काठमाडाैँ - साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण गरिएको छ। शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच भट्टराईले आफ्नो पुस्तक सार्वजनिक गरेका हुन्।
भट्टराई सँगसँगै सहभागी दर्शकहरूले सार्वजनिक रूपमा पुस्तक लोकार्पण गरेका थिए। पुस्तक फाइन पिन्टले बजारमा ल्याएको हो भने, पुस्तको मुल्य ५७५ रूपैयाँ रहेको छ। भट्टराईले जेनजी आन्दोलनमा हताहत भएका ब्यक्तिहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै समय जस्तो भएपनि आफ्नो गन्तव्य तर्फ लम्किन कहिले पनि पछि पर्न नहुने बताए।

उनले, आजसम्मको माया प्रेम स्नेह र पाठकहरूको सदासयताका लागि आफू नतमस्तक रहेको बताए। साथै उनले समय परिस्थिति बदलिनेछ तर, लेखकले त्यहि परिस्थितिलाई आत्मसम्मान र आत्मसात नगरे पाठकहरूबाट टाढा हुने बताए।
कार्यक्रममा एक मात्र वक्ता रहेका उनले यी कथाहरू सिनेमाप्रतिको आफ्नो महत्वाकांक्षाको उपज भएको बताए । ‘बाल्यकालदेखिको मेरो सिनेमाप्रतिको मोह वयस्कमा आइपुग्दा त्यो पनि हुर्किएर वयस्क भयो। र मभित्रको दर्शकले सिनेमा निर्माण गर्ने महत्वकांक्षा राख्यो,’ उनले भने, ‘सिनेमा बनाइहाल्ने आँट र सीप नभएता पनि सिनेमाजत्तिकै र जस्तै कथाहरू म लेख्न सक्छु भन्ने अठोट मैले सजिलै राखेँ। यी सप्तरंगी कथारू तीनै महत्त्वकांक्षा र लोभका नजिता हुन् ।’
‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्य जगत्मा आएका सुविनका यसअघि उपन्यासहरू ‘साया’, ‘समर लभ’, ‘मनसुन’,‘प्रिय सुफी’ र ‘इजोरिया’ उपन्यास प्रकाशित छन्। ‘चमेलीको फूल बैजनी रुमाल’लाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।


