काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अद्यावधिक शैक्षिक नीतिअनुसार वार्षिक प्रणालीका कार्यक्रम क्रमशः बन्द गर्ने तयारी गरेको छ। यसअन्तर्गत बिबिएस, बिए, बिएड, बिएस्सी लगायतका वार्षिक प्रणालीका विषयहरू बन्द गरिने निर्णय गरिएको त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार पुराना विद्यार्थीलाई असार मसान्तसम्म एकपटक मौका परीक्षा दिने अवसर प्रदान गरिनेछ। सो परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई शैक्षिक योग्यता प्रमाणपत्र उपलब्ध गराइनेछ। उपकुलपति अर्यालले स्नातक तहको फुड एन्ड टेक्नोलोजी विषयमा यसै शैक्षिक वर्षदेखि वार्षिक प्रणालीको भर्ना बन्द भइसकेको पनि बताए।
उनले बिबिएस, बिए, बिएड, बिएस्सी तथा तीनवर्षे ‘ल’ जस्ता कार्यक्रमहरूमा पछिल्लो समय विद्यार्थीको आकर्षण घट्दै गएको उल्लेख गर्दै विश्व बजारको मागअनुसार नयाँ शैक्षिक प्रणाली लागू गर्न वार्षिक प्रणाली हटाउन लागिएको स्पष्ट पारे।
त्रिविका सहायक परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार त्रिविले २०५८ सालदेखि पुराना विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्दै आएको छ। उनका अनुसार स्नातकोत्तर तहका करिब चार हजार विद्यार्थीले गत असार-साउनमै आफ्ना सबै परीक्षा सम्पन्न गरिसकेका छन्।
पुराना ब्याचअन्तर्गत तीनवर्षे स्नातक तहको तेस्रो वर्षको परीक्षा फागुन १३ गते सकिएको छ। दोस्रो वर्षको परीक्षा चैत २ गतेदेखि सुरु हुने तथा पहिलो वर्षको परीक्षा जेठदेखि सञ्चालन गरिनेछ। यस्तै चारवर्षे स्नातक कार्यक्रमतर्फ चौथो, तेस्रो र दोस्रो वर्षका परीक्षा सम्पन्न भइसकेका छन् भने पहिलो वर्षको परीक्षा जेठबाट सुरु हुने बताइएको छ।
त्रिविका नियमित परीक्षा चैत २५ देखि वैशाख २५ सम्म सञ्चालन हुने भएकाले पुराना विद्यार्थीका परीक्षा तालिकामा केही ढिलाइ भएको कलौनीले बताए। भर्ना भएर पनि अध्ययन पूरा गर्न नसकेका विद्यार्थीको पढाइ पेन्डिङमा रहेको पाइएकाले उनीहरूको शैक्षिक योग्यता पूरा गराउन यो मौका परीक्षा आयोजना गरिएको उनको भनाइ छ।
स्नातक तहको कानुन संकायमा विद्यार्थी संख्या कम भएकाले केही तहका परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै कलौनीले करिब एक हजार विद्यार्थीको परीक्षा पनि असारसम्म सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए।
शैक्षिक वर्ष २०८१/८२ मा त्रिविले मुख्यत: मानविकी (बिए), व्यवस्थापन (बिबिएस), शिक्षा (बिएड), विज्ञान तथा प्रविधि (बिएस्सी) र कानुन संकायका पुराना वार्षिक प्रणालीका विद्यार्थीलाई यो अवसर दिएको हो।
यसअघि पनि त्रिविले शैक्षिक वर्ष २०६८/६९, २०७३/७४ र २०७९/८० मा यस्तै मौका परीक्षा सञ्चालन गरेको थियो। यसपटकको मौका परीक्षामा करिब ५० हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ, जसमा २० वर्षभन्दा पुराना विद्यार्थीसमेत समेटिएका छन्।
कलौनीका अनुसार वार्षिक प्रणालीभन्दा सेमेस्टर प्रणाली खर्चिलो हुन्छ। वार्षिक प्रणालीमा चार वटा मात्र परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ भने सेमेस्टर प्रणालीमा छ/छ महिनामा आठ वटा परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ।