भरतपुर - विश्व वातावरण दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका साथ सिमसार संरक्षण केन्द्रित शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा, क्लब अफ इन्भाइरोन्मेन्टल साइन्सेस तथा नवजागृति सामुदायिक वन उपभोक्ता समूह, भरतपुर–११ को सहकार्यमा र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले मृगकुञ्ज ताल तथा नवजागृति ईको पार्कको अध्ययन अवलोकन भ्रमण गरेका थिए। अवलोकनका क्रममा सिमसारको वर्तमान अवस्था, जैविक विविधता, पानी स्रोतको संरक्षण र समुदायको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी, नवजागृति सामुदायिक वनका पदाधिकारीहरूसँग विद्यार्थीहरूको अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तर्क्रियामा सामुदायिक वन व्यवस्थापन, सिमसार संरक्षणका चुनौती तथा अवसरबारे अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस अनुसन्धान विभागका संयोजक प्राध्यापक डा. कपिलदेव सुबेदीले सिमसार अध्ययन र अनुसन्धानमा विद्यार्थी तथा प्राध्यापकहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै शैक्षिक अनुसन्धानलाई स्थानीय सिमसारसँग जोड्न आग्रह गरे।
यसै अवसरमा नवजागृति सामुदायिक वनका अध्यक्ष नारायण बहादुर केसी, समिति सचिव ज्ञानु देवी गुरुङ तथा कोषाध्यक्ष रन्जु खड्कासँग वातावरणविद् तथा उपप्राध्यापक ध्रुव आचार्यले प्यानल बहस सञ्चालन गरेका थिए। प्यानल बहसमा सिमसार संरक्षणमा समुदाय, शैक्षिक संस्था र सरकारी निकायबीच सहकार्यको आवश्यकता औंल्याइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय, भरतपुर चितवनका सूचना प्रमुख तथा वन अधिकृत देवी प्रसाद पौडेलले सिमसारको महत्व, संरक्षणको अवस्था, विद्यमान चुनौती तथा भविष्यका अवसर विषयमा प्रस्तुति दिए। उनले सिमसार संरक्षण जैविक विविधता, जलवायु सन्तुलन र स्थानीय जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरे।
त्यसैगरी वातावरणविद् तथा उपप्राध्यापक ध्रुव आचार्यले “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” विषयमा प्रस्तुति दिँदै परम्परागत ज्ञान र अभ्यासले सिमसार संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। प्रकृतिको मृगौला मानिने सिमसारले पानी शुद्धीकरण गर्ने, कार्बन सञ्चय गर्ने र पृथ्वीका ४० प्रतिशत जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गर्ने भए तापनि प्रदूषण र अतिक्रमणका कारण सन् १९०० यता विश्वका ६४ प्रतिशत सिमसार क्षेत्रहरू हराइसकेका छन्।
नेपालको कुल क्षेत्रफलको करिब ५ प्रतिशत हिस्सा ओगटेको सिमसार क्षेत्रमा बिसहजारी ताल, कोशी टप्पु र घोडाघोडी ताल, गोक्यो, गोसाईकुण्ड, माईपोखरी, सेफोक्सुन्डो, पोखराका ताल लगायत १० वटा स्थलहरू रामसार सूचीमा सूचीकृत छन्, जसमा नेपालका ११ प्रतिशत जनसंख्या रहेका २० आदिवासी समुदायको जीविकोपार्जन र संस्कृति प्रत्यक्ष जोडिएको हुनाले राष्ट्रिय सिमसार नीति २०१२ लगायतका कानुनी प्रयासहरू मार्फत यसको संरक्षण गर्नु चुनौतीपूर्ण तर अपरिहार्य देखिएको छ।
कार्यक्रममा बी.एस्सी. वातावरणीय विज्ञान विषयका विद्यार्थीहरूले सिमसार संरक्षणसँग सम्बन्धित पोस्टर तथा प्रोटोटाइप प्रस्तुतिसमेत गरेका थिए । साथै सिमसारसम्बन्धी हाजिरीजवाफ (क्विज) प्रतियोगिता आयोजना गरिएको थियो।