काठमाडाैँ- नेपालमा व्यवस्थापन र सूचना प्रविधि (आईटी) तर्फका जनशक्तीको माग बढेसँगै विश्वविद्यालय शिक्षामा यी विषय तर्फ विद्यार्थीको आकर्षण पनि बढेको छ। पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन र आईटी तर्फका नयाँ विषय अध्यापन हुने कलेजहरू खुल्ने क्रम पनि बढेको छ।
व्यवस्थापन र सूचना प्रविधि शिक्षा रोजगारमुलक र बजार केन्द्रित भएकाले विद्यार्थीको आकर्षण बढेको जानकारहरू बताउँछन्। कक्षा १२ उत्तीर्ण गरेर विश्वविद्यालय शिक्षाको ढोका खोल्ने विद्यार्थीको ठूलो संख्याले व्यवस्थापन र सूचना प्रविधि तर्फका विषय रोज्ने गरेका छन्।
व्यवस्थापन र आईटी तर्फका विद्यार्थी बढेका कारण बजारमा शिक्षा तथा रोजगारीको लागि विद्यार्थीहरूबीच प्रतिस्पर्धाको बाटो खुलेको छ। नेपालमा व्यवस्थापन तर्फका जनशक्ती विभिन्न सरकारी तथा निजी संस्थाहरूमा खपत हुने अवस्था छ। विद्यार्थीहरूलाई हालको बजारमा भिजाउन, व्यापार, उद्योग सञ्चालन गर्न सहयोग पुग्ने नयाँ पाठ्यक्रमहरू विश्वविद्यालयले सञ्चालनमा ल्याएका छन्।
विज्ञान प्रविधिको विकाससँगै संसारभर काम गर्ने तरिकामा पनि परिवर्तन आएको छ। मानवीय दैनिकी प्रविधिमैत्री हुँदै गएको छ। उत्पादन, वितरण तथा सेवाको प्रक्रियामा प्रविधिले ठूलो परिवर्तन ल्याएको छ। यस तथ्यलाई ध्यानमा राखेर विश्वविद्यालयहरूले नयाँ पाठ्यक्रम बनाएका छन्।
सोही अनुसार कलेजहरूले पनि अध्ययन अध्यापनमा जोड दिदैँ आएका छन्। तर, नेपालमा पढाइ र गराइमा थुप्रै बेमेल छन्। विश्वविद्यालय शिक्षा पुरा गरेका युवाले देशमा रोजगारीको अवसर नपाएको भन्दै विदेशियको र विदेशमा पनि उनीहरूले सीप नभएका कारण तल्लो तहका काम गर्नुपरेको अवस्था छ।
कक्षा १२ उत्तिर्ण गरेर विश्वविद्यालय प्रवेश गर्न लागेका विद्यार्थीले व्यवस्थापन र आईटी तर्फ कुन विषय अध्ययन गर्दा आफ्नो भविष्य सुनिश्चित गर्न सहज हुन्छ भन्ने उद्देश्यले यो समाग्री तयार पारिएको हो।
व्यवस्थापन र आईटी शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढेसँगै विषयगत विविधता बढेको छ। विभिन्न विषयमा विशेषज्ञता हासिल गर्ने कोर्स थपिएका छन्। नेपालमा व्यवस्थापन संकाय अन्तरर्गत ब्याचलर इन बिजनेस स्टडिज(बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स(बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम(बीबीएटीटी), ब्याचलर इन पब्लिक एडमिनिस्ट्रेसन (बीपीए) लगायतका विषय अध्यापन हुन्छ।
यस्तै स्नातक तहमा सूचना प्रविधि शिक्षा तर्फ ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी सिएसआइटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) लगायतका थुप्रै अन्य विषयहरू अध्ययन हुन्छ।
नेपालमा सञ्चालनमा रहेका १३ वटा विश्वविद्यालय मध्ये त्रिभुवन, पोखरा, पूर्वाञ्चल, काठमाडौँ, मध्यपश्चिम, सुदुर पश्चिम, गण्डकी विश्वविद्यालय र यि बाट सम्बन्धन प्राप्त कलेजमा व्यवस्थापन र आईटी तर्फका विषय अध्यापन हुन्छ।
बजारको माग अनुसारका विषय अध्ययन गरेका विद्यार्थीले अध्ययनपश्चात रोजगारीको अवसर पनि पाउने गरेका छन्। पछिल्लो समय अध्ययन पश्चात रोजगारीको अवसरका कारण पनि आम अभिभावक र विद्यार्थीको रोजाइमा व्यवस्थापन संकाय पर्ने गरेको त्रिभुवन विश्वविद्यलायका व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए।
उनले भने, ‘नेपालमा अध्यापन हुने संकायमध्ये सबैभन्दा धेरै विद्यार्थी भएको संकाय व्यवस्थापन संकाय हो। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ४७ प्रतिशत विद्यार्थीले व्यवस्थापन संकाय रोज्ने गरेका छन्। व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको दर प्रत्येक वर्ष बढ्दो क्रममा छ।’
यस्तै त्रिभुवन विश्वविद्यालय सीएसआईटी विभागका उपप्राध्यापक रामकृष्ण दाहालले समष्टिगत रुपमा अन्य विषयमा भन्दा आईटीमा विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको बताए। उनले भने,‘सबै विषयमा विद्यार्थीको कुल संख्या भन्दा आईटीमा नै विद्यार्थीको संख्या धेरै हुने अवस्था सृजना भएको छ। कम्प्युटर टेक्नोलोजिको विषय विश्वको जुनसुकै कुनामा गएर पनि पढ्न र रोजगारको लागि योग्य भएकाले नै यस तर्फ विद्यार्थीको आकर्षण बढेको हो।’
पछिल्लो समय नीजी शिक्षण संस्थामा पनि आईटी तर्फका विषय अध्ययन गर्न विद्यार्थी आकर्षित हुने गरेको समृद्धि कलेजका प्राचार्य सन्दिप श्रेष्ठले बताए। उनका अनुसार ‘समृद्धिमा आइटीको कोर्स सुरु भएदेखी नै विद्यार्थीको संख्या अत्याधिक मात्रामा रहेको छ। समृद्धिमा उपयुक्त भौतिक शैक्षिक पुर्वाधार हुनुको साथै कलेजले विद्यार्थीको उज्वल भविष्यको लागि करिअर प्लेसमेन्ट सर्भिस प्रदान गर्दै आएको छ। समृद्धिले युनिभर्सिटिको रिक्वायरमेन्ट बाहेक पनि विद्यार्थीहरूलाई कलेजको तर्फबाट विभिन्न तालिम दिने गरेको छ।
स्नातक तहमा अध्यापन हुने व्यवस्थापन र आईटी तर्फका विषय
ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस)
बीबीएसलाई व्यवस्थापन संकायको मुल विषयको रुपमा लिने गरिन्छ। बीबीएस विद्यार्थीहरूलाई सबै क्षेत्रका लागि कुशल प्रबन्धक, दक्ष, सिर्जनशील तथा जिम्मेवार व्यवस्थापक, उद्यमी, व्यापारी, मानव संशाधनको उचित व्यवस्थापन, सामाजिक र वित्तीय संस्थाहरूमा योग्यशिल र व्यापारको आधारभूत अवधारणाहरू जान्न अनुमति दिने प्रशिक्षित चार वर्षे कोर्स हो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ७ सय ७८ वटा क्याम्पसले बीबीएस कार्यक्रम सञ्चालन गर्दे आएका छन्। त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध कलेजहरूले प्रदान गर्दै आएको बीबीएसले बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी, सेयरबजार, उद्योग, शिक्षण संस्था, लोकसेवा, लेखा, मार्केटिङ, मानव संसाधन व्यवस्थापन र सरकारी एजेन्सीहरू तथा गैरसरकारी संस्थाहरूमा रोजगारीको लागि योग्य बनाँउछ।
व्यवस्थापन संकायबाट कक्षा १२ उत्तीर्ण, डिप्लस ग्रेड ल्याएका विद्यार्थीले ५० हजार देखी ३ लाख सम्मको खर्चमा विना प्रवेश परीक्षा बीबीएस अध्ययन गर्न पाउँछन्। जेहेन्दार, पिछडिएका, जनजाति, अपाङ्गता भएका विद्यार्थीहरुका लागि त्रिभुवन विश्वविद्यालयले कुल विद्यार्थी संख्याको दश प्रतिशत छात्रवृत्ति पनि उपलव्ध गराउँदै आएको छ।
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)
नेपालमा बीबीए अध्ययन विशिष्टिकृत हुँदै गएको विषय हो। बीबीए सैद्धान्तिक, व्यवहारिक र सीपसँग जोड्ने विषयको रुपमा परिचित छ। बीबीए विद्यार्थी, अभिभावक तथा आममानिसको रोजाइमा पर्न सफल विषय हो। बीबीएमा फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्स, ट्राभल एण्ड टुरिजम, वित्तीय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, अर्थशास्त्र, सूचना प्रणाली व्यवस्थापन, संगठनात्मक व्यवहार लगायतका विषय अध्यापन हुन्छ। यसलाई रोजगारमुखी विषयको रुपमा पनि लिइन्छ।
नेपालमा त्रिभुवन, काठमाडौँ, पोखरा, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यस विषयलाई सिमित कोटा छुट्टाएर सञ्चालन गरिरहेका छन् बीबीए ८ सेमेस्टरमा अध्यापन हुने चार वर्षीय विश्वस्तरीय कोर्ष हो।
बीबीए विश्वविद्यलायमा सञ्चालन हुने व्यवस्थापन संकायका कोर्षहरुमध्ये विद्यार्थी र आम अभिभावकको रोजाइको विषय हो। अहिले नेपालमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १ सय ३० भन्दा बढी बीबीए अध्ययन संस्थानहरुले पाठ्यक्रम, शैक्षिक गतिविधी र गुणस्तरका हिसाबले विश्वविद्यालय अनुसार फरक – फरक ढंगले अध्यापन गराउँदै आएका छन्।
नेपालमा बढ्दाे बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा कर्पोरेट संस्थाहरुकोे कारण नै बीबीएको माग बढ्दै गएको हो। बीबीए अध्ययनको लागि नेपाली तथा विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजमा चार वर्षमा कम्तिमा ३ लाख देखी १० लाखसम्म शुल्क लिने गरेका छन्।
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम)
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिँदै अर्थतन्त्रको मेरुदण्ड सफल उद्यमी बन्न सिकाउँछ। व्यक्तिलाई उद्यमी बन्न प्रेरित गर्ने यो कोर्सले बैंक, फाइनान्स र वित्तीय संस्था सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्दछ। कम्पनीहरुको निरन्तर वृद्धिको लागि महत्पूर्ण भूमिका खेलेको बीबीएमले उद्योगको लागि आवश्यक नेतृत्व कौशल विकास गर्न सिकाँउछ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कोर्स चार वर्षे कोर्स हो जसमा ८ वटा सेमेस्टर हुन्छन्। यो विषय अध्ययन गर्न त्रिविले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ। क्याम्पसले दिने छुट बाहेक चार वर्षे बीबीएम कोर्स पढ्न ४ देखि ५ लाख खर्च लाग्छ। बीबीएम छात्रवृत्तिका लागि एसईई र प्लस टु सरकारी विद्यालयमा पढेको हुनुपर्छ।
ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम)
होटल व्यवस्थापन (बीएचएम) विद्यार्थीहरूलाई ग्राहक सेवा, कार्यक्रमको योजना र व्यवस्थापन, खाना र पेय पदार्थ उत्पादन, आतिथ्य सेवा वितरण, खानपान व्यवसायका लागि व्यवस्थापकीय स्तरमा तालिम दिने र विद्यार्थीहरूलाई होटल उद्योगमा काम गर्न सीप प्रदान गर्ने विषय हो। बीएचएमले विद्यार्थीलाई होटल व्यवस्थापक बनाँउछ।
बीएचएम पोखरा, त्रिभुवन, काठमाडौँ, मध्यपश्चिम र विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा करिब ५० वटा कलेजले अध्यापन गराउँदै आएका छन्। नेपालमा प्रत्येक वर्ष करिब ५ हजार विद्यार्थीले होटल व्यवस्थापन विषय अध्ययन गर्छन्।
नेपाली विद्यार्थी माझ लोकप्रिय बन्दै गएको बीएचएम ४ वर्ष ८ सेमेस्टर प्रणालीमा अध्यापन हुने कोर्स हो। सबै विश्वविद्यालयले जम्मा विद्यार्थीसंख्याको दश प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
बीएचएम कोर्स पूरा गर्न ५ देखि १२ लाखसम्म खर्च हुँन्छ। विद्यार्थीलाई अध्ययन पश्चात स्वदेश तथा विदेशमा सहजै रोजगारीको अवसर पाउने भएकाले पनि यस विषय प्रति विद्यार्थीको आकर्षण बढ्दो छ।
ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम)
आईटी र व्यवस्थापनको मिश्रण रहेको विषय हो ‘बीआईएम’। आईटीको ६० र व्यवस्थापनको ४० प्रतिशत पाठ्यक्रम समावेश गरिएको यो विषय नेपाली विद्यार्थी माझ लोकप्रिय छ। बीआईएम इन्फर्मेसन सिस्टम, डेटा प्रोसेसिङ, नेटवर्किङ, सफ्टवेयर निर्माण र व्यवस्थापनका लागि चाहिने जनशक्ति उत्पादन गर्ने शिक्षा हो।
सूचना प्रविधिको विकाससँगै कुनै पनि कम्पनी चलाउन आईटी र व्यवस्थापन दुवैको ज्ञान आवश्यक पर्छ। देशलाई आर्थिक रूपमा समृद्ध बनाउन हार्डवेयर र सफट्वेयर प्रयोगको लागि दक्ष जनशक्तिको आवश्यक पर्दछ। यस्तो जनशक्ति उत्पादन गर्ने विषय बीआईएम हो।
नेपालमा प्राइभेट कम्पनी, बैंक, सहकारी, संघसंस्था, नेपाल सरकारको काम सबै कम्युटरको माध्यमबाट गर्न थालिएको छ। जसले गर्दा बीआईएमको महत्व बढ्दै गएको छ।
आठवटा सेमेस्टर प्रणालीमा आधारित बीआईएम त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा सञ्चालन गरिएको चारवर्षे कोर्स हो। यो विषयको लागि एक सेमेस्टरमा एउटा कलेजमा ६४ जनाको कोटा हुन्छ।
प्रत्येक कलेजमा चार जनाले छात्रवृत्ति पाउँछन् तर छात्रवृत्तिको लागि विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरी सिम्याट इन्ट्रान्स परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। सरकारी विद्यालयमा पढेको हुनुपर्छ। यो चारवर्षे कोर्स पढ्न क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक भएता पनि कम्तिमा ४ वर्षमा ५ लाख ५० हजार खर्च हुन्छ।
ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी–सीएसआईटी)
बीएससी–सीएसआईटी कम्प्युटर विज्ञान र सूचना प्रविधि विज्ञानको समिश्रण भएको स्नातक तहमा अध्यापन हुने कोर्स हो। कम्प्युटर सफ्टवेयर प्रणालीको आवश्यक ज्ञान र हार्डवेयर प्रणालीको कार्यात्मक ज्ञानका लागि यो कोर्स आवश्यक पर्छ।
अपरेटिङ सिस्टम, कम्प्युटर सञ्जाल, सफ्टवेयर इन्जिनियरिङ, र मोडलिङ, डेटाबेस प्रणाली, कम्प्युटर ग्राफिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, वेब टेक्नोलोजी जस्ता उच्च प्रविधि प्रयोगको लागि यस तर्फका जनशक्ती आवश्यक पर्छन्।
त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त बीएससी सीएसआईटी ४ वर्र्षे ८ सेमेस्टर प्रणालीमा अध्यापन हुने कोर्स हो। बीएससी-सीएसआईटी अध्यनको लागि सरकारी कलेजमा ३ देखि ४ लाख सम्म खर्च हुन्छ भने निजी कलेजमा ६ देखि १० लाखसम्म खर्च हुन्छ।
ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)
बीसीए आईटी सम्बन्धी कोर्स भएकोले कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ। कम्प्युटर (हार्डवेयर) लाई सरल र सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने हुदाँ बीसीएमा विद्यार्थीलाई एप्लिकेसन निर्माण गर्न सिकाइन्छ। बीसिए त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्यापन हुने चार वर्षे ८ सेमेस्टरको कोर्स हो।
बीसीए अध्ययन पश्चात सरकारी र गैरसरकारी आईटी उद्योग, एप्लिकेसन डेभलपमेन्ट सेन्टर, मोबाइल एप्लिकेसन, ई-कमर्स, आईटी रिसर्च, वेब डिजाइन, बैंक, टेलिकम, नेटवर्किङ लगायतका सूचनाप्रविधि तर्फका जनशक्ती आवश्यक पर्ने जुनसुकै संस्थामा पनि रोजगारीको अवसर प्राप्त गर्छन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीसीए कार्यक्रम अध्ययनको लागि कक्षा १२ मा २.० जीपीए वा दोस्रो श्रेणीमा उत्तीर्ण भएको र हरेक विषयमा डी प्लस ग्रेड र विश्वविद्यलायले लिने प्रवेश परिक्षामा ४० प्रतिशत अंक ल्याएको हुनुपर्दछ। कलेजले दिने छुटको आधारमा शुल्क फरक भएता पनि यो कोर्स पुरा गर्न चारबर्षमा कम्तीमा ४ देखि ८ लाख रुपैयाँसम्म शूल्क लाग्छ। बीसीए कार्यक्रम अहिले देशभर १ सय २४ वटा कलेजले सञ्चालन गरिरहेका छन्।
ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन (बीसीआईएस)
बीसीआइएस स्नातक तहमा पोखरा विश्वविद्यालयले तयार गरेको ४ वर्षे कोर्ष हो। ४ वर्षमा अध्ययन गरिने यो कोर्ष जुनसुकै विषयमा कक्षा ११ र १२ अध्ययन गरेर सी प्लस ग्रेड ल्याएका विद्यार्थीले पढ्न सक्छन्। आईटी र म्यानेजमेन्टका विषयहरू मिश्रण गरेर तयार पारिएको यो कोर्स तर्फ विद्यार्थी आकर्षित भएका छन्।
बीसीआईएसको कोर्षमा विद्यार्थीले व्यवस्थापन अन्तर्गत पर्ने सबै विषयहरू र आइटी अन्तर्गत पर्ने कार्यक्रम, प्रविधि, डेटाबेस, एप्लिकेसन, सफ्टवेयर लगायतका विषयहरू अध्ययन गर्छन्। जसले गर्दा सो कोर्सको अध्ययन गरिसकेपछि विद्यार्थीले आफूलाई आइटी वा म्यानेजमेन्ट दुबैतर्फ वा कुनै एक क्षेत्र रोजेर अगाडि बढ्न सक्छन्।
यो विषयको अध्ययन पश्चात विद्यार्थीले प्रणाली विश्लेषण, सूचना विश्लेषण, डेटाबेस म्यानेजर लगायतका धेरै क्षेत्रमा आफ्नो करिअर स्थापित गर्न सक्छ। साथै विद्यार्थीले स्नातकोत्तर तहमा म्यानेजमेन्ट वा आइटी विषयलाई रोजेर आफ्नो थप अध्ययनलाई अगाडि बढाउन सक्छ।
ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)
बीआईटी नेपालमा धेरै विश्वविद्यालयले भिन्न-भिन्न ढंगले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम हो। बीआईटी कक्षा ११ र १२ मध्ये कुनै एक कक्षामा गणित विषय लिएर उत्तिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्छन्। पूर्वाञ्चल विश्वविद्यालय र अन्य विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा यो कोर्स सञ्चालनमा छ।
कक्षा १२ मा डी प्लस ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न पाएका छन्। यो कोर्समा तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डेटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माण लगायतका विषयहरूको अध्यापन हुन्छ। यो विषय अध्ययन गरिसकेपछि विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरूको सञ्चालन गर्न सक्षम हुन्छन्।