काठमाडाैँ - मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको विषय गम्भीर प्रति चिनियाँ दुतावास गम्भीर बनेको छ।
विश्वविद्यालयका सफाइ कर्मचारीहरूले केही प्रति किताब जलाएको भिडिओ सामाजिक सञ्जालमा आएपछि नेपालस्थित चिनियाँ दूतावासले उक्त विषयलाई चासोका साथ परराष्ट्र मन्त्रालयमा पत्र पठाउँदै संलग्नलाई कारबाहीका लागि माग गरेको हाे।
शनिबार विश्वविद्यालयमा सफाइ गर्ने क्रममा केही थान पुस्तक जलेको विश्वविद्यालयले जनाएको छ। कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको यस विश्व विद्यालयमा केही वर्षअघि सी जिनपिङको पुस्तक ल्याइएको थियो । मनमोहन विश्व विद्यालय बन्नुअघि यहाँ पोलिटेक्निक सञ्चालनमा रहेको थियो।
मनमोहन स्मृति प्रतिष्ठानले स्थानीय संघ संस्था, क्लबमा वितरण गर्न ती किताब पठाएको विश्व विद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले बताए। पठाइएकामध्ये धेरैजसो किताब वितरण भएको केही अझै स्टोरमा रहेको पनि उनले सुनाए।
स्टोरमा रहेका केही किताब धमिरा लागेको, केही पानीले भिजेका कारण सफाइ कर्मचारीले बिग्रिएका किताब सफाइका क्रममा जलाएको उनको दाबी गर्दै आएको छ।स्टोर रहेको कोठामा विद्यार्थीहरूका लागि ल्याब निर्माणका लागि सफाइ गरिएको उनले जनाएका छन्।
पोखरेलले भने, ‘पानीले भिजेका र धमिराले खाएका किताबहरू मात्रै जलाइएको हो। मिडियामा आए जसरी नियतवस जलाइएको होइन। राम्रा किताबहरू अहिले पनि हामीले सुरक्षित गरेर राखेका छौँ।’
भरतमोहन अधिकारी हुँदै प्रतिष्ठानमार्फत किताबहरू पोलिटेक्निकमा आएको उनले बताए। सरसफाइका क्रममा अन्य काम नलाग्ने बस्तु र बाहिरको झारपात र फोहोरमा समेत सफाइ कर्मचारीले आगो लगाएको पोखरेल बताउँछन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले किताब जलाइएको विषयमा २४ घण्टाभित्र रिपोर्ट दिन विश्वविद्यालयलाई निर्देशन दिएको बताए। उनले नेपाल प्रेससँग भने, ‘अहिले नै कति किताब जलेको हो? र, कस्ता किताब जलेका हुन् भनेर भन्न सक्ने अवस्था छैन। हामी अनुसन्धान गरिरहेका छौँ। यस विषयमा प्रशासनले गम्भीरताका साथ लिएको छ।