काठमाडाैँ- कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थी स्नातक तहमा आफ्नो रोजाइको विषय पढ्न उत्कृष्ट शिक्षणसंस्थाको खोजिमा हुन्छन्। विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गरेर विश्वविद्यालय शिक्षाको ढोका खोल्न तयारी अवस्थामा भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कस्तो शिक्षणसंस्था रोज्ने भन्ने अन्योल छ।
विश्वविद्यालय शिक्षा तर्फ व्यवस्थापन संकायमा सबैभन्दा धेरै करिब ४७ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। यस्तै सूचना प्रविधि तर्फ पनि विद्यार्थीको आकर्षण बढ्दो छ। कक्षा १२ मा व्यवस्थापन समूह तर्फका विषय अध्ययन गरेका विद्यार्थीका लागि विशेष गरेर स्नातक तहमा व्यवस्थापन संकाय तर्फका विषय नै रोजाइमा पर्ने गरेको छ।
भविष्यमा बैंक, वित्तियसंस्था लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने विद्यार्थीको लागि व्यवस्थापन संकाय तर्फका विषय अध्यापन गर्नु उपयुक्त हुन्छ। आफ्नै पेसा व्यवसाय सञ्चालन गरेर उद्यमशिल बन्न चाहने, बैंक तथा वित्तिय संस्थामा रोजगारी गर्न चाहनेका लागि व्यवस्थापन संकायका बीबीए, बीबीएम, बीएचएम जस्ता विषय उत्तम विकल्प हुन्।
देशमा विस्तार हुँदै गरेका वैंक तथा वित्तीय संस्था, जलविद्युत, शैक्षिक संस्था आदिको प्रशासन र लेखा सम्हाल्न व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ। निजी वा सार्वजनिक संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति व्यवस्थापन संकायले नै उत्पादन गर्छ। नेपालमा स्नातक तहमा ३ देखि ५ वर्षसम्मका कार्यक्रम सञ्चालित छन्।
पछिल्लो समय सूचना प्रविधि शिक्षातर्फ पनि विद्यार्थीको आकर्षण बढेको छ। अहिले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसक्यो। प्रविधिको साथ बिना काम गर्न नसकिने अवस्था सिर्जना भएको छ। जसले एकातिर काममा सहजता ल्याएको छ भने अर्कोतिर त्यसका लागि आवश्यक जनशक्तीको माग बढाएको छ।
सूचना प्रविधिका कोर्स अध्ययन गर्नेहरू हरेक क्षेत्रमा काम गर्न सक्छन् भने वेवपेज डिजाइनिङ, एनिमेसन, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ, नेटवर्किङ लगायतका क्षेत्रमा करिअर बनाउन सक्छन्। नेपालमा सूचना प्रविधि तर्फ बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी), बीआईटी (ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी), बीआईएम (ब्याचलर इन इनफर्मेसन म्यानेजमेन्ट), बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) लगायतका विषय अध्यापन हुन्छ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकाय तर्फका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
विश्वविद्यालयहरूले ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)मात्र नभएर व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन स्पोर्टस मयानेजमेन्ट (बीएसएम), ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) लगायतका विषयको अध्यापन हुन्छ।
यसका साथै नेपालमा व्यवस्थापन तर्फ विषयगत दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स (बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम (बीबीएटीटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस) बीबीए (फाइनान्स) लगायतका विषय अध्यापन हुन्छ।
यसका अलावा नेपाली विश्वविद्यालय मात्र नभइ नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजमा पनि विद्यार्थीले व्यवस्थापन र आईटी संकाय अन्तर्गतका विषय अध्ययन गर्ने गरेका छन्। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि नेपालमा बीबीए, एमबीए, बीआईटी, बीएचएम जस्ता व्यवस्थापन संकायका विषय नीजी कलेजहरूले सञ्चालन गर्दै आएका छन्। यस्तै विषय अध्ययन गर्न यी कलेजमा प्रत्येक वर्ष करिब २६ हजार विद्यार्थी भर्ना हुने गरेका छन्।
व्यवस्थापन र आईटी तर्फका विषय अध्ययन गर्न देशभरबाट काठमाडौँ उपत्यका भित्र अध्ययनका लागि आउने प्रचलन पनि छ। विद्यार्थीलाई विषय र विद्यालय छनोट गर्न सहज होस् भन्ने उद्देश्यले फेयरएक्सप्रेस मासिकले काठमाडौँ उपत्यका भित्रका व्यवस्थापन र आईटीका विषय अध्यापन हुने विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्थाको सूचि तयार पारेको छ।
यसका लागि क्याम्पसले विश्वविद्यालयबाट प्राप्त गरेको सम्बन्धन, अध्यापन हुने विषय, विद्यार्थी प्राप्त गरेको विगत तीन वर्षको नतिजा, विद्यार्थी संख्या, अध्यापन हुने विषय र स्कीकृत प्राप्त सिट संख्या, भौतिक शैक्षिक पूर्वाधार, क्षेत्रफल र भवन, अध्ययन पश्चात विद्यार्थीले प्राप्त गरेका उपलब्धी, शिक्षण सिकाइ उपलब्धी, शिक्षक विद्यार्थी अनुपात, कलेज स्तरीय प्रतियोगितामा प्राप्त गरेका पुरस्कार, कलेजले सञ्चालन गर्ने तालिम र उत्कृष्ट हुनुको कारण लगायतका विषयमा जानकारी लिई सत्यतथ्य विवरण सहित व्यवस्थापन र आईटी विषय अध्यापन हुने कलेजको सूची प्रस्तुत गरेका छौँ।
यी हुन् विद्यार्थीको रोजाइमा पर्न सफल व्यवस्थापन र आईटी अध्यापन हुने काठमाडौँ उपत्यकाका चर्चित शिक्षणसंस्था
शंकरदेब क्याम्पस, पुतलीसडक, काठमाडौँ
काठमाडौँको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बीबीए फाइनान्स) आदि विषयमा पढाइ हुन्छ।
विदेशका व्यवस्थापन संस्थानहरूसँग सञ्जाल विकास गर्ने, उत्तरदायी र रचनात्मक उद्यमीहरू उत्पादन गर्ने, व्यवस्थापकहरूको ज्ञान र सीपको अभिवृद्धि विकास गर्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सार्वजनिक क्षेत्रका लागि व्यवस्थापकहरू विकास गर्ने ध्ययका साथ यो संस्था नेपालमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
यस कलेजमा सम्पूर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन हुनुका साथै चमेनागृह, कम्प्यूटर ल्याब, डिजिटल ल्याब, स्मार्ट कक्षा कोठा, लाईब्रेरी लगायतका भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। प्राईम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्वारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारीमुलक तालिम तथा अन्य भौतिक सुबिधा रहेको कारण शंकरदेव क्याम्पस विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौँ
नेपाल कमर्स क्याम्पस व्यवस्थापनका विषय मात्र अध्ययन हुने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँ उपत्यका भित्र विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षण संस्था हो।
२०२१ सालमा स्थापना भएको कलेज त्रिभुवन विश्वविद्यालयको पुराना व्यवस्थापन कलेजहरू मध्ये एक हो। नेपाल कमर्स क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बीबीएएफ) लगायतका विषय अध्यापन हुन्छ।
नेपाल कमर्स क्याम्पसले स्थापनाकालदेखि शहुलियत शुल्कमा दक्ष जनशक्ती उत्पादन गर्न सफल भएको छ। यसले देशकै औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यो कलेजमा ९७ जना शिक्षक कार्यरत छन्।
नेपाल कमर्स क्याम्पसले हजारौँ स्नातक र स्नातकोत्तरहरू उत्पादन गरिसकेको छ। यहाँका उत्पादनले व्यवस्थापकीय जनशक्तीको रुपमा विभिन्न वित्तय संस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। जसले निरन्तर रूपमा निजामती सेवा, निजी क्षेत्रका साथै उत्कृष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), रविभवन, काठमाडौँ
काठमाडौँको रविभवनमा रहेकोे नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) कलेज होटल म्यानेजमेन्टको लागि नेपालको एकमात्र सरकारी कलेज हो। जुन कलेजमा व्यवस्थापन संकाय अन्तर्गत बीएचएम र बीटीटीएम विषय अध्यापन हुन्छ। यस कलेजमा ६० भन्दा बढी शिक्षकहरू कार्यरत छन्।
नाथममा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कार्यक्रमहरू सञ्चालनमा छन्। नाथमले पर्यटक गाइड, ट्रेकिङ गाइड, रिभर गाइड, फूड प्रोडक्सन, फूड एण्ड बेभरेज सर्भिस, बरिस्टा लगायत पर्यटन र आतिथ्यतामा अल्पकालीन तालिमहरू सञ्चालन गर्दै आएको छ।
पर्यटन शिक्षाका नेपालकै अग्रडी संस्था नाथममा विद्यार्थीको आकर्षण बढ्दो छ। प्रत्येक विषयमा नाथममा अध्ययनका लागि विद्यार्थीको ठूलो संख्यामा आवेदन पर्ने गरेको छ। प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीबाट नाथमले ‘मेरिट वेसिस’मा विद्यार्थी भर्ना लिने गरेको छ।
नाथम राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ’उत्कृष्टता केन्द्र’ बन्न सफल भएको छ। होटल उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्न सफल यस कलेजमा स्मार्ट कक्षा कोठा, प्रशिक्षण भान्सा, तालिम तथा रेस्टुरेन्ट, बरिस्टा प्रशिक्षण, हाउसकिपिङ ल्याब, कम्प्युटर ल्याब जस्ता थुपै्र शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
सेन्ट जेभियर कलेज, माइतिघर, काठमाडौँ
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँको स्थित माइतिघरमा रहेको सेन्ट जेभियर कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीबीएस, बीबीए, बीएससी सीएसआईटी, बीएससी फिजिक्स, बीएससी माइक्रोबायोलोजी लगायतका विषय अध्यापन हुन्छ।
२०८० सालमा बीबीएसमा ६४ जना, बीआईएममा ६६ जना, बीएससी-सीएसआइटीमा ४८ जना, २०७९ सालमा बीबीएसमा ८४ जना र बीआइएममा ६६ जना, बीएससी-सीएसआइटीमा ४८ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजको २०७९ को नतिजामा बीबीएसमा ९०.४७ प्रतिशत, बीआइएममा ९८.२१ प्रतिशत, बीएससी-सीएसआइटीमा सतप्रतिशत र २०७८ को नतिजामा बीबीएसमा ७४.२४ प्रतिशत, बीएससी-सीएसआइटीमा ९७.८७ र बीआईएममा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। सेन्ट जेभियर्स कलेजमा १०५ जना शिक्षक र ६६ जना कर्मचारी कार्यरत छन्।
यस कलेजले विद्यार्थीहरूलाई अन्तरविभागीय प्रश्नोत्तरी प्रतियोगिता, प्राविधिक लेखन कार्यशाला सामग्री निर्माण प्रतियोगिता, अग्रिममा ननक्रेडिट पाठ्यक्रम, एक्सेल र डाटा व्यवस्थापन, प्रतिभा खोजी जस्ता फरक खालको तालिमहरू सञ्चालन गर्दै आएको छ।
यस कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट २०२४ सालमा अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ। यस कलेज १४ रोपनी जग्गामा फैलिएको छ। कलेजको आफ्नो भवन, प्रयोगशाला हल, बास्केटबल कोर्ट, पुस्तकालय, क्यान्टिन, सम्मेलन कक्ष लगायतका भौतिक शैक्षिक पुर्वाधारहरू उपलब्ध छन्।
सेन्ट जेभियर्समा अध्ययन गरेका विद्यार्थीले विश्वको प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रावृत्ति सहित उच्च शिक्षाको अवसर प्राप्त गरेका छन्। मूल्यमा आधारित व्यवहारिक शिक्षा प्रदान गर्दै विद्यार्थीको समग्र विकासलाई दिइने प्राथमिकता यो कलेजको फरक विशेषता हो।
विद्यार्थीको समग्र विकासमा जोड, विशिष्टता, नेतृत्व र सेवाको लागी समर्पित, समय सान्दर्भिक कार्यशाला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य, मूल्यमा आधारित व्यवहारिक शिक्षा लगायत अन्य शैक्षिक क्रियाकलापको कारण विद्यार्थीले सेन्ट जेभियर्सलाई रोज्नुपर्नै कलेजका भाइस प्रिन्सिपल सलुया चान्दले जानकारी दिइन्।
काठमाडौँ मोडेल कलेज, बागबजार, काठमाडौँ
काठमाडौँको बागबजारमा रहेका काठमाडौँ मोडेल कलेज त्रिभुवन विश्वविद्यालयबाट २०६० सालमा सम्बन्धन प्राप्त कलेज हो। यस कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीबीए, बीबीएम, बीबीएस र बीसीए विषय अध्यापन हुन्छ। केएमसीमा ६० प्रतिशत शिक्षक फुल टाइम र ४२ प्रतिशत पार्ट टाइम शिक्षकहरू कार्यरत छन्।
२०८० सालमा बीबीएसमा १५० जना, बीबीएमा २६० जना, २०७९ सालमा २५८ जना, बीबीएममा ११८ जना र बीसीएमा १०५ जना विद्यार्थी अध्ययनरत छन्। केएमसी कलेज नेपालको उत्कृट नतिजा ल्याउने कलेजमध्ये एक हो। यस कलेजले बीबीएसमा २०८० सालमा ९५ प्रतिशत, २०७९ सालमा ९८ र २०७८ सालमा ९५ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको थियो। केएमसीको बीबीएमा विगत ३ वर्ष देखी एकसय प्रतिशत र बीबीएमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
यस कलेजले युजिसीबाट क्यूएए मान्यता प्राप्त गरेको छ। नेपालको नम्बर १ उत्कृष्ट कलेजको उपाधी केएमसी कलेजले पाएको थियो। केएमसीमा अध्ययन पश्चात विद्यार्थीहरूले थुप्रै सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको अवसर प्राप्त गरेका छन्। केएमसीमा अध्ययन गरेका विद्यार्थीले विभिन्न वित्तिय संस्थाको नेतृत्व गरेका छन्। उदाहरणको रुपमा आईएमई लाइफको सीइओ पदमा कवि फुँयाल कार्यरत छन् भने नेपाल सरकारको उपसचिव पदमा ललिता सिलवाल लगायत थुप्रै विद्यार्थी कार्यरत छन्।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पस अर्वाड प्राप्त गर्न सफल यस कलेजले उत्कृष्ट नतिजा, अन्तर्राष्ट्रिय मान्यता, उत्कृष्ट क्याम्पस अर्वाड प्राप्त गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था तथा विश्वविद्यालयसँग सुमधुर सम्बन्ध बनाउन सफल भएको छ। गुणस्तरीय शिक्षाको लागि विद्यार्थीले केएमसीलाई रोज्नगरेकोे केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए।
के एण्ड के इन्टरनेसनल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
त्रिभुवन विश्वविद्यालयबाट २०५४ सालमा सम्बन्धन प्राप्त काठमाडौँको नयाँ बानेश्वरस्थित के एण्ड के इन्टरनेसनल कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीबीए, बीसीए, बीबीएस, बीएसडब्लु आदि विषय अध्यापन हुन्छ। यस कलेजमा ७० जना शिक्षक र ५५ जना कर्मचारी कार्यरत छन्।
त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त यस कलेजमा २०८० सालमा बीबीएसमा ८५ जना विद्यार्थी भर्ना भएका थिए। यस्तै बीबीएमा ४७ जना र बीसीएमा १६ जना विद्यार्थी भर्ना भएका थिए।
यस कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन्। यस कलेजको २०८० को नतिजामा बीबीएसमा ७० प्रतिशत, बीबीएमा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। के एण्ड के कलेज ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यस कलेजमा कम्प्युटर ल्याब, बीसीए ल्याब, लाईब्रेरी, चमेना गृहको व्यवस्था रहेको छ।
यस कलेजमा दक्ष अनुभवि शिक्षक, विद्यार्थी मैत्री वातावरण, सहज पहुँच, निरन्तर उत्कृष्ट नतिजा, प्रयोगात्मक शिक्षा र ईन्टर्नसिपको व्यवस्था रहेको छ। जसका कारण विद्यार्थी र अभिभावकको रोजाइमा के एण्ड के कलेज पर्ने गरेको छ। यस कलेजले डिजिटल मार्केटिङ, ग्लोवल म्यानेजमेन्ट, करिअर डेभलपमेन्ट, सिभी लेखन सम्बन्धी थुप्रै तालिम प्रदान गर्दै आएको कलेजका प्रशासन प्रमुख किरण भट्टराईले जानकारी दिए।
क्वेष्ट इन्टरनेसनल कलेज, ग्वार्खो, ललितपुर
क्वेष्ट इन्टरनेसनल कलेज विश्वविद्यालय शिक्षामा व्यवस्थापन तर्फका विषय अध्यापन हुने विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्था हो।
कलेजमा व्यवस्थापन संकाय अन्तर्गतका ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इन्फरमेसन टेक्नोलोजोजी (बीसीएसआइटी) विषय अध्यापन हुन्छ। क्वेष्ट कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेज हो। यस कलेजमा ६५ जना शिक्षक र ३५ जना कर्मचारी कार्यरत छन्।
क्वेष्ट कलेजले बीसीएसआइटी यसै शैक्षिक सत्रबाट सुरु गर्न लागेको हो। क्वेष्टमा विगतका वर्षमा बीबीए र बीएचएममा ९७ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजले एमबीए विषयमा २०८० सालमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो। २०७९ सालमा ९६ र २०८८ सालमा ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस कलेजको २०८० सालको नतिजा अनुसार बीबीएमा ८३ प्रतिशत, २०७९ सालमा ८५ प्रतिशत, २०७८ सालमा ८६ प्रतिशत रहेको छ भने बीएचएममा २०८०मा ८९, २०७९मा ८५ र ०७८ सालमा ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
क्वेष्ट कलेजको ५ रोपनी क्षेत्रफलमा ४ वटा सुविधासम्पन्न भवन छन्।
भौतिक शैक्षिक पूर्वधारमा अब्बल रहेको यस कलेज आइएसओ सर्टिफाइड हुनुका साथै नेपालको विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट कयूएए सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ। यस कलेजले बीएचएम (होटल म्यानेजमेन्ट) विषय अध्ययनको लागि नेपालको दोस्रो उत्कृष्ट कलेज र बेस्ट कलेज फर हस्पिटालिटी एण्ड बिजनेस म्यानेजमेन्ट उपाधी प्राप्त गर्न सफल भएको छ। विद्यार्थीको रोजाइमा पर्न सफल यस कलेजले बीएचएम सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।
दक्ष तथा अनुभवि शिक्षकहरूबाट सञ्चालित, विषयगत र प्रयोगात्मक कक्षा सञ्चालन हुने यस कलेजमा व्यवहारिक तथा व्यवसायीक ढंगबाट पठनपाठन हुँन्छ। विद्यार्थी केन्द्रित सुविधा प्रदान गर्दै आएको क्वेष्ट कलेजका प्राचार्य उदयराज पौडेलले जानकारी दिए।
एआईटीएम कलेज, खुमलटार, ललितपुर
युके अन्तर्गत स्कटल्याण्डको हाइल्यान्डस एण्ड आइल्यान्ड विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एआइटीएम कलेज ललितपुर स्थित खुमलटारमा रहेको छ। यस कलेजमा व्यवस्थापन संकाय अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन(एमबीए) विषय अध्यापन हुन्छ।
एआइटीएमले सतप्रतिशत नतिजा ल्याउनुका साथै व्यवहारीक शिक्षामा जोड दिदैँ आएको छ। १६ रोपनी क्षेत्रफलमा निर्माण भएको यो कलेजको आफ्नो भौतिक संरचना रहेको छ।
विद्यार्थीहरूलाई विश्वव्यापी मापदण्डहरू पूरा गर्ने, उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, सिकाइ वातावरणलाई बढावा दिने, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रूपमा फस्टाउने, मार्गदर्शन र प्रेरणा दिने, प्रतिस्प्रधात्मक संसारमा उत्कृष्ट हुने आवश्यक ज्ञान र सीपहरू प्रदान गर्ने यो कलेजको फरक विशेषता हो।
यो कलेजमा बीएचएम ल्याब, आईटी ल्याब, कम्प्युटर ल्याब हुनुका साथै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू छन्। मार्काेपोलो पिज्जा मेकिङ र साउथवेस्ट्रन फेसन रनओय प्रतियोगिता जस्ता थुप्रै प्रतियोगितामा यस कलेजका विद्यार्थीले सफलता प्राप्त गरेका छन्। एआईटीएम कलेजमा अध्ययन गरेका विद्यार्थी खल्ती एपका डिरेक्टर अमित अग्रवाल हुन्। उनी जस्तै थुप्रै ठूला उद्योग, होटल व्यवसाय, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत छन्। एआईटीएम स्किल एकेडेमीले विद्यार्थीलाई सिप विकासका तालिम प्रदान गर्दे आएको छ।
प्रयोगात्मक शिक्षा, दोस्रो बर्षबाट विद्यार्थीलाई जब प्लेसमेन्ट, शैक्षिक क्यालेन्डर अनुसारको शिक्षा, इन्टरनेसनल इन्टर्नसिप र इन्टरनेसनल डिग्री लिन एआईटीएम कलेजलाई रोज्नुपर्ने कलेजका प्रमुख मार्केटिङ अफिसर बिबेक शाहीले बताए।
मोडल इन्सटिच्युट अफ टेक्नोलोजी (एमआईटी), बागबजार, काठमाडौँ
मोडल इन्सटिच्युट अफ टेक्नोलोजी (एमआईटी) केएमसी ग्रुपले सञ्चालन गरेको अमेरिकी विश्वविद्यालय इन्टरनेसनल अमेरिकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेज हो। काठमाडौँको बागबजारमा अवस्थित एमआईटी कलेजमा व्यवस्थापन र आईटी अन्तर्गत ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी), मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन(एमबीए) विषय अध्यापन हुन्छ।
कम्प्युटर प्रशिक्षण मार्फत सीप सुधार, समूह प्रस्तुतीकरणमा ध्यान दिने यस कलेजले व्यावहारिक शिक्षामा जोड दिदैँ आएको छ। एमआईटी कलेजले नेपालको शिक्षा प्रणालीमा नयाँ मापदण्डहरूको स्थापना, अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने संस्था, विद्यार्थीहरूको पहिलो रोजाइ र सामाजिक रूपमा जिम्मेवार स्नातकहरूको विकासमा जोड दिएको छ।
अत्याधुनिक भौतिक पूर्वाधारले सुसम्पन्न एमआईटी नेपाली विद्यार्थी माझ लोकप्रिय बन्दै गएको छ। दक्ष अनुभवि शिक्षक र गुणस्तरीय शिक्षामा जोड दिदैँ आएको यस कलेजमा अध्ययन गरेका विद्यार्थीले क्रेडिट ट्रान्सफर पनि गर्न पाउँछन्।
नेपालमै विश्वस्तरीय गुणस्तरीय शिक्षा प्रदान गर्न सफल यस कलेजले आईटी अध्ययनकै लागि विदेश जानु नपर्ने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने जनाएको छ।
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट), मण्डिखाटार, काठमाडौँ
होटल तथा पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ती उत्पादनमा सक्रिय ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज नेपालको एक उत्कृष्ट र अग्रणी हस्पिटालिटी म्यानेजमेन्ट कलेज हो। स्विजरल्याण्डको स्विस होटल एसोसियसनबाट मान्यता प्राप्त गेट कलेज ईएचएल नेटवर्कमा समावेश छ।
नेपालको काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरेर हस्पिटालिटिको प्रोफेसनल कोर्स सञ्चालन गर्दै आएको गेट कलेजले ईएचएल सर्टिफाइड ब्याचलर इन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट (बीआईएचएम) कार्यक्रम र काठमाडौँ विश्वविद्यालयको समन्वयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (बीपीएच) कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गेट कलेजले वल्र्ड हस्पिटालिटी अवार्ड, पेरिसमा ‘नवीन प्रशिक्षण कार्यक्रम–२०११’ र ‘द बेस्ट प्रोफेशनल सक्सेस’ फाइनल – २०१५ जस्ता अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको छ। सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष अनुभवि इन्ट्रक्टर र मनोरम वातावरणका कारण गेट आम अभिभावक र विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
नेपालमा सञ्चालनमा रहेका विदेशी डिग्री दिने कलेजको तुलनामा प्रोफेसन कोर्स सञ्चालन गर्ने नेपालकै उत्कृष्ट शिक्षण संस्था मध्ये एक हो। गुणस्तरीय शिक्षासँगै व्यवहारीक ज्ञानमा जोड दिदैँ आएको यस कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीमाझ लोकप्रिय छ।
हिमालय कलेज, कोटेश्वर, काठमाडौँ
त्रिभुवन विश्वविद्यालबाट २०६४ सालमा सम्बन्धन प्राप्त काठमाडौँको कोटेश्वर स्थित हिमालय कलेजमा बीबीएस, बीएसडब्लु, बीए अध्यापन हुन्छ भने सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत बीबीए, बीएससी सीएसआइटी विषय अध्यापन हुन्छ। यस कलेजमा ६० भन्दा बढी शिक्षक तथा कर्मचारीहरू कार्यरत छन्।
यो कलेज ५ रोपनि क्षेत्रफलमा ३ वटा सुविधासम्पन्न भवन भित्र अवस्थित छ। हिमालयमा कम्प्युटर ल्याव, टेक्नोलोजिकल ल्याव, सेमिनार हल, स्मार्ट बास्केटबल कोर्ट, स्मार्ट क्लासरुम, भलिबल तथा फुटबल लगाएतका थुप्रै भौतिक शैक्षिक पुर्वाधारहरू उपलब्ध छन्। यो कलेजले एजुकेसनल अवार्डका साथै अन्य थुप्रै पुरस्कार प्राप्त गर्न सफल भएको छ।
यस कलेजले शान्त र स्वस्थ वातावरण, उत्कृष्ट नतिजा, पर्याप्त भौतिक शैक्षिक पुर्वाधार, व्यवहारिक शिक्षा, अध्ययन पश्चात रोजगारीको अवसरका कारण अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ।
नेपाल मेगा कलेज, बबरमहल, काठमाडौँ
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल मेगा कलेज काठमाडौँको बबरमहलमा रहेको छ। यस कलेजमा व्यवस्थापन र आईटी अन्तर्गत बीबीएस, बीबीएम, बीसीए विषय अध्यापन हुन्छ।
मेघा कलेज ३ रोपनी क्षेत्रफलमा २ वटा भवनमा सञ्चालनमा छ। मेघामा विज्ञान तथा सूचना प्रविधि प्रयोगशालामा उपलब्ध हुनुको साथै विद्यार्थीको सहजीकरणको लागि प्रविधि मैत्री कक्षाकोठा, आवाशिय प्रवन्ध, चमेना गृह तथा यातायातको व्यवस्था रहेको छ।
मेगाले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ। गत वर्ष मेगाका ५ जना विद्यार्थीले मेडिकल प्रवेश परीक्षा र १५ जना विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका थिए। यस कलेजले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको व्यवस्था गर्दै आएको छ।
शिक्षाविद् र जीवन्त उद्यमीहरूसँगको सहकार्य, उच्च अनुभवी टोली, प्राईम लोकेसन, उत्कृष्ट नतिजा, अध्ययन पश्चात रोजगारीको अवसरका कारण मेगा कलेज विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ।
बर्नहार्ट कलेज, बाफल, काठमाडौँ
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँको बाफलमा रहेको बर्नहार्ट कलेज २०६० सालमा स्थापना भएको हो। यस कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीएससीसीएसआइटी, बीबीएस, बीबीएम, बीसीए विषय अध्यापन हुन्छ। बर्नहार्ट कलेजले त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध संस्थाहरूमध्ये पहिलो क्यूएए मान्यता प्राप्त निजी कलेजको उपाधी पाप्त गरेको छ।
यो कलेजलाई शिक्षा मन्त्रालयले ४०औँ राष्ट्रिय शिक्षा दिवस २०७६ र अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१९ को अवसरमा उत्कृष्ट निजी कलेजको रुपमा पुरस्कृत गरेको थियो। विश्वविद्यालय अनुदान आयोगद्वारा राष्ट्रिय स्तरमा छनोट भएको यस कलेव शान्त र फराकिलो क्षेत्रफलमा रहेको छ। दक्ष र अनुभवि फ्यागन्टिका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस कलेज प्राईम लोकेसनमा हुनुका साथै व्यवहारिक शिक्षा दिने भएका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
भिएस निकेतन कलेज, तिनकुने, काठमाडौँ
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भिएस निकेतन कलेजमा व्यवस्थापन संकाय अन्र्तगतका ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) विषय अध्यापन हुन्छ। यो कलेज काठमाडौँस्थित तिनकुनेमा रहेको छ। यो कलेजमा २० जना शिक्षक र ६ जना कर्मचारी कार्यरत छन्। प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रुपमा नै सिकाइमा जोड दिदैँ आएको छ।
यस कलेजको बीबीए कार्यक्रममा ३५० जना विद्यार्थी अध्ययनरत छन्। यस कलेजको २०८० सालको नतिजा ७५ प्रतिशत, २०७९ सालमा ६२ प्रतिशत र २०७८ सालमा ६७ प्रतिशत रहेको छ।आईएसओ सर्टिफाइड यस कलेज ३ रोपनी क्षेत्रफलमा एउटा सुविधासम्पन्न भवनमा अवस्थित छ। यस कलेजमा प्रोजेक्टर सहितको कक्षा कोठा, विद्यार्थीमैत्री वातावरणमा रहेका चमेना गृह, ल्याव, लाईब्रेरी, खेलकुद मैदान र अरु थुप्रै भौतिक शैक्षिक पुर्वाधारहरू उपलव्ध छन्।
भिएसका विद्यार्थीले अध्ययन पश्चात विभिन्न वित्तिय संस्था, बैँक, कर्पाेरेट अफिसमा रोजगारीको अवसर प्राप्त गरेका छन्। यस कलेजले खेलकुद सम्बन्धी तालिम सञ्चालन गर्नुका साथै स्वारोजगार र उद्यमी बन्न सिकाउने तालिम सञ्चालन गर्दै आएको छ।
दक्ष तथा अनुभवि शिक्षकबाट सञ्चालित, विषयगत र प्रयोगात्मक कक्षा, व्यवहारिक तथा व्यवसायीक पठनपान र पढाइलाई सिपसँग जोड्ने, व्यवसायिक पाठ्यक्रम, सुसज्जित अपडेट प्रयोगशाला, ल्याब, स्वस्थ चमेना गृह र अध्ययन पश्चात रोजगारीका अवसरका हिसाबले यस कलेज विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
विद्यार्थीलाई यस कलेजले ईन्टनसिपको समेत व्यवस्था गर्ने गरेको छ। गुणस्तरीय शिक्षा र अध्ययन पश्चात रोजगारीका हिसाबले अन्य कलेज अरु भन्दा भिन्न रहेको भिएस निकेतन कलेजका प्रिन्सिपल रञ्जित कुमारले जानकारी दिए।
एडमार्क एकेडेमी, कलंकी, काठमाडौँ
काठमाडौँ सहरको प्रवेशविन्दु कलंकी चोकमा रहेको एडमार्क एकेडेमीमा व्यवस्थापन संकाय र आईटी अन्तर्गतका ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) विषय अध्यापन हुन्छ।
कुशल नेतृत्व, शिक्षक कर्मचारीको परिश्रम र अभिभावकको विश्वासका कारण यस कलेजले विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ। एडमार्क एकेडेमीले बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, भलिबल लगायत अन्तरकलेज खेलकुदका विभिन्न विधामा प्रतिस्पर्धा गरेर उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
विद्यालयले नियमित रुपमा हाजिरीजवाफ, वक्तृत्वकला जस्ता प्रतियोगिता आयोजना पनि गर्दै आएको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक क्रियाकलापमा जोड दिदैँ आएको यस कलेजका उत्पादनले विभिन्न ठूला संस्थाहरूमा रोजगारीको अवसर प्राप्त गरेका छन्।