काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता कायम गर्न कडाइ गर्न थालेको छ। महानगरले उपभोक्तालाई सुरक्षित तथा स्वच्छ खाना उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवसायीहरूलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुका साथै नियमित अनुगमनलाई पनि सँगै अघि बढाएको जनाएको छ।
काठमाडौँ महानगरपालिकाकी खाद्य प्राविधिक भारती अधिकारीका अनुसार महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनहरूमा नियमित अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको जानकी किचेन क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको नमो फुड कोड क्यान्टिन, रत्नराज्य विद्यालय बानेश्वरको क्यान्टिन, केएमसी अस्पताल सिनामंगलको ग्रीन बड्स बेकरी क्याफे क्यान्टिन तथा भरोसा अस्पताल बानेश्वरको सुदूरपश्चिम भोजनालय एण्ड खाजा घरलगायतका क्यान्टिनको अनुगमन गरिएको महानगरले जनाएको छ।
महानगरपालिकाले बालबालिकाको स्वास्थ्य, पोषण तथा दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्ने उद्देश्यले सामुदायिक विद्यालयका २३ जना मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम पनि प्रदान गरिसकेको छ। तालिममा खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित रूपमा खाना ह्यान्डल गर्ने तरिका, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिकाबारे प्रशिक्षण दिइएको थियो।
नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म र आर्थिक वर्ष २०७९/०८० देखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। काठमाडौँ महानगरपालिकाले भने कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको जनाएको छ।
अनुगमनका क्रममा केही क्यान्टिनहरूमा सरसफाइमा लापरबाही देखिएको महानगरले जनाएको छ। कपडा र खाद्यवस्तु एकै ठाउँमा राख्ने, खाद्यवस्तु नछोपी राख्ने, फोहर फाल्ने डस्टबिनको उचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरेकोजस्ता समस्या भेटिएको छ।
त्यस्तै, क्यान्टिनमा प्रयोग हुने फ्राइड तेलको टीपीएम (TPM) भ्यालु मापदण्डविपरीत रहेको, खाना तयार गर्ने र भाँडा माझ्ने काम एउटै स्थानमा गर्ने, किचेनको भुइँ व्यवस्थापन तथा सरसफाइमा ध्यान नदिने, आगो सुरक्षाका उपकरणको अभावजस्ता साझा समस्या पनि देखिएको महानगरले जनाएको छ।
अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सुझाव दिइएको र अखाद्य वस्तुको अनियन्त्रित प्रयोग भएको पाइएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गरिएको महानगरपालिकाले जनाएको छ।