनाइएको विभागले जनाएको छ।
यी सुधारहरू सामान्य प्रयोगकर्तालाई खासै देखिन नसके पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी हुने विश्वास गरिएको छ।
महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पु¥याउने लक्ष्यलाई थप सुदृढ बनाउने उल्लेख गर्दै यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।