काठमाडाैँ - नेपाली समाजमा दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बिको विशेष चाड भन्ने बुझिन्छ। अनि अर्को मासु खाने, रमाईलो गर्ने, तास खेल्ले, पिङ खेल्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने। यत्ति मात्र हो त दशैँको महत्व ? यस बर्षको दशै असोज १६ गते विहिबार परेको छ।
दशैँ पर्वकाे रूपमा कसरी सुरु भयो ?
गाउँघरका मानिसहरूले दशमहिनासम्म खेती, किसानीको काम गर्छन्। यसरी दश महिनासम्म काम गर्दा कहिले काही आराम र मनोरञ्जन पनि गर्नुपर्छ। त्यसो नगरे स्वास्थ्य विग्रन्छ, बिरामी भइन्छ। दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय (जिवात्मा/मुनष्य) ले विश्रामलिने अवसरको रूपमा दशैँ मान्ने परम्परा सुरु भयो। तर, विश्राम कसरी गर्ने त? सुतिरहेर, बसिरहेर मात्र विश्राम नगरेर रमाइलोको लागि एक-अर्काको घरमा गएर कुराकानी गर्ने अवसरको रूपमा दशैँको सुरु भयो।
यसैगरी प्रकृति (धर्तीमाता)लाई कसरी विश्राम दिइएको छ भन्दा यसबेला कसैले खेतबारीमा खेतीपाती लगाउदैनन्, लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु हन्छ। यो प्रकृतिले विश्राम लिएको हो। ऋग्वेदकालमा दशैँलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो। इतिहासको कालखण्ड अनुसार दशैँको नाम फरक-फरक हुदै आएको हो।
दशैँ किन मनाइन्छ ?
दशैँमा विभिन्न देवी देवताको भक्ति र पितृ/पूर्वजहरूको श्रद्धा गरिने चलन छ। दुर्गतीलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ। नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ। सोह्र श्राद्ध आफ्नो पितृ(पूर्वज)हरू प्रतिगरिने श्रद्धा हो। हामी को हौँ? कहाँबाट आयौँ? भनेर आफ्नो पूर्वजहरूको संस्मरणको लागि श्राद्ध गरिन्छ। श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन्। क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिदैन। श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन्। आफ्नो पितृहरूको संझनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो।
खानु, पिउनु, सुत्नु, हिड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षणक्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो। श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैन। मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ। दशैंमा विभिन्न रातो, पहेलो, हरियो, सेतो रङ्गको टिका अनिजमरा निधारमा लगाउछौँ। यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे (जिवात्मा)ले धर्ती(पृथ्वी)मा खेती लगाउँदाका ७ रूप हुन्छन्। धर्ती (पृथ्वी) माताले उपार्जन गरेको अन्नबाली, सागसब्जीखाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौँ। धर्तीमाता माथि नै फोहोर-मैला गर्छौं। ज्यादै कष्ट पनि दिन्छौँ।
यसको बदलामा पृथ्वीमातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वीमाताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ। टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने-जाने गरिन्छ। यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मानगर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो। आदर, सत्कार, मान सम्मान गर्नु र आशिर्वाद दिनजान्नु पर्दछ, बुझ्नुपर्दछ। दशैँ आयो भनेर नयाँ लुगालगाउने, वर्षभरि सफा नगरेको घर-आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ।
विजया दशमी नै किन भनिएको ?
दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ। कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन्। तर त्यसो हैन। मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृति माथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजया दशमी भनिएको हो।