काठमाडौँ- छिमेकी मुलुक भारतको ५ दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ८ वटा ठोस प्रस्ताव अघि सारेको छन्।
भारतको प्रतिष्ठित सञ्चार माध्यम ‘हिन्दुस्तान टाइम्स’ मा एक विशेष लेख प्रकाशित गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धलाई पुनर्परिभाषित गर्न ८ बुँदे मार्गचित्र प्रस्तुत गरेका हुन्।

जसमा नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि भारतका विश्वप्रसिद्ध संस्थाहरू नेपालमा पनि स्थापना गर्नुपर्ने लगायतका प्रस्ताव लामिछानेले गरेका छन्।त्यस्तै भारतको आईटी क्षेत्रको सफलतालाई नेपालसँग जोड्ने लक्ष्यका साथ लामिछानेले ‘काठमाडौं-बेंगलुरु डिजिटल करिडोर’ को प्रस्ताव गरेका छन्। यसले नेपाली युवाहरूलाई प्रविधि र नवप्रवर्तनमा विश्वस्तरको अवसर दिने र दुई देशबीचको डिजिटल इकोसिस्टमलाई मजबुत बनाउने उल्लेख गरेका छन्। सभापति लामिछानेले नेपाल-भारत सम्बन्धलाई अब भू-राजनीतिक खिचातानी र सुरक्षाको संशयबाट बाहिर निकाल्नुपर्ने प्रस्ताव समेत गरेका छन्। उनले उठाएका विषयहरु यस्ता छन्:
नेपालमा आईआईटी र एआईआईएमएस जस्ता संस्थाहरूको स्थापना
नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि भारतका विश्वप्रसिद्ध संस्थाहरू नेपालमा पनि स्थापना गर्नुपर्ने प्रस्ताव लामिछानेको छ। भारतीय शिक्षण संस्थाहरूलाई नेपालमा ‘इन्नोभेसन ल्याब’ र ‘इन्क्युबेसन सेन्टर’ खोल्न आह्वान गर्दै उनले सहकार्यको नयाँ ढोका खोल्न आह्वान गरेका छन्।
काठमाडौं–बेंगलुरु डिजिटल करिडोर
भारतको आईटी क्षेत्रको सफलतालाई नेपालसँग जोड्ने लक्ष्यका साथ लामिछानेले ‘काठमाडौं–बेंगलुरु डिजिटल करिडोर’ को प्रस्ताव गरेका छन्। यसले नेपाली युवाहरूलाई प्रविधि र नवप्रवर्तनमा विश्वस्तरको अवसर दिने र दुई देशबीचको डिजिटल इकोसिस्टमलाई मजबुत बनाउनेछ।
भू–राजनीतिक घर्षणको अन्त्य र ‘विकास कूटनीति’ मा जोड
लामिछानेले नेपाल–भारत सम्बन्धलाई अब भू–राजनीतिक खिचातानी र सुरक्षाको संशयबाट बाहिर निकाल्नुपर्ने प्रस्ताव गरेका छन्। कूटनीतिक नियोगहरूलाई केवल राजनीतिक संवादमा मात्र सीमित नगरी लगानी, व्यापार र आर्थिक साझेदारीको इन्जिन बनाउनुपर्ने उनको मुख्य एजेन्डा छ।
रक्सौल–काठमाडौं रेलमार्गः समृद्धिको आधार
भारतले गरिरहेको तीव्र रेल विस्तारको लाभ नेपालले पनि लिनुपर्ने भन्दै उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई छिटो सम्पन्न गर्नुपर्ने प्रस्ताव गरेका छन्। यो रेलमार्ग केवल सीमा जोड्ने माध्यम मात्र नभई नेपालको समग्र अर्थतन्त्रलाई गति दिने ‘लाइफलाइन’ हुने उल्लेख गरिएको छ।
एकीकृत ऊर्जा बजार र ‘क्लिन इनर्जी’ निर्यात
नेपालको जलविद्युत क्षमतालाई उदाउँदो भारतको औद्योगिक करिडोरहरूलाई ऊर्जा दिने ‘स्वच्छ इन्जिन’ बनाउनुपर्ने उनको प्रस्ताव छ। यसका लागि साना व्यापारिक सम्झौताभन्दा माथि उठेर एउटा मजबुत र एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
पोखरा र लुम्बिनीबाट भारतका मुख्य सहरमा सिधा उडान
नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू (पोखरा र लुम्बिनी) बाट दिल्ली, मुम्बई र बेंगलुरु जस्ता भारतका प्रमुख आर्थिक केन्द्रहरूमा सिधा हवाई उडान जोड्ने प्रस्ताव लामिछानेले गरेका छन् । यसले धार्मिक पर्यटन र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सहज बनाउने विश्वास लिइएको छ।
साझा सभ्यतामा आधारित पर्यटकीय सर्किट
जनकपुर–अयोध्या, पशुपति–केदारनाथ र लुम्बिनी–बोधगयालाई जोड्दै एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट बनाउनुपर्ने लामिछानेको प्रस्ताव छ। प्रशासनिक झन्झट बिना दुवै देशका नागरिकले यी साझा सम्पदाहरूको भ्रमण गर्न पाउने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ।
तथ्य र प्रमाणका आधारमा सीमा विवादको स्थायी समाधान
दुई देशबीचको सीमा विवाद र अन्य ऐतिहासिक समस्याहरूलाई ‘उग्र–राष्ट्रवादी’ नाराबाजी गरेर भन्दा पनि ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवादमार्फत टुङ्ग्याउनुपर्ने लामिछानेको भनाइ छ । चुनावी लाभ–हानिभन्दा माथि उठेको व्यावहारिक दृष्टिकोणले मात्रै दुई देशबीचको विश्वास अझ मजबुत हुने उनले उल्लेख गरेका छन् ।
हिन्दुस्तान टाइम्सको लेखमा लामिछानेले भनेका छन्, ‘विगत ३० वर्षको अस्थिरता र भ्रष्टाचारले चिनिने नेपाल अब इतिहास भइसक्यो। अहिलेको नयाँ नेपालमा सचेत युवाहरू छन् र काम गर्न जान्ने व्यावसायिक नेतृत्व छ। अब हामी विगतका चिन्ताहरूले होइन, साझा भविष्यका असीमित सम्भावनाहरूले अघि बढ्नुपर्छ।’
