काठमाडाैँ - बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शन दबाउन खेलेको भूमिकाका लागि मृत्युदण्डको सजाय माग गरिएको छ।अभियोजकहरूले मानवताविरुद्ध अपराधको आरोप लगाउँदै मृत्युदण्डको माग गरेका हुन्। यो माग विशेष अदालतमा बिहीबार प्रस्तुत गरिएको बीबीसीले जानकारी दिएको छ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। प्रदर्शनमा सुरक्षा बलको कारबाहीबाट धेरैको ज्यान गएको थियो। यो हिंसाले हसिनालाई सत्ताबाट हट्ने अवस्था सिर्जना भएको थियो। संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार जुलाई र अगस्ट महिनामा मात्रै करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो। यसलाई १९७१ को स्वतन्त्रता युद्धपछिको बंगलादेशको सबैभन्दा ठूलो हिंसा मानिएको छ।
हसिनाले अहिले भारतमा शरण लिएकी छन्। उनको मुद्दा चलिरहँदा सार्वजनिक उनका अडियो क्लिपमा सुरक्षा बललाई प्रदर्शनकारीविरुद्ध घातक हतियार चलाउन आदेश दिएको दाबी गरिएको छ। अभियोजकहरूले अदालतमा यी क्लिपहरू प्रस्तुत गरेका थिए। प्रहरीले पनि हसिनाको आवाजसँग मिलाएर प्रमाणित गरेको दाबी गरेको छ।
हसिनाले यी सबै आरोपलाई अस्वीकार गर्दै आएकी छिन्। उनको पक्षका सहयोगीहरूले यी आरोपहरू राजनीतिक रुपमा प्रेरित भएको भनेका छन्। ‘हसिनालाई एक हजार चार सय पटक मृत्युदण्ड दिनुपर्छ,’ बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने, ‘मानवीय रूपमा यो सम्भव नभएकोले हामी कम्तिमा एउटा मृत्युदण्डको माग गर्छौं।’
७८ वर्षीया हसिना विद्यार्थी विद्रोहको समयमा गरिएका सबै अपराधको लागि जिम्मेवार भएको अभियोजन पक्षको तर्क छ। उनको अनुपस्थितिमा दुई पूर्व वरिष्ठ अधिकारीहरूसँगै मुद्दा चलिरहेको छ।
हसिना सरकारमा गृहमन्त्री रहेका असदुज्जमान खान कमाल पनि फरार छन्। पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अलमामुन हिरासतमा छन्। उनले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेका छन्। अभियोजन पक्षले बिहीबार कमलले पनि मृत्युदण्ड भोग्नुपर्ने बताएको छ।