काठमाडौँ - ट्यूसन पढ्न भनेर घरबाट निस्किएकी कक्षा ११ मा अध्ययनरत १६ वर्षीया छात्रा इनिसा विक मृत अवस्थामा फेला परेकी छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा आफ्ना आमाबुबासँग अध्ययनका लागि वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनका बुवा इन्द्रबहादुर विक हाल दुबईमा कार्यरत छन्। इनिसा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा विज्ञान विषय अध्ययन गरिरहेकी थिइन् र भविष्यमा डाक्टर बन्ने सपना बोकेकी थिइन्।
फागुन २३ गते शनिबार बिहान करिब ६ बजे ट्यूसन पढ्न भन्दै घरबाट निस्किएकी उनी बिहान ८ बजेसम्म घर फर्कने बताएकी थिइन्। तर ९ बजेसम्म पनि घर नआएपछि आमाले फोन गर्दा मोबाइल स्विच अफ थियो। पछि स्कुल तथा ट्यूसन शिक्षकलाई सम्पर्क गर्दा पनि फोन नउठेपछि परिवार चिन्तित बनेको थियो।
यसैबीच अज्ञात नम्बरबाट फोन आएर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जंगल क्षेत्रमा इनिसा बेहोस अवस्थामा रहेको जानकारी दिइयो। आमा तत्काल घटनास्थल पुग्दा छोरीको अवस्था अत्यन्तै गम्भीर थियो। उनको शरीरमा कपडा नभएको, शरीरभरि चोटपटक र अत्यधिक रक्तश्राव भएको अवस्थामा फेला परेको थियो।
प्रहरीले उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको आशंकामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
सुर्खेत प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका चार जनामध्ये तीन जना इनिसाका सहपाठी रहेको खुलेको छ। उनीहरू ट्यूसन नभएको दिन घरमा बहाना बनाएर बाहिर निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्ट नआएकाले घटनाबारे यकिन विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा शारीरिक सम्बन्ध भएको संकेत देखिएको र अत्यधिक रक्तश्राव भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
यस घटनाले दलित महिला तथा बालिकामाथि हुने हिंसाबारे फेरि प्रश्न उठाएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक) की कार्यकारी निर्देशक सुनिता मैनालीले यो घटना केवल एक व्यक्तिमाथिको अपराध नभई दलित महिला तथा बालिकामाथि हुने संरचनागत जातीय विभेद र पितृसत्तात्मक हिंसाको उदाहरण भएको बताएकी छन्।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर २,५०७ यौन हिंसा सम्बन्धी घटना दर्ता भएका छन् भने बलात्कारपछि हत्या भएका ५ वटा घटना दर्ता भएका छन्। दलित महिला संघ (फेडो नेपाल) का अनुसार लैङ्गिक हिंसाबाट प्रभावितमध्ये ११.५४ प्रतिशत दलित महिला र १९.४४ प्रतिशत दलित बालिका रहेका छन्।
इनिसा प्रकरणको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न स्थानीय तथा अधिकारकर्मीहरूले माग गरेका छन्।