सुनसरी - चिकित्सा शिक्षाको स्नातक तह सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालयको झण्डै २ दशकदेखिको प्रयास अन्ततः सफल भएको छ। लामो समयको प्रतीक्षा, पूर्वाधार निर्माण र सरकारी प्रक्रियाका विभिन्न चरण पार गर्दै विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनमा ल्याएको हो।
मंगलबारदेखि औपचारिक रूपमा एमबीबीएसको पठनपाठन सुरु भएसँगै पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको विश्वविद्यालयले जनाएको छ। सरकारले एमबीबीएस कार्यक्रममा भर्नाका लागि ५० वटा सिट उपलब्ध गराएपछि विश्वविद्यालयले पहिलोपटक चिकित्सा शिक्षाको स्नातक तहको पढाइ सुरु गरेको हो।
स्थापना भएको ३ दशकपछि विश्वविद्यालयमा चिकित्सा शिक्षाको औपचारिक रूपमा पठनपाठन सुरु महत्वपूर्ण उपलब्धि मानेको विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले बताए।पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि २०६२ सालदेखि प्रक्रिया अघि बढाएको थियो। त्यसबेला एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा सञ्चालन गरी ५ सय २० जना विद्यार्थी समेत छनोट गरेको थियो। तर, मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३ सय बेडको आफ्नै शिक्षण अस्पताल अनिवार्य हुनुपर्ने सरकारी व्यवस्था लागू भएपछि योजना तत्काल अघि बढ्न सकेको थिएन।
त्यसपछि विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माण र अस्पताल व्यवस्थापनका लागि विभिन्न विकल्प खोज्दै प्रक्रिया अगाडि बढाएको थियो। ३ वर्षअघि विश्वविद्यालयले ३ सय ३० बेडको कोशी अस्पतालसँग शिक्षण अस्पतालका रूपमा सहकार्य गर्ने सम्झौता गरेको थियो। साथै, विश्वविद्यालयले १ सय शैयाको आफ्नै अस्पताल पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयको भौतिक पूर्वाधार, अस्पताल, प्रयोगशाला, जनशक्ति र शैक्षिक तयारीको निरीक्षण गरी त्यससम्बन्धी प्रतिवेदन २ वर्षअघि नै शिक्षा मन्त्रालयमा बुझाएको थियो। तर, मेडिकल कलेज सञ्चालनका लागि अन्तिम अनुमति दिने सरकारी प्रक्रियामा ढिलाइ हुँदा कक्षा सञ्चालन हुन सकेको थिएन। गत साउन दोस्रो साता आयोगको टोलीले पुनः अन्तिम अनुगमन गरेपछि भने एमबीबीएस कार्यक्रममा ५० विद्यार्थी भर्ना गर्ने अनुमति दिएको हो।
चिकित्शा शास्त्र संकायका डिन डा. शैलेसमणि पोखरेलले २ दशकको प्रयासपछि एमबीबीएस कक्षा सञ्चालनमा आएको र यसले चिकित्सा शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। ‘पूर्वाञ्चल क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गर्ने र दक्ष चिकित्सक उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने।