काठमाडाैँ - माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुई दिने कार्यशाला सुरु गरिएको छ। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा सञ्चालन भएको उक्त कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सम्बन्धित अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकारअनुरूप आवश्यक सुधारका काम अघि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई सिफारिससमेत गरिने शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले जानकारी दिए। उनले विद्यार्थीको रजिस्ट्रेसनदेखि प्रमाणपत्र प्राप्त गर्ने चरणसम्म देखिने समस्याहरूलाई समेटेर नीति तथा व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यशालालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एसइईजस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरिन्। शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको सुधारमा सरकार प्रतिबद्ध रहेको बताइन्।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्माले गण्डकी प्रदेशले शिक्षाका क्षेत्रमा आफ्नो अधिकारअनुसार प्रभावकारी काम गरिरहेको बताए। सूचना, सञ्चार तथा प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै परीक्षा प्रणालीलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन निरन्तर प्रयास आवश्यक रहेको उनले औँल्याए। पारदर्शी, व्यावहारिक र व्यवस्थित व्यवस्थापनमार्फत परीक्षा प्रणालीमा सुधार ल्याउन सकिने उनको धारणा थियो।
यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसइई परीक्षालाई प्रविधिमैत्री ढङ्गले सञ्चालन गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले आधुनिक प्रविधिको प्रयोगमार्फत परीक्षा प्रणालीलाई अझ व्यवस्थित, सहज र प्रभावकारी बनाउन सकिने बताए।